पोखरा , ५ भदौ २०८३।
पोखराबाट ठुलो मात्रामा लागूऔषधसहित एक युवा पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले ठुलो मात्रामा लागूऔषधसहित पोखरा महानगरपालिका–१८ अधेरीकुनाका ४० वर्षीय अनुप छत्कुलीलाई पक्राउ गरेको हो।
अभियुक्त छत्कुलीको घरकोठाबाट झोलाभित्र लुकाइछिपाइ राखिएको Tapentadol (100 mg) लेखिएको ११ हजार सात सय ६८ चक्की बरामद गरेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका छत्कुली यसअघि नै लागूऔषधसम्बन्धी मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जिकिर गरेको छ। उनको विगतको संलग्नतासमेतलाई आधार बनाएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका छत्कुलीलाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले बरामद भएको लागूऔषधको स्रोत, बिक्री–वितरणमा संलग्न अन्य व्यक्ति तथा यसअघि उनीमाथि दर्ता भएको मुद्दासँगको सम्बन्धबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।