काठमाण्डौ, ४ मंसीर २०८३।
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा दायर रिट निवेदन सच्याउन सर्वोच्च अदालतले अनुमति दिएको छ।
निवेदक दानबहादुर कार्कीले निवेदनमा टाइप त्रुटि भएको भन्दै बिहीबार संशोधनका लागि निवेदन दिएका थिए। रिटको पहिलो पानाको दोस्रो हरफमा ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसी’ लेखिएकोमा त्यसलाई सच्याएर ‘बढुवा गरिएका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसी’ बनाउन उनले माग गरेका थिए।
सोही मागअनुसार शुक्रबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले रिट संशोधन गर्न आदेश दिएको हो। सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १९ बमोजिम उक्त वाक्यांश संशोधन गरी कायम गर्न र संशोधन आदेशलाई रिट निवेदनकै अभिन्न अंग मानी मिसिलमा राख्न आदेशमा भनिएको छ।
यसअघि रिटमा भएको त्रुटिलाई कारण देखाउँदै प्रहरी प्रधान कार्यालयले अदालतको म्याद बुझ्न अस्वीकार गरेको थियो। निवेदन संशोधन भएपछि शुक्रबार नै प्रहरी प्रधान कार्यालयमा म्याद बुझाइएको छ।
यसअघि मङ्सिर २ गते सर्वोच्च अदालतले डा. केसीलाई आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। तर अन्तरिम आदेशबारे छलफल गर्न रिट निवेदक र सरकारलाई मङ्सिर ७ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो।