पोखरा, १३ साउन २०८३।
कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ छिनेडाँडा, शुभकामना टोलस्थित एक होमस्टेबाट खैरो हिरोइन, नगद र मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार होमस्टेको माथिल्लो तलामा करिब एक महिनादेखि कोठा भाडामा लिएर बस्दै आएका भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–६ निवासी ३३ वर्षीय मनोज कुमार मगराती ले लागूऔषध खरिद–बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजार र लागूऔषध नियन्त्रण ब्युरो, पोखराको संयुक्त टोलीले छापा मारेको थियो।
कानुनी प्रक्रिया पूरा गरी मनोजको कोठामा खानतलासी गर्दा प्लास्टिकसहित तौल गर्दा २३ ग्राम ९३ मिलिग्राम खैरो हिरोइन, स्रोत नखुलेको रु. २ लाख ८१ हजार ५०० नगद, दुई थान कीप्याड मोबाइल, एक थान पोको मोबाइल र एक थान सामसुङ मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा सोही कोठामा रहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ सिक्नेरी स्थायी घर भई हाल पोखरा महानगरपालिका–१० मिलनटोल बस्दै आएका ३७ वर्षीय विश्वास पुन लाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ।
बरामद गरिएको लागूऔषध, नगद तथा अन्य सामग्री प्रहरीले रितपूर्वक नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय रामबजार, कास्कीमा राखी लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।