नवलपरासी, १७ साउन २०८३।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा वर्षाको भेल रोक्न नेपाली पक्षले निर्माण गरिरहेको अस्थायी माटोको बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काइदिएको छ।
स्थानीयवासीका अनुसार शनिबारदेखि वर्षायाममा भारततर्फबाट आउने पानीको भेल रोक्न स्थानीय बासिन्दाले निर्माण गरिरहेको करिब एकसय ३२ मिटर लामो कच्ची बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरेर भत्काइदिएको हो।
भारतीय पक्षको सहमति र सहकार्यमा भारततर्फबाट नेपालतिर आइरहेको पानीको भेल नियन्त्रण गर्न नेपाली पक्षले निर्माण गरिरहेको माटोको कच्ची बाँध एसएसबीले भत्काई दिएको सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालले बताए। उनले भारतीय सीमा सुरक्षा बलका जवानहरु सादा पोशाकमा हतियारसहित नेपाल–भारत सीमा क्षेत्रमा रहेको सिमलको रूखबाट करिब तीनसय मिटर नेपालतर्फ प्रवेश गरी बितण्डा मच्चाएको आरोप लगाए।
बाँध भत्काइएपछि स्थानीयवासीले प्रतिवाद गरेका थिए। घटनाका कारण केही समय सुस्ता क्षेत्रमा तनावको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
प्रशासनले विवाद भएको पुष्टि गर्यो
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न निर्माण गरिएको अस्थायी बाँधका विषयमा विवाद भएको पुष्टि गरेका छन्।
उनका अनुसार विवाद बढ्न नदिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बल परिचालन गरिएपछि अहिले अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताएका छन्।
यद्यपि, भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा प्रशासनले औपचारिक रूपमा के कस्तो कारबाही वा कूटनीतिक पहल अघि बढाएको छ भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
एकसय ३२ मिटर क्षेत्रमा निर्माण रोकिँदै आएको दाबी
स्थानीय अगुवाहरूका अनुसार नेपालतर्फ बाँध निर्माण गर्नुपर्ने करिब एकसय ३२ मिटर क्षेत्रमा लामो समयदेखि भारतीय पक्षले अवरोध गर्दै आएको थियो। वर्षायाममा पानीको भेल नेपालतर्फ पस्ने समस्या समाधान गर्न अस्थायी रूपमा माटो राखेर बाँध निर्माण गर्न थालिएको उनीहरूको भनाइ छ।
असारमा पनि बाँध निर्माणमा अवरोध
सुस्ता क्षेत्रमा बाँध निर्माणलाई लिएर यसअघि पनि विवाद हुँदै आएको छ। गत असारमा समेत भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माणको काम रोक्न दबाब दिएको स्थानीयको भनाइ छ। त्यसपछि निर्माण कार्य रोकिएको थियो।
स्थानीयका अनुसार वर्षायाममा आउने भेलका कारण सुस्ताका बस्ती तथा खेतीयोग्य जमिन प्रभावित हुने गरेको छ। पानीको बहाव नियन्त्रण गर्न स्थानीयले पटक–पटक अस्थायी संरचना निर्माण गर्दै आएका छन्।
सुस्ता नेपाल–भारतबीच लामो समयदेखि सीमा विवाद रहेको क्षेत्र हो। सीमा स्तम्भ तथा प्राकृतिक सीमा परिवर्तन, नारायणी नदीको धारमा आएको परिवर्तन र भारतीय पक्षबाट हुने भनिएको अतिक्रमणका विषयमा यहाँ समय–समयमा विवाद हुँदै आएको छ।
हालको घटनापछि सीमा क्षेत्रमा थप तनाव हुन नदिन दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच समन्वय आवश्यक देखिएको छ। निर्माणाधीन बाँध कुन भूभागमा पर्छ भन्ने विषयमा समेत स्थलगत रूपमा सीमाङ्कन तथा आधिकारिक निकायबाट स्पष्टता आवश्यक रहेको स्थानीयको माग छ।