नारायणी अस्पतालका चिकित्सकमाथि आक्रमणको विरोधमा आज देशभर आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्दको घोषणा

नारायणी अस्पतालका चिकित्सकमाथि आक्रमणको विरोधमा आज देशभर आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्दको घोषणा


  • जन संचार
  • मंगलबार, १२ साउन २०८३
  • 703
    Shares

protest of doctors

काठमाडौं, १२ , साउन २०८३।

नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको हो।

संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। आक्रमणमा डा. रामको टाउकोमा गम्भीर चोट लागेको र अस्पतालमा समेत तोडफोड गरिएको संघको भनाइ छ।

घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखबाट बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको आरोप संघले लगाएको छ।

नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न माग गरेको छ।

त्यस्तै, वार्ताका क्रममा चिकित्सकमाथि मानमर्दन तथा दुर्व्यवहार भएको भन्दै संघले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघले राज्यको दमनकारी व्यवहारको विरोधस्वरूप सांकेतिक रूपमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ। आन्दोलनका थप कार्यक्रमबारे भने आज आयोजना हुने सर्वपक्षीय भेलाबाट निर्णय गरिने संघले जनाएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा आन्दोलनका कारण बिरामीमा पर्न जाने असुविधाप्रति क्षमासमेत मागिएको छ। साथै, यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने संघले जनाएको छ।

प्रतिक्रिया