सरकार–चिकित्सकबीच पाँचबुँदे सहमति, देशभरका आन्दोलनका कार्यक्रम स्थगित

सरकार–चिकित्सकबीच पाँचबुँदे सहमति, देशभरका आन्दोलनका कार्यक्रम स्थगित


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, १३ साउन २०८३
  • 893
    Shares

agreement between govr-docter

काठमाडौं, १३ साउन २०८३।

आन्दोलनरत चिकित्सक र सरकारबीच पाँचबुँदे सहमति भएपछि नेपाल चिकित्सक सङ्घले देशभर सञ्चालन भइरहेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। सहमतिसँगै दुई दिनदेखि आकस्मिकबाहेकका सेवा बन्द रहेका अस्पतालमा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरकार र नेपाल चिकित्सक सङ्घबीच भएको वार्तापछि सहमति जुटेको हो। सहमतिपत्रमा स्वास्थ्य सचिव विकास देवकोटा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्रि रिजालले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद राममाथि भएको आक्रमणमा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गरिने, स्वास्थ्यकर्मीको सुरक्षालाई प्रभावकारी बनाउने तथा स्वास्थ्य संस्थामा हिंसाजन्य घटना दोहोरिन नदिन आवश्यक कानुनी र प्रशासनिक व्यवस्था सुदृढ गरिने सरकारको प्रतिबद्धता रहेको छ।

यस्तै, वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारबारे उठेका विषयलाई पनि कानुनी प्रक्रिया र सम्बन्धित निकायमार्फत सम्बोधन गर्ने सहमति भएको जनाइएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि बिरामीका आफन्तले कुटपिट गरेपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए। घटनामा गम्भीर घाइते भएका डा. रामको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका सरकारी, निजी, शिक्षण अस्पताल तथा मेडिकल कलेजमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा दुई दिनदेखि बन्द गरिएको थियो। चिकित्सकहरूले दोषीमाथि कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हुने हिंसाविरुद्ध कडा कानुनी व्यवस्था गर्न तथा वार्ताका क्रममा चिकित्सकसँग दुर्व्यवहार गरेको आरोप लागेका पर्साका सुरक्षा अधिकारीमाथि आवश्यक कारबाहीको माग गरेका थिए।

सरकारले चिकित्सकहरूको मुख्य माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको नेपाल चिकित्सक सङ्घले जनाएको छ। सङ्घले सहमतिको कार्यान्वयनलाई नजिकबाट अनुगमन गर्ने र प्रतिबद्धता कार्यान्वयन नभए पुनः आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया