पाथिभरा माता बनेर महिलामाथि दुर्व्यवहार गर्ने युवक कारागार चलान

पाथिभरा माता बनेर महिलामाथि दुर्व्यवहार गर्ने युवक कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० भाद्र २०८३
  • 1.2K
    Shares

pathibhara mata, पाथिभरा माता भनिने समीर थापा

पोखरा , १० भदौ २०८३।

सुर्खेतमा पाथिभरा माता बनेर झारफूक गर्ने क्रममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

कारागार चलान हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समिर थापा रहेका छन्। थापा लामो समयदेखि माता बनेर झारफूक गर्दै आएको बताइएको छ।

केही समयअघि उनले एक महिलालाई गालीगलौज तथा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा सुर्खेत प्रहरीले थापालाई साउन १३ गते पक्राउ गरेको थियो।

थापासहित घटनाको भिडियो खिच्ने अर्का व्यक्तिविरुद्ध पनि बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालत सुर्खेतमा साउन ८ गते मुद्दा दर्ता भएपछि दुवै जनाविरुद्ध थुनछेक बहस भएको थियो।

न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले मुख्य अभियुक्त थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतले घटनाको भिडियो खिच्ने व्यक्तिलाई भने ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।

अदालतको आदेशसँगै थापा पुर्पक्षका लागि कारागार चलान भएका छन् भने उनका सहयोगी भनिएका व्यक्ति धरौटी बुझाएर बाहिरिने भएका छन्। घटनाबारे थप अनुसन्धान तथा मुद्दाको प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया