नेपालको संसदीय इतिहासमा संसद्मा तेस्रो दल हुनेले पटक–पटक प्रधानमन्त्री बन्ने अवसर पाएका उदाहरण खोज्न टाढा जानु पर्दैन । जबजब देशमा राजनीतिक संकट निम्तिन्छ तब यस्ता विकृति जन्मिने गर्छ । तर, यसै प्रसंगमा माओवादी केन्द्र तेस्रो भैकन पनि प्रचण्ड प्रधानमन्त्री हुन नपाउनुले उनमा रहेको गम्भीर अयोग्यता, असक्षमता र उनको कथित नयाँ प्रचण्डपथीय कार्यनीतिको असफलतालाई संकेत गर्दछ ।
कुनै बेला राप्रपा संसद्मा तेस्रो दल बनेको थियो । त्यसबेला पालैपालो लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा प्रधानमन्त्री भए । कांग्रेस र एमालेलाई आफ्नो मातहत राखेर शासन चलाउन सफल भए । पहिलो संविधानसभाको समयमा एमाले तेस्रो दल थियो । एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बन्न सफल भए । माधवकुमार नेपाल कांग्रेस लगायतका दलको समर्थनमा र झलनाथ खनाल एमाओवादी लगायतको समर्थनमा प्रधानमन्त्री बने ।
तर, अहिले विचरा प्रचण्ड तेस्रो दलका नेता भैकन पनि प्रधानमन्त्री बन्न पाइरहेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा दिल्लीबाट फर्किएपछि देउवाकै उक्साहटमा प्रचण्डलाई प्रधानमन्त्री बन्ने रहर जागेको हो । नभए स्थानीय निर्वाचनसम्म प्रचण्ड एमालेकै नेतृत्वमा मिलेर बस्ने थिए । प्रचण्ड सुध्रिए कि सुध्रिएका छैनन् भन्ने कुरा बुझ्नका लागि पनि देउवामार्फत् नयाँ दिल्लीले प्रचण्डलाई ‘टेस्ट’ गरेको हुनसक्छ । तर, देउवा प्रचण्डको गठबन्धन मुर्खको सल्लाह खरानीको डल्लामा परिणत भयो । तर, पनि ओली सरकार ढाल्न प्रचण्ड प्रयोग भइरहेका छन् ।
भलै सत्ताबाट सडकमा उनी किन नपुगुन् उनले ओली सरकार ढाल्ने उपयुक्त बाटो खोजिरहेका छन् । यस अर्थमा उनले हालैका दिनहरूमा गरिरहेको प्रयासलाई संसदीय व्यवस्थाको चलनअनुसार नै मान्नुपर्दछ । तर, प्रचण्डले पहिलाको संसदीय व्यवस्थाको समय तथा पहिलो संविधानसभाको समयभन्दा अहिलेको समय परिस्थिति निकै फरक रहेको वास्तविकता नबुझेर त्यसबेला राप्रपा र एमालेले प्रयोग गरेका कार्यनीतिहरूलाई यान्त्रिक नक्कल गर्दै लागू गरेर आफू प्रधानमन्त्री हुन खोजिरहेका छन् ।
राप्रपाका नेताहरू प्रधानमन्त्री भएको समय भनेको नेपालमा जनयुद्धले सफलता पाउँदै गरेको र एमाले तथा कांग्रेसबीच तीव्र सत्ता संघर्ष भएको बेला थियो । त्यसबेला दरबारले पनि आफ्नो गुमेको अधिकार फिर्ता लिनका लागि चलखेल गर्दै गरेको समय थियो । एमालेका नेताहरू तेस्रो दलका भएर पनि प्रधानमन्त्री बनेको पहिलो संविधानसभाको समय भनेको प्रचण्ड बाबुरामहरूले जनयुद्धमाथि विश्वासघात र गद्दारी गर्दै आत्मसमर्पणसहित हतियार र जनसेना बुझाउन आएको बेला थियो ।
अहिलेको समय भनेको प्रचण्डले संसदीय व्यवस्था सामु आत्मसमर्पण गरेर हतियार र जनसेना बुझाइसकेको बेला हो । प्रचण्डको शर्मनाक पराजय भएर तेस्रो दलमा झरेको बेला हो । कांग्रेस एमाले र राप्रपा संसदीय सत्ता खेलका पुराना खेलाडीहरू हुन् भने प्रचण्ड नयाँ खेलाडी हुन् । प्रचण्डसँग न त संसदीय दृढता नै देखिन्छ, न त संसदीय लचकता नै देखिन्छ । प्रचण्डको कार्यनीति न त हासको चाल न त वकु्ल्लाको चाल भएको छ ।
उनी कहिले उग्रवामपन्थी लफ्फाजीलाई कार्यनीति बनाउँछन् भने कहिले दक्षिणपन्थी आत्मसमर्पणवादलाई आफ्नो कार्यनीति बनाउँछन् । दोस्रो संविधानसभाको चुनावमा पराजित भएर तेस्रो दल बन्ने बित्तिकै प्रचण्डले चुनावी परिणामसमेत नमान्ने घोषणा गरेर विद्रोहको अपिल गरेका थिए । तर, पछि प्रचण्ड भिजेको विरालो झैँ लुसुक्क संविधानसभा छिर्न बाध्य भए । त्यही बेला उनले राष्ट्रिय सहमतिको सरकारको नारा दिएर कांग्रेस एमालेको सरकारमा सहभागी बन्नुपर्दथ्यो वा एमाले र कांग्रेसलाई मिल्न नदिएर आफू प्रधानमन्त्री बन्ने कोशिश गर्नुपर्दथ्यो । तर, तेस्रो दलले प्रधानमन्त्री पाउने संसदीय चलनलाई प्रचण्ड स्वयम्ले त्यसबेला उग्र कुरा गरेर लात हानेका हुन् ।
प्रचण्डले उग्र पाखण्डपन देखाउनाले कांग्रेस एमाले मिलेर सरकार बनाए तथा अन्तमा संविधान बनाउन प्रचण्ड पनि घिस्रिन बाध्य भए । ओली नेतृत्वको सरकार बनाउन प्रचण्ड र ओलीबीच के कस्ता सहमति भएका थिए भन्ने उनीहरू नै जानून् । तर, बीचैमा कांग्रेससँग मिलेर जसरी आफ्नो दल सम्मिलित ओली सरकार ढाल्न प्रचण्डले असफल प्रयास गरे, यसबाट उनको संसदीय कार्यनीतिको कच्चा खेल स्पष्ट भएको छ । त्यस घटनाले उनलाई संसदीय व्यवस्थाका कच्चा बालखेलाडी सावित गरेको छ ।
प्रचण्डले धेरै चुरीफुरी देखाए ओलीकै नेतृत्वमा कांग्रेस गठबन्धन सरकार विकल्प बन्नसक्छ । यसो गर्न सकियो भने मधेसीवादी दललाई विश्वासमा लिएर संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ । अथवा तीनवटा चुनाव अर्थात स्थानीय, प्रादेशिक र केन्द्रिय चुनाव ओली, प्रचण्ड र देउवा प्रधानमन्त्री भएर गर्ने गरी भागवण्डा नहोला भन्न नेपाली राजनीतिमा सकिन्न । अनेकौँ सरकारी नियुक्तिहरू भागवण्डा गर्न जसरी नेताहरू मिलेका थिए, त्यसरी नै प्रधानमन्त्री पनि पालैपालो गर्ने त्रिदलीय समझदारी पनि असम्भव भन्न सकिन्न । तर, यो विकल्प यी तीनैजनाले सहजै स्वीकार्ने स्थिति तत्काल छैन ।
अहिले प्रचण्डलाई सबभन्दा ठूलो डर भनेको कतै कांग्रेस र एमालेबीच सत्ता समझदारी बनेर आफूलाई सत्ता बाहिर राख्ने त होइन भन्ने विषय हो । यदि संसदीय सत्ताबाहिर रहनुपरेमा प्रचण्डले आफ्नो पार्टीको तीब्र विघटन हुने देखेका छन् । प्रचण्डको वरपर अहिले संसदीय सत्तावादीहरूको भीड लागेको छ । यदी संसदीय सत्तामा नरहेमा मरेको लाशलाई उपियाँले पनि छोडे जस्तै प्रचण्डलाई उनीहरूले छोड्नेछन् भन्ने उनले राम्रैसँग बुझेका छन् । यति मात्र नभई प्रचण्डलाई सत्तामा नरहेमा जेल पठाउन सक्ने सम्भावना पनि देखिरहेका छन्, चाहे त्यो अख्तियारले होस् वा विदेश जाँदा कुमार लामालाई जस्तै गिरफ्तार गरेर होस् ।
प्रचण्डको अहिलेको कार्यदिशा र कार्यनीति न त सुधारवादी कम्युनिष्टको रहेको छ, न क्रान्तिकारी कम्युनिष्टको रहेको छ । यस्तो स्थितिमा प्रचण्डलाई परास्त नगरी न त सुधारवादी कम्युनिष्टहरूलाई सुधारवादी ढंगले भए पनि काम गर्न प्रचण्डले दिनेछन्, न त क्रान्तिकारी कम्युनिष्टहरूलाई क्रान्तिका कामहरू अघि बढाउन नै सहज हुनेछ । प्रचण्डलाई सत्ताबाहिर राखेर चुनावमा लग्ने हो भने उनको पराजय सुनिश्चित छ । एमाले र माओवादी केन्द्रको आधारभूत कार्यदिशा र कार्यक्रम उस्तै उस्तै रहेको छ । एउटै दापमा दुई खुकुरी रहन असम्भव भएजस्तै एमाले र माओवादी केन्द्र दुवै चुनावमा विजयी बन्न सम्भव छैन ।
अहिले आएर यी दुईबीच पार्टी एकता झन् भन् टाढाको विषय बन्न थालेको छ । यस्तो स्थितिमा प्रचण्डलाई सत्ताबाहिर राखेर चुनावमा गई प्रचण्डको पूर्ण विघटन र पराजयतर्फ लैजाँदा मात्र एमाले आगामी चुनावमा सबभन्दा ठूलो दलको रूपमा अगाडि आउन सक्नेछ र प्रचण्डको भ्रम र भूत समाप्त हुनेछ । हिजोआज एमालेमा प्रचण्डलाई अहिले प्रधानमन्त्री बनाएर एक वर्षपछि एमालेले प्रधानमन्त्री पुन: लिने कार्यनीतिको पक्षमा पनि छलफल चल्न थालेको छ । तर, यो कार्यनीति एमालेको लागि आत्मघाती सिद्ध हुनेछ ।
प्रचण्ड जस्ता फासिष्ट र घोर अवसरवादी विश्वासघातीलाई सत्ताको कुर्सी दिएर जीवनदान दिनु भनेको एमालेले आफ्नो पराजयको काल निम्त्याउनु हो । एमालेका लागि सही कार्यनीति भनेको सके अहिलेको सत्ता टिकाउन कांग्रेसको समर्थन लिएर तीनमध्ये एक वा दुई चुनाव आफ्नो नेतृत्वमा गराई अर्को चुनावमा कांग्रेसलाई प्रधानमन्त्री दिने समझदारी गर्नु हो । यसरी प्रचण्डलाई सत्ताबाहिर राखेर चुनाव गराएमा एमाले पहिलो ठूलो दल बन्ने र प्रचण्डको पूर्ण पराजय हुने पक्का छ । अथवा अहिले कांग्रेसलाई प्रधानमन्त्री दिएर तीनमध्ये एक चुनाव गराएर अरु चुनाव गराउने गरी पछि प्रधानमन्त्री एमालेले लिने सहमति गरिनु उपयुक्त कार्यनीति हुनसक्दछ ।
कांग्रेसले एकपटक अहिले पनि धोका पाइसकेको छ, प्रचण्डबाट । गिरिजाप्रसादले प्रचण्डबाट बारम्बार धोका पाएको इतिहासबाट पनि कांग्रेसले पाठ सिक्नुपर्दछ । त्यसैले पनि कांग्रेसले एमालेसँग मिलेर पहिला प्रचण्डलाई तह लगाउने कार्यनीति बनाउनु कांग्रेसकै हितमा हुनेछ । ०६२ देखि ७३ सम्मको मूल समस्या भनेको प्रचण्ड नै हुन् ।
उनलाई समयमै तह लगाइएन भने एमाले कांग्रेसले पनि दु:ख पाउनेछ र देश र जनतालाई पनि प्रचण्डले बन्धक बनाई राख्नेछन् । अब प्रचण्डको बेइमानी युगको अन्त्य आवश्यक भइसकेको छ ।
dristinews बाट