ललितकलाका ‘गोल्ड मेडलिस्ट’ कवि अर्जुन खालिङले मंसिर २९ गते बिहान आत्महत्या गर्नुभन्दा एक महिनाअघि आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए-
‘मन आजकल-
घाम र वादलको लुकामारी भएको छ
कुनै प्रलयको संकेत त हैन !’
अन्ततः प्रलय नै भयो । प्रतिभाशाली आर्टिस्ट खालिङले मंसिर २९ गते बिहान १० बजेतिर कोटेश्वरस्थित आफ्नै डेरामा झुण्डिएर आत्महत्या गरे ।
दुईवटा कवितासंग्रह प्रकाशित गरेका ४१ वर्षीय कवि खालिङ ललितकला क्याम्पसको प्राध्यापनको जागिर छाडेर राजनीतिमा लागेका थिए । उनी संघीय समाजवादी पार्टीनिकट सांस्कृतिक विभागका केन्द्रीय उपाध्यक्ष थिए ।
आर्ट डिजाइनमा पोख्त कलाकारका रुपमा परिचित खालिङ सोलुखुम्बुको जुगिङमा जन्मिएका हुन् । विभिन्न पुस्तकहरुको कभर डिजाइन गरेका खालिङ आफैं कविसमेत थिए । फाइन आर्टको क्षेत्रमा सबैसँग परिचित उनी ब्याचलर इन फाइन आर्ट (बीएफए) का गोल्ड मेडलिस्ट हुन् । उनी अध्ययनशील एवं वौद्धिक व्यक्तित्वका रुपमा परिचित थिए ।
आकर्षक चित्रहरु बनाउने खालिङ किरात राई प्रज्ञा परिषदका सदस्य एवं ललितकला विभागका प्रमुखसमेत थिए । उनले गरेको विभागले खोटाङमा किरात राई संग्रहालयको डिजाइन तयार पारेको थियो । सो संग्रहालयको परिकल्पनाकार अर्जुन आफैं थिए । जसको ग्राफिक्स प्राज्ञ सभासद सुरज राईले गरेका थिए ।
तर, यो संग्रहालयको परिकल्पनालाई अधुरै छाडेर खालिङ माटोमा लीन भएका छन् । संघीय समाजवादी पार्टीले कोटेश्वरबाट शवयात्राका साथ खालिङको शव पशुपति वनकालीमा समाधिकृत गरेको छ ।
डिप्रेसनबाट आत्महत्यासम्म
निकटस्थहरुका अनुसार खालिङ डिप्रेसनका बिरामी थिए । उनी डिप्रेसनको औषधि खाइरहेका थिए । यसैवीच मंसिर २९ गते बिहान ९ बजेपछि उनले श्रीमती र छोरीलाई म एक्लै आराम गर्छु भनेका थिए । त्यसपछि उनले आराम गर्ने भन्दै बेड रुममा छिरेर चुकुल लगाए । र, त्यहीँ पासो लगाएर आत्महत्या गरे ।
अर्जुन खालिङ सुरुमा नेकपा एमालेका कार्यकर्ता थिए । पछि उनी अशोक राईहरुसँगै एमाले छाडेर संघीय समाजवादीमा आवद्ध भएका थिए । यसक्रममा उनले ललतिकला क्याम्पसमा पढाउने जागिर समेत छाडेर राजनीतिमै लाग्ने र सांस्कृतिक फाँटमा लाग्ने निर्णय गरेका थिए । ४१ वर्ष पुगेका खालिङ गत चुनावमा पनि पार्टीमा सक्रिय थिए ।
जानकारहरुका अनुसार जागिरमा रहुञ्जेल उनको कमाइ पनि राम्रै थियो । पेन्टिङ र कलाकारिता एवं डिजाइनबाट उनले राम्रो आम्दानी गर्दै आएका थिए । सानी छोरी र श्रीमतीसँग उनी कोटेश्वरमा फ्याट भाडामा लिएर बस्दै आएका थिए ।
खालिङले आत्महत्याको दुई दिनअघिमात्रै आफ्नो कान्छो सालो भूपाल राई नेपाली सेनाको प्राविधिक उप-सेनानी हवाइ इञ्जिनियर पदमा उत्तीर्ण भएकोमा बधाई दिएका थिए ।
डिप्रेसनः जसले विद्वानलाई पनि छाडेन
स्व. अर्जुनका बारेमा संघीय समाजवादी फोरमका नेता ध्यानबहादुर राईले अनलाइनखबरसँग भने- ‘उहाँ विद्वान हुनुहुन्थ्यो, कलाकारिताका साथै अध्ययनमा विशेष रुची थियो । मैले उहाँसँग बसेर अहिलेको देशको परिस्थितिलाई कसरी हेरिरहनुभएको छ, पार्टीमा के-कति सन्तुष्ट हुनुहन्छ र कसरी अघि बढ्ने चाहिरहनुभएको छ भन्ने विषयमा कुराकानी गर्न चाहेको थिएँ । तर मैले यस्तो सोचेको ३/४ दिन नहुँदै उहाँ जानुभयो ।’
खालिङले केही दिन अघिमात्रै आफ्नो फेसबुकमा लेखेका थिए-‘महत्वाकांक्षाले कि चुली चढाउँछ, कि ढडेन (ढाँड) मा जाकी पठाउँछ ।’
अन्ततः खालिङ पशुपतिको जंगलमा, ढाँडमा सधैंका लागि बास बस्न पुगे । महत्वाकांक्षाले हो वा, के कारण उनले महाप्रस्थान गरे ? अहिलेसम्म पूरै खुल्न सकेको छैन ।
खालिङको मृत्युबारे ध्यानबहादुर भन्छन्- ‘डिप्रेसन एउटा यस्तो रोग रहेछ, यसले विद्वान र वीरहरु कसैलाई पनि नछाड्दोरहेछ ।’
खालिङलाई सम्झँदै युवा मूर्तिकार नविन सुवेदी भन्छन्- ‘राज्यले कलाकारलाई चिन्न र सम्मान गर्न नसक्दा कलाकारहरु निराश बन्नुपरिरहेको छ । प्रज्ञा प्रतिष्ठानले पनि कलाकारलाई समान व्यवहार गरेको छैन, जसका कारणले पनि हामीले अर्जुन खालिङजस्ता प्रखर प्रतिभालाई गुमाउनु परेको छ । त्यसैले खालिङको मृत्युबारे राज्यले सोच्न जरुरी छ ।’
‘पहिचानको आन्दोलनमा ज्यानै फालियो’
मृतक खालिङका पुरानो फेसबुक स्टाटसहरुलाई पहिल्याउँदै जाँदा त्यहाँ निराशाजन्य धेरै अभिव्यक्तिहरु खासै भेटिँदैनन् । तर, खालिङ राईहरु एकतावद्ध नभएकामा उनले आलोचना गरेको भेटिएको छ ।
खालिङले यसबारे दुईवटा स्टाटस लेखेका थिए, जुन यस्ता छन्-
भौगोलिक निरन्तरता तथा सांस्कृतिक संगमस्थल एकै भएका सोलुखुम्बु, संखुवासभा र भोजपुरका कुलुङहरु, चितवन मकवानपुर, धादिङ र गोरखाका चेपाङहरु, ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीका बाम्बुलेहरु एक ठाउँमा हुन खोज्दैछन् । एकै जिल्लाका हामी खालिङहरु भने तीन-चार टुक्रा हुन खोज्दैछौं ।’
खालिङको अर्को स्टाटसमा लेखिएको छ- पहिचानको आन्दोलनमा ज्यानै फालेर लागियो…. तर आज आफ्नै गाविसको खालिङ बस्तीलाई ‘खालिङ गाउँपालिकामा जोड्न सकिएन ।’
अन्ततः खालिङले ‘खालिङ गाउँपालिका’ लाई मात्रै होइन, आफ्नै जीवनलाई समेत जोड्न सकेनन् र सिसाझै चकनाचुर बनाए । पत्नीलाई विधवा बनाए । छोरीलाई टुहुरो बनाए । र, एउटा आर्टिस्टको दुःखद अन्त्य भयो ।