१७ वर्षीया किशोरी गायिकालाई वलात्कारको आरोप लागेका अभिनेता पल शाहले प्रहरी समक्ष के कस्तो बयान दिएका होलान ? सबैको मनमा जिज्ञासा उठिरहेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका अभिनेता शाह यति बेला इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरको हिरासतमा छन्।
तनहुँमा शाहविरुद्ध वलात्कार मुद्दा दर्ता गराएकी किशोरी गायिकाले नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दिएपछि अनुसन्धानका क्रममा तनहुँबाट गैंडाकोट लगिएको छ। अभिनेता शाहले जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरमा आफु बिरुद्ध लागेको आरोपका बारेमा प्रतिरक्षा गर्दै बयान दिएका छन्।
अभिनेता शाहले सरकारी वकिलसमक्ष आफूविरुद्ध लागेको आरोप झुट्ठा भएको दाबी गरेको समाचारस्रोतको दाबी छ।
पिडित भनिएकी किशोरी गायिकाले गीत छायांकनका क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् । सोही उजुरीका आधारमा उनलाई मंगलबार गैँडाकोटमा बयानका लागि लगिएको हो ।
उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।
अभिनेता शाहले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन् ।
कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् ।
प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । जबर्जस्ती गरेको होइन ।”
उनले आफू र आफूविरुद्ध उजुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन् । सो होटलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको उनले बताएका छन् ।
होटल सञ्चालकले समेत आफूहरुले सुटिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे भन्नेबारे जानकारी नभएको बताएको बताइएको छ । प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ ।
गैँडाकोटमा बयानलगायतका अन्य प्रमाण प्रहरीले तनहुँमै पठाउनेछ । दुवै जिल्ला एकै प्रकृतिको घटनाको किटानी भएकाले तनहुँबाट अदालती प्रक्रिया अगाडि बढाइन लागेको हो ।