शंखमुलको होस्टलमा युवकको हत्या : दुई जना पक्राउ, पाँच जनामाथि अनुसन्धान

शंखमुलको होस्टलमा युवकको हत्या : दुई जना पक्राउ, पाँच जनामाथि अनुसन्धान


  • जन संचार
  • शुक्रबार, ५ भाद्र २०८३
  • 152
    Shares

काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार बिहान भएको विवादका क्रममा एक युवकको हत्या भएको छ। आक्रमणमा गम्भीर घाइते भएका दाङको घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका वसन्त कालाथोकीको उपचारका क्रममा मृत्यु भएको हो।

होस्टलमा केही युवाबीच विवाद भएपछि कालाथोकीमाथि कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको सूचना पाएलगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थल पुगेको थियो।

गम्भीर घाइते अवस्थामा उद्धार गरिएका कालाथोकीलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार चिकित्सकले शुक्रबार दिउँसो करिब सवा १२ बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार कालाथोकीको टाउको र घाँटीमा धारिलो हतियारका चोट देखिएका छन्। कुटपिट तथा धारिलो हतियार प्रहारबाट उनको मृत्यु भएको प्रारम्भिक निष्कर्ष रहे पनि मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्टपछि खुल्नेछ।

दुई जना पक्राउ

घटनालगत्तै प्रहरीले होस्टलबाट ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। तीमध्ये बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादवको हत्यामा प्रत्यक्ष संलग्नता देखिएको प्रहरीको भनाइ छ।

बाँकी पाँच जनामाथि भने सोधपुछ तथा अनुसन्धान भइरहेको छ। उनीहरूको घटनामा संलग्नता पुष्टि नभएमा सोधपुछपछि छाडिने प्रहरीले जनाएको छ।

यसैबीच, घटनापछि फरार भएका अर्का युवक प्रमित पटेललाई मकवानपुरबाट पक्राउ गरिएको छ। कालाथोकीको हत्यापछि गाडीमा मकवानपुर हुँदै बारा जाने क्रममा पटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर प्रहरीको समन्वयमा भैंसेबाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोषकुमार खड्काका अनुसार पटेललाई काठमाडौं ल्याइँदै छ। प्रहरी स्रोतका अनुसार उनी बारा हुँदै भारततर्फ भाग्ने तयारीमा थिए।

प्रहरीले यादव र पटेलको संलग्नता देखिएको भन्दै उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

हत्या गर्न प्रयोग भएको हतियार अझै फेला परेन

प्रहरीले कालाथोकीमाथि धारिलो हतियार प्रहार भएको बताए पनि घटनामा प्रयोग भएको हतियार भने अहिलेसम्म फेला पार्न सकेको छैन।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार कालाथोकीको शरीरमा धेरै चोटपटक देखिएको छ। घटनापछि हतियार लुकाइएको हुन सक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको छ।

सामान्य विवादबाट घटना भएको प्रारम्भिक निष्कर्ष

प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या पुरानो रिसइबीभन्दा पनि साथीहरूबीचको सामान्य विवादबाट उत्पन्न भएको देखाएको छ।

होस्टलमा बस्ने युवाहरूबीच विवाद भएपछि स्थिति नियन्त्रणबाहिर गएको र आवेशमा कुटपिट तथा धारिलो हतियार प्रहार हुँदा कालाथोकीको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। यद्यपि, घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ।

होस्टल व्यवस्थापनमाथि पनि प्रश्न

घटनापछि शंखमुल, नयाँ बानेश्वर र बुद्धनगर क्षेत्रका होस्टलको व्यवस्थापन तथा सुरक्षा निगरानीमाथि समेत प्रश्न उठेको छ।

प्रहरीका अनुसार पछिल्लो समय यस क्षेत्रका केही होस्टलमा लागुऔषध सेवन, होहल्ला तथा युवाहरूबीच झगडा हुने गुनासो आउने गरेका छन्। प्रहरीले विभिन्न समयमा होस्टलमा निगरानी तथा खानतलासी गर्दा लागुऔषध बरामद गरी केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको जनाएको छ।

होस्टल सञ्चालक तथा वार्डेनले विद्यार्थीको गतिविधिमाथि पर्याप्त निगरानी नगर्दा यस्ता समस्या बढ्न सक्ने प्रहरी अधिकारीहरूको भनाइ छ। शंखमुलको पछिल्लो घटनाले होस्टलको सुरक्षा, निगरानी र व्यवस्थापनमा थप कडाइ आवश्यक रहेको देखाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया