काठमाडौं,९ पुस ।
मुहान बागद्वारबाट मनोहरा नदीसम्मको बागमती नदी ढल मुक्त भएको छ । बागमती नदी सरसफाई महाअभियानको १ सय ८९ औं हप्तामा आइपुग्दा बागद्वारबाट मनोहरा नदीसम्मको भागलाई ढल मुक्त बनाइएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको हो ।
२०७० साल जेठ पहिलो हप्ता सुरु भएको सरसफाई अभियानको क्रममा नदी किनारका विभिन्न ठाउँमा बगैंचा बनाउने काम पनि भइरहेको छ । अहिलेसम्म उपत्यकाको २६ ठाउँमा गैरसरकारी निकायले बगैँचा बनाउन सम्झौता गरेकोमा ८ ठाउँको बगैँचा सरकारलाई हस्तान्तरण गरिसकेका छन् ।
अभियानले दुई सय हप्तासम्ममा स्थानीय समुदायलाई नै बागमती नदी संरक्षण र व्यवस्थापनको जिम्मा दिने तयारी गरेको अभियन्ता राजु अधिकारीले जानकारी दिनुभयो । स्थानीयबासिन्दालाई जिम्मा दिएपनि अनुगमन भने हुने उहाँले बताउनुभयो ।