काम गर्न राखेकी बालिकालाई जबर्जस्ती करणी, ६२ वर्षे विक पक्राउ

काम गर्न राखेकी बालिकालाई जबर्जस्ती करणी, ६२ वर्षे विक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ असोज २०७३
  • 17.6K
    Shares

घरमा यौन शोषण गरेको आरोपका जिल्ला प्रहरी कार्यालय कास्कीले एक वृद्धलाई पक्राउ गरेको छ । पोखरा उपमहानगरपालिका वडा १२  शीतलादेवी बस्ने ६२ वर्षीय वीरबहादुर विकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विकलाई जवरजस्ती करणी मुद्दामा शुक्रबार म्याद थप गरी अनुन्धान अगाडि बढाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश बमले जानकारी दिए ।

प्रहरीका अनुसार महिला, बालबालिका कार्यालय कास्कीको सिफारिसमा विकलाई कारबाही अगाडि बढेको हो । अन्दाजी १४ वर्षीय भारतीय बालिकालाई विकले डर धम्की देखाएर यौन शोषण गरेको पीडितले बताएकी छन् ।

पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनीकरण कार्यक्रममा पीडित बालिकाले आफू माथि यौन शोषण भएको लिखित रुपमै जानकारी गराएपछि बुधबार उनको उद्दार गरिएको हो ।

बाल श्रम न्यूनीकरण कार्यक्रमले जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय र नगरपालिकाको महिला तथा बालबालिका शाखा र जिल्ला प्रहरी कार्यालयलाई उक्त लिखित जानकारी पठाएपछि उनको उद्दार गरिएको हो ।

बालिकाले सुरु सुरुमा विकले खुट्टा माड्न लगाउने गरेको, पछि सम्वेदनशील अंगमा छुने र रातिसँगै लिएर सुतेको लिखित रुपमै जानकारी गराएकी छन् । सुत्दा पटक—पटक विकले आफूसँग यौन सम्पर्क गरेको समेत उनले बताएकी छन् ।

यो कुरा कसैलाई भने मारिदिन्छु भनेर विकले धम्क्याउने गरेको पीडित बालिकाले उद्धार टोलीसँग बताएकी थिइन् । बालिकालाई माटेपानीको बालबालिका केन्द्रमा पढ्नको लागि पठाउन भन्दा पनि विकले लामो समय पठाएका थिएनन् ।

ती बालिका बालबालिका सम्पर्क केन्द्रमा पुगेको बेलामा आफू यौन शोषणमा परेको बताएपछि घटना बाहिर आएको हो । भारतीय मुलको जस्तो देखिने ती बालिकाको वास्तिविक नाम, ठेगाना र परिवारको बारेमा थाहा नभएको प्रहरीले बताएको छ ।

विककी श्रीमतीले घरमा काम लगाउन काठमाडौबाट बालिकालाई पोखरा ल्याएकी थिइन् । बालिकालाई दुव्र्यवहार गरेको थाहा पाएपछि श्रीमान र श्रीमतीबीचमा समेत झगडा भएको स्थानीयबासीको भनाइ छ ।

नेपालको कानुनले १८ वर्ष तलकासँग सहमतिमै यौन सम्पर्क गरेपनि त्यसलाई जवरजस्ती करणी ठान्छ भने कानुनले बालबालिकालाई घरेलु कामदार बनाउन समेत रोकेको छ । विकले विगतदेखि नै आचरण ठिक नभएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया