कपिलवस्तु, १३ साउन २०८३।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ स्थित गैडवा चोकमा हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।
बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले पैदल र साईकलयात्रीलाई ठक्कर दिँदा एक बालकसहित तीन जनाको मृत्यु भएको हो ।
बुधबार बिहान सवा ७ बजेतिर तीव्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले ठक्कर दिँदा स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगन्ज नगरपालिका ३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीले घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास गरे पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, तौलिहवामा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले सवारी दुर्घटनाको वास्तविक कारण, ट्रकको गति तथा दुर्घटनाको परिस्थितिबारे अनुसन्धान जारी रहेको जानकारी दिएको छ।