काठमाडौं, १४ साउन २०८३।
सुनसरीको देवानगन्ज–कप्तानगन्ज क्षेत्रमा भएको झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्ज निवासी २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १ः२४ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहताको उपचार भइरहेका बेला मृत्यु भएको हो। यससँगै देवानगन्ज–कप्तानगन्ज घटनामा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
घटनामा घाइते भएका अन्य व्यक्तिहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। न्युरो अस्पतालमा देवानगन्ज–४ निवासी १८ वर्षीय अम्लेश मेहता, १८ वर्षीय मिथिलेश मेहता र २८ वर्षीय हेराम यादव उपचाररत छन्।
त्यस्तै विराट नर्सिङ होममा देवानगन्ज–३ का चार जना घाइतेको उपचार भइरहेको छ। उनीहरूमध्ये २१ वर्षीय रविन्द्र मेहताको अवस्था गम्भीर रहेको बताइएको छ। सोही अस्पतालमा १८ वर्षीय अमितकुमार यादवका साथै २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहता उपचाररत छन्।
यसैगरी, विराटनगरस्थित नोबेल अस्पतालमा देवानगन्ज–४ का २० वर्षीय अमित कुमार यादवको उपचार भइरहेको छ।
घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा
देवानगन्ज–कप्तानगन्ज क्षेत्रमा भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। घटनाको कारण, झडपको प्रकृति तथा गोली चलाउनुपरेको अवस्थाबारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ भने सम्भावित अप्रिय अवस्था हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त सुरक्षा परिचालन गरिएको स्रोतले जनाएको छ।
यस घटनामा मृत्यु हुनेको संख्या बढेसँगै स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा घाइतेहरूको प्रभावकारी उपचारको माग गरेका छन्।
प्रहरीले घटनासम्बन्धी विस्तृत विवरण, झडपको वास्तविक कारण र गोली चलाउनुपरेको परिस्थितिबारे अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानबाट थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।