सीआईए प्रमुख रेटक्लिफ सुटुक्क मस्को पुगे, युक्रेनमा नेटो सेना तैनाथ गर्ने योजनाप्रति रुस असन्तुष्ट

सीआईए प्रमुख रेटक्लिफ सुटुक्क मस्को पुगे, युक्रेनमा नेटो सेना तैनाथ गर्ने योजनाप्रति रुस असन्तुष्ट


  • एजेन्सीहरु
  • बुधबार, १० भाद्र २०८३
  • 760
    Shares

पोखरा , १० भदौ २०८३।

अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक जोन रेटक्लिफ मंगलबार गोप्य रूपमा रुसी राजधानी मस्को पुगेका छन्। बीबीसीका अनुसार उनी अमेरिकी वायुसेनाको सी–१७ ग्लोबमास्टर विमानमार्फत मस्को पुगेका हुन्।

रेटक्लिफले मस्कोमा रुसी अधिकारीहरूसँग बैठक गरेको बताइएको छ। सीआईए निर्देशक बनेपछि उनको यो पहिलो रुस भ्रमण हो। उनको भ्रमणबारे यसअघि सार्वजनिक रूपमा जानकारी दिइएको थिएन। अमेरिकी सैन्य विमान मस्कोमा अवतरण गरेपछि मात्र भ्रमणबारे खबर बाहिरिएको हो।

रुसी अधिकारीहरूले सुरुमा रेटक्लिफको भ्रमणबारे जानकारी नभएको बताएका थिए। अमेरिकी सरकारले पनि अहिलेसम्म उनको रुस भ्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

यसैबीच, युक्रेनमा नेटो सदस्य राष्ट्रका सैनिक तैनाथ गर्ने योजनाप्रति रुसले कडा आपत्ति जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको बताएका छन्।

उनका अनुसार रुसले विभिन्न तहमा पटक–पटक यस्तो तैनाथीप्रति आफ्नो असहमति स्पष्ट पार्दै आएको छ।

गत सोमबार ‘कोएलिसन अफ द विलिङ’का नेताहरूले युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवका अवसरमा किएभमा भर्चुअल बैठक गरेका थिए। बैठकमा बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी थिए।

गठबन्धनले जारी गरेको विज्ञप्तिमा रुस र युक्रेनबीच विश्वसनीय युद्धविराम भएपछि युक्रेनमा तैनाथ गर्न ‘मल्टिनेसनल फोर्स युक्रेन’ अर्थात् बहुराष्ट्रिय सैन्य बलको तयारीलाई निरन्तरता दिने उल्लेख छ।

पेस्कोभले भने शान्तिपूर्ण समाधानका लागि आवश्यक परिस्थिति नबनेसम्म रुसले सैन्य कारबाही जारी राख्ने बताएका छन्। उनले रुस आफ्नो विजयप्रति विश्वस्त रहेको दाबी गर्दै विजय ‘अवश्यम्भावी’ रहेको बताएका छन्।

प्रतिक्रिया