काठमाडौं , १० भदौ २०८३।
रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीपछि सरकारले उद्धार, राहत तथा सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायसहित विभिन्न सरकारी तथा गैरसरकारी संयन्त्र परिचालन गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवा बाढीको अवस्थाबारे जानकारी दिँदै प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्। अन्य जिल्लाबाट समेत थप सुरक्षा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट, रेडक्रसलगायतका संस्थासँग समन्वय गरेर आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन्।
बाढीको जोखिम तल्लो तटीय क्षेत्रमा समेत बढ्न सक्ने भन्दै स्थानीय प्रशासनलाई जोखिममा रहेका बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। उनका अनुसार सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत एसएमएस तथा फोनबाट स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा जान सचेत गराइएको छ।
सम्भावित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने गरी हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ।
बाढीबाट भएको क्षति, उद्धार तथा राहत कार्य र आगामी रणनीतिबारे थप निर्णय लिन केही समयभित्रै उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
उनले बाढी प्रभावित तथा जोखिममा रहेका सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। आफन्तहरूसँग सम्पर्क हुन नसकेको अवस्थामा सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी आधिकारिक सूचनाको प्रतीक्षा गर्न पनि उनले आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले बाढीसम्बन्धी थप जानकारी तथा राहतबारे बुझ्न १२३४ नम्बरमा सम्पर्क गर्न सकिने बताएका छन्।
यसैबीच, रसुवाको टिमुरे तथा रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले बजार, भन्सार क्षेत्र, सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ। बाढीले भन्सार क्षेत्रमा रहेका ठूलो संख्याका सवारीसाधन तथा सामानसमेत बगाएको बताइएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने उद्धार तथा खोजी कार्य अघि बढेसँगै थप स्पष्ट हुने अपेक्षा गरिएको छ। तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम रहेकाले प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।