गत भाद्र महिना छुट्टि मनाउन नेपाल गएको थिएँ । काठमाडौंको हालत देखिसक्नु थिएन । हिलै हिलोले काठमाडौ कुरुप वनेको थियो । मुग्लिनमा पहिरो खसेर वाटोहरु बन्द । पोखरा, पाल्पा हुँदै बुटवल झरेर दाङको वाटो समात्नु परेको थियो । केही समय पहिले काठमाडौको ढलमा एक किशोरी खसेकी थिई । काठमाडौको हालत त त्यस्तो छ, काठमाडौ भ्याली बाहिरको हालत त झन कस्तो होला ? मेरो काठमाडौको कुरुप अनुहारलाई नियाल्नुको विकल्प।थिएन । यहि समयमा मैले युएईको सडक संजाल सम्झेको थिएँ । युएईमा पनि पानी पर्छ ।कहिलेकाही सडकमा पानी पनि जम्छ । कथमकदाचित पानी जम्यो भने यहाँ केही मिनेट भित्रै त्यसको कुशल तरिकाले ब्यबस्थापन गरिन्छ ।
खाडि भित्रको युरोपको रुपमा चिनिने युएईले बिकाशमा प्रकृतिलाई समेत चुनौती दिएको छ । एक दशक अघिसम्म दुवईमा खासै लोभलाग्दो कुरा केही थिएन । दुवई ट्रेड सेन्टर नै यहाँको अग्लो भवन थियो । त्यसको अलावा जुम्ल्याहा इमिरेट्स टावर मात्रै थियो । तर अहिले दुनियाँकै लोभलाग्दो देशको रुपमा रुपान्तरण भएको छ ।
२००४ मा म यहाँ आउने वेला यो देश मरुभूमिले भरिएको थियो । हेर्दाहेर्दै यो देशले काचुली फेरयो । दस बर्षले धेरै कुराको स्मरण गराउँछ । देश परिवर्तनको नाममा दस बर्ष माओवादी सशस्त्र आन्दोलन चल्यो । उसको भाषामा यसलाई दस बर्षे जनयुद्ध भन्छ । धेरै आरोह अबरोह पछि दश बर्ष पहिले नेपालमा पहिलो संविधान सभाको चुनाव सप्पन्न भयो । विभिन्न अबरोधका बाबजुद दश बर्षमा वल्ल नेपाली जनताले संविधान पाए । बिकास भने कहिले हुने हो थाहा छैन । दुवईमा भने दस बर्षमा कल्पना भन्दा बाहिरको बिकाश भयो ।
दुवईको लोभलाग्दो बिकाश देखेर मन भित्र अनेकौं तर्कना आउने गर्छ र सोच्छु, मेरो देशमा कहिले बिकासले आकाश छुने ? पहाडवाट खस्ने झरणाको काखमा कहिले हो कहिले बुर्ज अरव जस्तो सात तारे होटल बनाउने ? यहाँ बुर्ज अरव समुद्रको बिचमा दुनियाँलाई चकित बनाउने किसिमले आफ्नो सानले ठडिएको छ ।
अल ऐन जांदा जब बालुवामा खजुर फलाएको देखिन्छ । जब बालुवामा निर्माण गरिएको हजारौं फुलहरुले वनेको मिराकल गार्डेन देख्छु तब मनले चकित खान्छ । कसरी बनाइयो होला बालुवामा बिश्वकै धेरै प्रकारका फुलहरुले बनेको बगैंचा । तब मैले मेरो पाखोवारी सम्झिन्छु जो जोत्न छोडेर बाँझो भएको धेरै भएको छ । लाग्छ, अब आफ्नै गाउँ जाऔं र बाझो बारी खनजोत गरौं ।
सेखजायद रोड हुँदै सधैं जागिर गईन्छ, आइन्छ । तब आफ्नै सानले ठडिएको बिशान इमारट ठिङ्ग उभिएको देखिन्छ बुर्ज खलिफाको नामले । ६ जनवरी २००४ देखि बनाउन शुरु गरेर ४ जनवरी २०१० मा खुल्ला गरिएको संसारकै अग्लो यो १६३ तलाको इमारटले संसारको माथको रुपमा ठडिएको मेरो सगरमाथाको याद दिलाउँछ । त्यही सगरमाथाको देशको मान्छे म टाउको बटारेर बुर्ज खलिफाको उचाईलाई नियालिरहन्छु दिनहुँ दुई पटक । माल पाएर चाल नपाएका नेपालीहरु सगरमाथाको देशको नागरिक हुनुको नाताले गर्व गर्नु मात्रै त हो । गर्व गरेर मात्रै भोको पेट पुर्न नसकिदो रहेछ र आउनु परिरहेको छ खाडीको मरुभूमिमा यस्ता विशाल इमारतहरु बनाउन । संसारको अग्लो भुभागवाट संसारको समुन्द्रको सतहको भुभागसम्मको यात्रा । सोच्छु, यो कहिलेसम्मको सिलसिला हो ? मसङ्ग जवाफ छैन । यसको जवाफ खोज्न मेरो देशको भागडोर सम्हालेका मान्छेहरु तर्फ मुख ताकेर हेर्छु तव यस्तो महसुस हुन्छ, मानौं कि जवाफ दिन उनिहरुको काम होइन । देख्छु, सिंहदरबारमा कुर्चीको लडाई चलिरहेको छ । म अवाक हुन्छु ।
चालक बिना चल्ने मेट्रो चलेको पनि खासै धेरै भएको छैन । हेर्दाहेर्दै रेलका लिगहरु बने । ९ सेकेन्ड, ९ मिनेट, साँझको ९ बजे, ०९ महिना (सेप्टेम्बर) २००९ मा चालु भएको मेट्रो अहिले दुबईमा नपुगेको कुनै ठाउँ छैन । ठाउँ ठाउँमा कछुवाको कवच जस्तै देखिने मेट्रो स्टेशनहरु संसारकै अत्याधुनिक तरिकाले बनाईएको छ । मेट्रोमा यात्रा गर्नको लागि नोल कार्ड अनिवार्य चाहिन्छ । जुन कार्ड मेट्रो र पब्लिक वस दुबैमा प्रयोग गर्न सकिन्छ । कहिले मेरो देशमा यो प्रणाली लागू हुने हो ? मलाई मेरो देशको ट्रली वस र साझा यातायातको बिजोक सम्झिन्छु । ती बसहरु कुन कवाडीमा मिल्काईएको छ ? थाहा छैन । खुसिको कुरा यहाँ मेट्रो चलिरहदा मेरो देशमा साझा यातायात त सुचारु भएको छ ! तुलना गर्न त नमिल्ने हो तर साझा चल्ने देशमा कुनै दिन मेट्रो पनि चल्ला भन्ने झिनो आशा छ । आशाले मान्छेलाई जिउन सिकाउछ अरे । त्यही जिउने प्रयत्न भनौं, नगरी सुखै छैन ।
पाम जुमेरा, दुवईको एउटा आकर्षक शहर हो । हत्केलाको आकारमा निर्माण गरिएको यो समुन्द्र माथिको शहरको उमेर पनि धेरै भएको छैन । यो शहर पनि दस बर्ष भित्रै वनेको हो । त्यस शहरमा मिनि मेट्रो चल्छ । त्यसैको नजिक छ दुनियाकै आकर्षक ढाचामा समुन्द्र माथी बनाईएको सात तारे होटल बुर्ज अरव । दुबईको अग्लो टावरहरु भएको सेख जायड रोड जहाँ दस बर्ष पहिले वरल्ड ट्रेड सेन्टर मात्रै थियो १४९ मिटर अग्लो सन् १९७९ मा बनेको । त्यसको छेउमा आधुनिक तरिकाले बनेका जुम्ल्याहा इमिरेटस टावर मात्रै थिए । दश बर्ष पहिले मरुभूमिको वालुवाले छोपेको त्यस ठाउँमा दुनियाँकै ८३० मिटर अग्लो ‘बुर्ज खलिफा’ टावर देख्न सकिन्छ । त्यसैको छेउमा दुनियाँकै सवैभन्दा ठुलो सपिङ मल जो १२ मिलियन स्कवायर फिटमा बनेको दुबई मल छ । त्यसको १७ किलोमिटर नजिकै वर दुवई छ । त्यहाँ हिन्दुहरुको एउटा मन्दिर पनि छ । त्यस मन्दिरको नजिकै आब्रा चोक पनि छ समुन्द्र तटमा । त्यसैलाई भनिन्छ, नेपाली चोक । हरेक शुक्रबारको दिन त्यहाँ मेला नै लाग्छ । सातै इमिरेट्समा छरिएर रहेका प्रवासि नेपालीहरुको भेटघाटको थलो । यसलाई लव डाडाको नामले पनि बोलाउने गर्छन् कतिपय नेपालीहरुले ।
दस बर्ष पहिले यहाँ एउटा नेपाली रेष्टुरेन्ट मात्रै थियो । अहिले यहाँ धेरै नेपाली ब्यबसाय फस्टाएको छ । नेपाली चोकमा हजारौं नेपाली अनुहारहरु देख्न सकिन्छ । धेरै थरिका कथाहरु सुन्न पाइन्छ, देख्न पाईन्छ । त्यहाँ नेपाललाई समृद्धि बनाउने बिचारहरु पोखिन्छ । नेपाली राजनिती भित्रका प्रबृत्तिहरु माथी टिक्काटिप्पणी गरेको सुनिन्छ । कहिलेकाहीँ त्यसमा आफू पनि सहभागीताको पात्र वनिन्छ ।
युएई भित्र दुवई देखि १७५ किलोमिटर टाडा रसअल खैमा भन्ने एउटा स्टेट छ । त्यहाँ युएईको सवै सवैभन्दा अग्लो ‘जेविल जैस’ पहाड छ, १९३४ मिटर अग्लो । कडा चट्टानै चट्टानले वनेको त्यो भिमकाय पहाडलाई काटेर बनाएको नागवेली सडक । पहाडको टुप्पोमा युएईको राष्ट्र झण्डा आफ्नो शान देखाएर फरफराईरहेको छ । पहाडको शिरमा जब ढुङ्गाको जलाकी देखें, तब मध्यपस्चिमका पहाडहरुमा उहिले तरुनी तन्नेरीहरुले सम्झनाका लागि पहाडका टाकुराहरुमा चिनेका जलाकीको झझल्को दिन्छ ।
पहाडवाट तल हेरयो भने कतै कतै भेडा बाख्राका खोर पनि देखिन्छन् । त्यो दृश्य देख्दा मेरो भेडा खर्कको याद आउँछ । र आफ्नो डेढ दुईसय भेडा वेचेर बिदेश आएकोमा पछुटो लाग्छ । अहिले लाग्छ, मेरो भेडा खर्कलाई आधुनिकीकरण गर्न सकेको भए दिरहाम र डलर त्यही भेडी खर्कमै कमाउन सकिन्थ्यो तर माल पाएर चाल नपाएका हामी नेपालीहरुलाई समय बितेपछी मात्रै चेत खुल्छ ।
जिवनको समीक्षा गर्छु र सोच्छु, के नेपालीहरु बिदेशीनु आबस्यक्ता थियो ? यहाँ ठुल्ठुला इमारत बनायौं । सडक बनायौं । मल बनायौं । ठुल्ठुला स्टार होटलहरु बनायौं । दश बर्षमा मरुभुमीलाई इन्द्र भुमि बनायौं । नेपाललाई कहिले बनाउछौँ इन्द्र भुमी ? म किन बिदेश छु ? के कारणले बिदेश छु ? कस्को कारणले बिदेश छु ? मान्छेले सक्भर दोषको भार आफ्नो काँधमा थाप्न चाहदैन । तर आज भन्नैपर्छ, थोरबहुत हाम्रो पनि कमजोरी छ । घरमा वार्दली धुन लजाउने हामी बिदेशमा ट्वाइलेट धुन लाज मान्दैनौं । गाउँमा सानोतिनो चिया, चमेना वेच्न हामीलाई लाज लाग्छ, तर बिदेशका होटलहरुमा प्याज छिल्न र झुठो भाडा माझ्न लाज मान्दैनौं । गाउँमा खेत जोत्न लजाउने हामी बिदेशका सडकहरु खन्न लाज मान्दैनौं । हाम्रो कमजोरी यहि भयो । ठूलो कम्जोरी त्यसले गरेको छ, जसको हातमा देशको चावी छ । आज सवैले समीक्षा नगरी हुँदैन ।
आजसम्म हामी अरुको मुख ताकेर बस्यौं । आफ्नो लागि आफै नउठी नहुने रहेछ । देशमा परिवर्तन आउला र नेपाल फिरौला भन्ने सपना देख्नु ठूलो भ्रम रहेछ । परिवर्तन त आफै भित्र खोज्नु पर्ने रहेछ । अब चालीस लाख युवा होऔ, नेपाल फिरौँ र धमिराले खाएर कम्जोर भएका घरका खावोहरुलाई फेरौँ । नेपाल आमाले चिच्याएर वोलाउनु भएको छ । हे युवा ! के तिमी आमाको चीत्कार सुन्यौं ?