हामी नेपाली वर्षभरिमा के—कति पर्व मनाउँछौं त्यसको लेखाजोखा छैन । यहाँ प्रत्येक जाति र सम्प्रदायले आ—आफ्नै प्रकारका पर्वहरू मनाउने गर्दछन् । यस्ता पर्वमा गीतहरू गाउने नाच्ने परम्परा पुस्ताैदेखि चल्दै आएको छ । त्यस्ता पर्व गीतहरूमध्ये तीज गीत प्रमुख गीत हो ।
नेपाली नारीहरूको रमाइलो पर्व तिजको अवसरमा गाइने गीतलाई तिज गीत भनिन्छ । विशेषतः नारीजातिको पर्व भएकोले यस पर्वमा नारीहरूले माइतीमा जम्मा भएर वर्षभरि गुम्सिएका मनभित्रका गुम्फनहरू छताछुल्ल पोखेर मन हलुको पार्ने पर्वको रूपमा पनि यसलाई लिने गरिन्छ । छोरीचेलीहरू विवाह भएर टाढा टाढा जाने र वर्षको एकदिन भेट भएर आ–आफ्ना दुःखसुख साटासाट गर्ने पर्व भएकाले यस पर्वले परम्परादेखिको पारिवारिक, सामाजिक सद्भाव पनि कायम राखेको पाइन्छ । यस्ता गीतहरूले लोकको आवाज गुञ्जाउँछन् ।
समाजमा हाँसो र खुसी दुवै छन् । हाँसो, उमंग र रमझमले भन्दा पीडा, दुःख र आँसुले मानवीय संवेदनालाई छिटो प्रभावित पार्दछ । नेपाली समाज अझै पनि संवेदनामुक्त छैन । यहाँ अनेकौं पीडा छन् । बाध्यता छन् । आँसु यहाँको निरन्तर मुहान जस्तै बनेको छ ।
परिवर्तनका नाममा हाम्रा मौलिक सामाजिक नियम र मर्यादाहरूलाई ध्वस्त पार्नेगरी ल्याइएको परिवर्तन कसैलाई पनि स्वीकार्य हुँदैन । पहिलेका यस्ता तिज गीतमा नारी संवेदनाका आवाजहरू गुञ्जिन्थे । ती संवेदनाहरू विभिन्न परिवेशले जन्माएका हुन्थे ।
कहिले कुन परिस्थिति त कहिले कुन बाध्यताले आँसु बगिरहन्छ नेपाली समाजमा । समाजका यिनै आँसुका ढिकाहरूलाई टपक्क टिपेर तीजगीतमा उतार्ने गर्छन् महिलाहरूले । यस्ता गीतहरूले समाजका हरेक मानिसको हृदयलाई छुन्छन् । समयको गतिशीलतासँगै तिजका गीतहरूमा पनि धेरै परिवर्तन देखा परेका छन् । यस्ता परिवर्तन केही सकारात्मक छन् भने केही नकारात्मक पनि छन् । तिनको संक्षिप्त चर्चा यहाँ गरिएको छ ।
पहिलेका तिज गीत
तिज गीत प्रचलनको इतिहास हेर्ने हो भने यी गीतहरू नारी वेदनालाई अभिव्यक्त गर्ने गीतको रूपमा प्रचलनमा आएका हुन् । विवाह भएर टाढा टाढा गएका छोरीचेलीहरू माइतीमा जम्मा भएर आ– आफ्ना गुम्फनहरू पोख्ने र मन हलुको पार्ने गीतहरूको रूपमा विकास भएका हुन् तिज गीतहरू । पहिलेका यस्ता तिज गीतमा नारी संवेदनाका आवाजहरू गुञ्जिन्थे । ती संवेदनाहरू विभिन्न परिवेशले जन्माएका हुन्थे । परिवारिक असमानता, लैंगिक असमानता, बाध्यात्मक अवस्था आदिले नारी संवेदनामा गहिरो चोट पुर्याएपछि ती तिजगीत बनेर पोखिन्थे र सबैलाई सोचनीय बनाउँथे । जस्तै ः
भित्र बाहिर गरे पनि रुचाउँदिनन् सासूले
रुँदा रुँदै पछ्यौरी यो भिज्यो अाँसुले ।
नेपाली समाज परापूर्वकालदेखि नै विभेदकारी रूपमा थियो । पारिवारिक कलह, मनमुटाव, असमानता आदि नेपाली समाजमा नराम्रोसँग जरो गाडेर संस्कारकै रूपमा स्थापित भएका थिए । विवाह गरेर ल्याएकी अर्काकी छोरीलाई विभिन्न बहानामा हेला गर्ने, लाञ्छना लगाउने जस्ता अमानवीय कार्य यत्रतत्र देखिन्थ्यो । जुन कुराको अभिव्यक्ति नारीहरूले तीज गीत मार्फत घन्काउने गर्दथे ।
घरभरि छोरी भैसक्दा पनि छोराकै चाहनामा अर्को वर्ष फेरि छोरी जन्माउने बाबु आमाले छोरीप्रति गर्ने ब्यबहार असमान र अमानवीय रहँदै आएको छ । एउटै कोखबाट जन्मेको सन्तानलाई गरिएको यस्तो असमान प्रवृत्तिको विरोध गीत बनेर तीजको समयमा व्यक्त हुने गर्थे ।
जस्तैः
छोरालाई दिनदिनै मास्टरको काखमा
हामीलाई दाउरा, घाँस वन पाखामा ।
त्यसैगरी विवाह भएर पराइ घर जानुपर्दाका पीडाहरू पनि गीतमा यसरी अभिव्यक्त हुने गर्दथेः
घाटै र पारी नइ र दिए बाबा
तिजैमा हाम्लाई लिन को जाला ?
त्यति र गारो नइर मान चेली
जेठा तिम्रा दाजुलाई लिन पठाम्ला ।
जेठा हाम्रा दाजैले जाम् कि नजाम् भन्नन्
जेठी हाम्री भाउजूले जानै देओइनन् ।
वर्ष दिनमा एकपटक आउने चाड तीजमा माइत जान नपाएर बस्नु पर्दाको पीडाले नेपाली नारीहरूमा अर्को संवेदना जागृत गराइदिन्थे । यसरी माइत जान नपाउनुको पछाडि अनेक बाध्यात्मक परिस्थितिले अवरोध पु¥याएका हुन्थे । कसैका माइती लिन नआएर, कसैलाई उर्लँदा नदीनालाहरूले छेकेर, कसैका कर्कस सासूहरूले विदा नदिएर आदि विविध परिस्थितिका कारणले तीजका गीतहरू सिर्जना भएका हुन्थे । जस्तैः
तीज आयो भन्छन् सबै माइत जान्छन्
मै छोरी अभागिनी कसका माइत जाऊँ ?
तिजमा छोरी चेलीलाई लिन जानैपर्ने र नगएमा छोरीले दुःख मानेर अनेक गुनासो गर्ने परम्परा पनि पहिले पहिेले थियो । यस्तै संवादले भरिएको केही पुरानो तिजको गीत यसप्रकारको छः
पत्नी – पृथिवीका पल्ला छेउमा हाम्रा छन् अरे
म त जान्छु स्वामी राजै बाबा भेटन
पति– तिम्रा बाबा निठुरेको तिम्लाई मया रैनछ
नजाऊ नजाऊ पियारी बाबा भेटन
पत्नी – बा ले मया नगरे नि मेरो मया छँदैछ
म त जान्छु स्वामी राजै बाबा भेटन ।।
यसरी पहिलेका तिज गीतमा नारी संवेदनाका आवाजहरू गुञ्जने गर्दथे । त्यस्ता गीतमा नेपाली समाजको वास्तविक चित्र प्रतिबिम्बित हुने गथ्र्यो । तिज आउनासाथ दाजुभाइले जस्तोसुकै महत्वपूर्ण कामलाई छोडेर भए पनि दिदी बहिनी लिन जानै पथ्र्यो । दिदी बहिनीलाई ल्याएर घरको मिठोमसिनो जे छ त्यसलाई सबैले बाँडिचुँडी खाने चलन थियो । जो अद्यपि जीवीत छ तर धेरै परिवर्तनका साथ ।
अहिलेका तिज गीत
पहिलेको तुलनामा अहिलेको नेपाली समाज धेरै विकसित भैसकेको छ । विकास सँगसँगै मानिसका संवेदनाहरू पनि हराउँदै गएका छन् । लोक अर्थात समाजका आवाजहरू, दुःख सुख र परिवेशको चित्रण गर्न छोडेर अहिलेका तिज गीतमा धेरै विकृति देखिन थालेका छन् ।
तिजका गीत नितान्त सामाजिक गीत हुन् । नेपाली समाजमा एउटा सुन्दर अनुशासन कायम छ । त्यहाँ आमा, बाबु दिदी, भाइ, बहिनी, छोरी, फुपू, भतिज, नन्द, अमाजू अनेक अनेक नाताहरू छन् । तिज भनेको सबैजना एकैठाउँमा जम्मा भएर एकसाथ रमाइलो गर्ने पर्व हो । वास्तवमा भन्ने हो भने तिज गीतहरूमा शृगारिकता हुनै हुँदैन ।
अहिलेका गीतहरूमा शृंगारिकता भन्दा पनि अझ उच्छृंखलता बढ्दै गएको छ । रेडियो, टेलिभिजनमा गीत बज्दा लुकेर सुन्नु पर्ने वा बन्द नै गर्नुपर्ने अवस्था सिर्जना गराएका छन् अहिलेका केही गीतहरूले । त्यसैगरी तिज मान्ने प्रचलनमा पनि धेरै परिवर्तन आएको छ अहिले । तिजलाई अहिलेको समयमा निकै भड्किलो र गरिबहरूको पहुँच बाहिर बनाइएको छ ।
परिवर्तन संसारको नियम हो । यो हुनुपर्छ र यसलाई स्वीकार्नु पनि पर्दछ । तर परिवर्तनका नाममा हाम्रा मौलिक सामाजिक नियम र मर्यादाहरूलाई ध्वस्त पार्नेगरी ल्याइएको परिवर्तन कसैलाई पनि स्वीकार्य हुँदैन । विकासवादीहरूले कुनै पनि सकारात्मक परिवर्तन विकास हो भनेका छन् । मानिसहरू जुनसुकै परिवर्तनलाई पनि विकास हो भन्ने भ्रममा परी परिवर्तन शब्दलाई नै बदनाम गराउने प्रयासमा छन् । तिज गीतको सन्दर्भमा पनि त्यस्तो केही प्रवृत्ति विकसित भएको छ ।
यस्ता उच्छृंखलतालाई छोडेर हेर्ने हो भने अहिलेका तिजगीतमा पनि धेरै सकारात्मक अवशेषहरू जीवीतै छन् । आधुनिक प्रविधिको सही उपयोग गरेर पुराना भाका र गीतहरूलाई जीवीत राख्ने गायक गायिका पनि सक्रिय छन् । यसरी सक्रिय रहने कलाकारहरूमा हरिदेवी कोइराला, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, शर्मिला गुरुङ लगायत छन् । प्रजापति
पराजुलीद्वारा रचना भएको र सरला पाण्डेले गाएको एउटा गीतको प्रसंग हेरौँः
एउटा बाबुका पाँच बहिनी छोरी हुन्छन् । विवाह पछि एउटी अमेरिका बस्छे, एउटी जापान बस्छे, अर्की कोरिया बस्छे र अझ अर्की चाहिँ अस्ट्रेलिया बस्छे तर कान्छी चाहिँ गाउँमै दुःख गरेर जीवन निर्वाह गरिरहेकी हुन्छे । तीज आउँछ । सबै चेलिबेटी जम्मा भएर तीज मनाउने बेलामा कान्छी चाहिँले आफ्ना सुख पाएका दिदीहरूसँग यसरी गुनासो गर्छेः
दिदी ! अम्रिकाने भैछौ, बहिनीले दुःख पाएँ बोलाएको खै त ?
दिदी ! जापानिज भैछौ, बहिनीले दुःख पाएँ बोलाएको खै त ?
दिदी ! अस्ट्रेलियन भैछौ, बहिनीले दुःख पाएँ बोलाएको खै त ?
दिदी ! कोरियन भैछौ, बहिनीले दुःख पाएँ बोलाएको खै त ?
दिदी हो ! जे भए नि वर्ष दिनमा आउने गरे माइत ।
कान्छीले गीतमार्फत आफ्नो गुनासो अझै यसरी पोख्छे ः
दिदी ! खेती लायो क्यै फल्दैन, फले पनि असिनाले खान्छ
दिदी ! कैलेकाहिँ त यस्तो लाग्छ दुःखैले ज्यान लान्छ ।।
त्यसैगरी पहिलेका र अहिलेका गीतहरूको तुलना गरेर पशुपति शर्माले एउटा गीत गाएका छन् जसमा वर्तमान समयमा परिवारसँग बसेर सुन्न र हेर्न नसकिने अहिलेका गीत र पुराना गीतहरूको मिश्रण गरिएको छ ः
लेकै फुल्यो लालुपाते बेँसि फुल्यो टुनी बरिलै
जन्मै दिन हेपिएको यो छोरीको जुनि बरिलै ।।
परिवर्तनलाई आत्मसाथ गरेर पनि सबैले स्वीकार गर्नसक्ने यस्ता गीतहरूले गर्दा अहिलेका गीतहरू सबै नकारात्मक, उच्छृङ्खल र हेर्नै नसकिने छन् भन्ने धारणा परिवर्तन गराइदिएको छ । धेरैमा आशा जगाइदिएको छ ।
तिज सामाजिक सद्भाव र पारिवारिक मिलनको महत्वपूर्ण पर्व हो । तिजको समयमा गाइएका सबै गीत तिज गीत होइनन् । तिज गीत हुन त त्यहाँ तिजको मर्म, सामाजिक र पारिवारिक सद्भाव अनि परिवारका सबै सदस्य एकसाथ बसेर हेर्न सकिने खालको हुनुपर्दछ । यसतर्फ सम्पूर्ण सरोकारवाला र सञ्चारकर्मीहरू पनि सचेत हुन जरुरी छ ।
(लेखक नेपाली लोकसंगीतमा विद्यावारिधि अनुसन्धानरत छन् ।)
– See more at: http://www.samadhannews.com/2016/09/%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%b0-%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a5%80%e0%a4%9c-%e0%a4%97%e0%a5%80%e0%a4%a4/#sthash.17blrHHB.dpuf