सद्भाव र संयमता अपनाउन आव्हान गर्ने सर्वदलीय बैठकको निर्णय

सद्भाव र संयमता अपनाउन आव्हान गर्ने सर्वदलीय बैठकको निर्णय


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, १३ साउन २०८३
  • 1.1K
    Shares

काठमाडौं, १३ साउन २०८३।

सुनसरीसहित देशका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्थालाई ध्यानमा राखेर मुलुकका प्रमुख राजनीतिक दलहरुले सद्भाव र संयमता अपनाउन आव्हान गर्ने निर्णय गरेका छन्। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले शान्ति, सद्भाव र सामाजिक संयम कायम राख्न सबै राजनीतिक दलको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको हों ।

बैठकले नागरिकलाई अफवाह र उत्तेजनाबाट टाढा रहन, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र कानुनी प्रक्रियामाथि विश्वास गर्न आग्रह गर्ने निष्कर्ष निकालेको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

बैठकमा सहभागी दलका नेताहरूले देशको शान्ति–सुरक्षा कायम राख्न सरकारले अझ जिम्मेवार र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले यस्ता संवेदनशील घटनामा राज्यका सबै निकायबीच समन्वय र सक्रियता आवश्यक रहेको धारणा राखेका छन्।

बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शान्ति कायम गर्न सबै दल एक ठाउँमा उभिएको बताउँदै संयुक्त अपिलमार्फत संयम अपनाउन सबैमा आग्रह गरिने जानकारी दिए।

त्यस्तै, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरीलगायतका क्षेत्रमा देखिएको तनावलाई सामान्य अवस्थामा फर्काउने उपायबारे बैठकमा छलफल भएको र कानुनको प्रभावकारी कार्यान्वयनमार्फत शान्ति कायम गर्न सबै दल सहमत भएको बताए।

प्रतिक्रिया