पोखरा, १० भदौ २०८३।
सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित ढुंग्रेभञ्ज्याङमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
इटहरीबाट काठमाडौं जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंको दिशाबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकल बीपी राजमार्गस्थित ढुंग्रेभञ्ज्याङ क्षेत्रमा मंगलबार साँझ करिब ६ः२० बजे एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–५ का १९ वर्षीय राजु यादवको जिल्ला अस्पताल सिन्धुलीमा उपचारकका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर घाइते भएका सोही स्थानका २० वर्षीय रुपेश महतोको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।
दुर्घटनामा संलग्न ट्रकका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ३९ वर्षीय केशव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकसहित उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ।