पोखरा, ११ साउन २०८३।
बैतडी। भारतको बेङ्गलुरुमा दुई वर्षदेखि मजदुरी गर्दै आएका बैतडीका एक युवकले आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगीको मुद्दा दर्ता भएको खबर पाएपछि हतारहतार नेपाल फर्किए। तर तीन दिन लामो यात्रा गरेर अदालत पुग्दा उनले थाहा पाए– पक्राउ पुर्जी उनको नाममा होइन, अर्कै व्यक्तिको रहेछ।
बैतडीको पाटन नगरपालिका–६ बिट्ठेउडाका मुकेश बिष्टको परिवारले असार २२ गते बिहान यस्तो अप्रत्याशित सूचना पायो। प्रहरी टोली घरमै पुगेर “तपाईंका छोराविरुद्ध ठगी मुद्दा छ, अदालतमा हाजिर हुन भन्नुहोस्” भनेपछि परिवार एकाएक तनावमा डुब्यो।
आमा रोहिना बिष्टले तत्काल भारतमा रहेका छोरालाई फोन गरिन्। मुकेशले आफूले कहिल्यै ठगी नगरेको र यसबारे कुनै जानकारीसमेत नभएको बताए। तर अदालतको विषय भएकाले ढिलाइ गर्न नहुने भन्दै परिवारले उनलाई तुरुन्त नेपाल फर्किन आग्रह गर्यो।
असार २८ गते बेङ्गलुरुबाट घर आइपुगेका मुकेश त्यसपछि काठमाडौं जिल्ला अदालत पुगे। वकिलमार्फत आफ्नो मुद्दाबारे बुझ्दा मात्रै वास्तविकता खुल्यो। पक्राउ पुर्जी उनकै नाममा थिएन।
उनका अनुसार पक्राउ पुर्जीमा नाम, ठेगाना र बुवाको नाम मिले पनि नागरिकता नम्बर भने फरक थियो। यही त्रुटिका कारण आफूले अनाहकमा ठूलो आर्थिक र मानसिक पीडा भोग्नुपरेको उनले बताए।
“करीब १५–२० दिनसम्म तनावमा बस्नुपर्यो। बेङ्गलुरुदेखि बैतडी हुँदै काठमाडौं आउँदा मात्रै ७० हजार रुपैयाँभन्दा बढी खर्च भयो। अन्तिममा अर्कै व्यक्तिको पक्राउ पुर्जी रहेछ भन्ने थाहा पाएँ। यस्तो गम्भीर लापरबाहीको जिम्मेवारी कसले लिन्छ?” उनले प्रश्न गरे।
परिवारका बुबाआमा लेखपढ गर्न नजान्ने भएकाले उनीहरू झन् अन्योलमा परेका थिए। कानुनी प्रक्रिया बुझ्ने कोही नभएपछि कुवेतमा रहेका मुकेशका काका केशव बिष्टसमेत नेपाल फर्किएका थिए।
केशवका अनुसार प्रहरीले वृद्ध आमाबुवालाई मुद्दाको प्रकृति स्पष्ट नबुझाई कागजमा हस्ताक्षर गराएको थियो। छोराविरुद्ध ठगीको मुद्दा परेको जानकारी पाएपछि परिवार नै मानसिक तनावमा परेको उनले बताए।
“म कुवेतबाट करिब ३ लाख रुपैयाँ खर्च गरेर नेपाल आएँ। भतिजाको जागिर छुट्यो, मेरो पनि रोजगारी र बिदामा असर पर्यो। एउटा सामान्य प्रशासनिक त्रुटिका कारण हाम्रो परिवारले आर्थिक, मानसिक र सामाजिक रूपमा ठूलो क्षति बेहोर्नुपर्यो,” उनले भने।
पीडित परिवारले सम्बन्धित निकायको लापरबाहीका कारण भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायले भने अदालतबाट प्राप्त म्याद तामेलीका आधारमा मात्रै प्रहरी परिचालन गरिएको प्रतिक्रिया दिएका छन्। अदालतबाट आएको विवरणअनुसार नै प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।