स्याङ्जा, ८ भदौ २०८३।
स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ भने घाइतेको संख्या १५ जना पुगेका छन्।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा घटनास्थलमै मृत्यु भएका दुई जनाको पहिचान खुलेको हो। उक्त दुर्घटनाम परेर गल्याङ नगरपालिका ८ बस्ने २५ वर्षिय निशा पचभैया र वडा न ९ बस्ने ६० वर्षिय यम बहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोहि दुर्घटनामा घाइते हुनेहरुको संख्या १५ जना पुगेको ल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिए।
घाइते जीप चालक गल्याङ–९ का २९ वर्षीय दिपक विकको टाउकोमा चोट लागेको छ भने उनको नगर अस्पताल गल्याङ्मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा १५ वर्षीया सुप्रिया थापा, ५६ वर्षीय बोमा खनाल, १२ वर्षीय समिर विक, १० वर्षीय सगुन विक, ६२ वर्षीय टोलबहादुर विक, २१ वर्षीया असिसा पचभैया, २५ वर्षीया अरुणा गाहा, ६२ वर्षीय मेगनाथ खनाल, २२ वर्षीया गंगा विश्वकर्मा, ५१ वर्षीया दुर्गा विक, २५ वर्षीया पार्वती विक, ३२ वर्षीया यमकला खनाल र, ११ वडाकी ५५ वर्षीया राधामाया राना र ८ नम्बरकी १७ वर्षीया स्नेहा परियार रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गल्याङ–९ साङलियाका २७ वर्षीया बसन्ती विश्वकर्मा र ४८ वर्षीया देवी विकको अवस्था गम्भीर रहेको स्याङ्जा प्रहरीले जनायो । प्रहरीका अनुसार बसन्तीलाई ढाडमा र देवीलाई टाउकोमा चोट लागेको छ । अवस्था सिरियस भएकाले मिसन अस्पताल पाल्पा रिफर गरिएको डीएसपी अवस्थीले बताए । उनका अनुसार उनीहरुलाई साँझ ६ बजेर ५५ मिनेट जाँदा पाल्पा मिसन अस्पताल पठाइएको हो ।