बाह्रबुँदेले दिएको पीडा: युवराज गौतम

बाह्रबुँदेले दिएको पीडा: युवराज गौतम


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ चैत्र २०७२
  • 22.8K
    Shares

युवराज गौतम

ब्रिटेनले साउदी अरेबियालाई ६ अर्ब पाउन्डको हतियार बेचेको राष्ट्रसंघ र एमनेस्टी इन्टरनेसनलको आरोप छ । यमनलाई लक्षित गरेर रियादका शासकहरूले पटकपटक हमला गर्दा त्यहाँ ठूलो मात्रामा जनधन विनाश भएको छ र तर वार ट्रेडर्सको हृदयमा न मानवता हुन्छ, न त संवेदनशील सोच । उनीहरू ‘यमनको वैधानिक सरकारलाई सहयोग गरिरहेको’ अभिमानपूर्ण दाबी गर्छन् । यथार्थ त्यो हुँदै होइन ।

उडुस मार्न ओछ्यान र खाट पोलिँदैन । साउदी सरकारलाई हतियार बेच्ने र यमनलाई ध्वस्त पार्ने अनि हतियारबाट प्राप्त मुनाफा यमनको परोपकारमा खर्च गर्ने द्वैध चरित्रका कारण ब्रिटेनको छवि झन् धमिलो बनेको छ । राष्ट्रसंघले ब्रिटेनको डिफिड (डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट) लाई चेतावनीको भाषामा प्रश्न गरेको छ, यो के गरेको ?

उत्तर एटलान्टिक सन्धि संगठनको दादागिरीका बारेमा धेरै ठूलो आलोचना हुने गरेको छ । यस्तो लाग्छ, उनीहरू (सदस्य राष्ट्रहरू) संसारकै स्वामी हुन चाहन्छन्, यो सम्भव छैन । चीन र रसियाले अमेरिका तथा ब्रिटेनलाई औँला नठड्याउँदा हुन् त धेरै राष्ट्रमा ती पश्चिमाले झन्डा गाड्ने थिए । मौजा बनाउने थिए ।

इस्लामिक स्टेट सुन्नीहरूको संगठन हो । यो बद्नाम छ, तर कमजोर छैन । अलोकप्रिय छ तर छरपस्ट छैन । दुर्दान्त र दुर्दमनीय जस्तो भएर आतंकको बाटो हिँडेको छ तर गतिहीन छैन । आखिर कसले किन र कुन स्वार्थका निम्ति बनाएका छन्, यस्ता संगठनहरू ?

इस्लाम र इसाईबीचको द्वन्द्वले एसियाका धेरै राष्ट्र कमजोर बनेका छन् । कतिपय इस्लामिक उग्रवादी संगठनहरू पश्चिमा राष्ट्रहरूबाट प्राप्त सहयोगमा गठन भएर सञ्चालित र विस्तीर्ण बनिरहेका छन् । सन् २०१४ मा खुलेको ‘आईएसआईएल’ आतंकको पर्यावयाची शब्द बनेको छ । टर्की, यमन, सिरिया, ट्युनिसिया, इजिप्ट, इराक जताततै आतंक छ ।

इराकले सन् १९९० मा कुबेतमा हमला गरेपछि त्यसैलाई निहुँ बनाएर सन् २००३ मा अमेरिकाले इराकमा हमला गर्‌यो । सिया र सुन्नीबीच भिडन्त गराइयो । सन् २०११ मा सिरियामा सुरु भएको गृहयुद्ध होस् वा इजिप्टको जनआन्दोलन, पश्चिमाहरूकै डिजाइनका परिणति हुन् भन्ने धेरैको विश्वास रहेको छ ।

‘भविष्यको परिभाषा बुझ्न चाहन्छौँ भने इतिहास (विगत) पढ्ने गर’, कन्फ्युसियसले भनेका छन् । हुन पनि हो, विगतको अपमान गर्दा आगतको सम्मान हुँदैन । इतिहास मेट्न उनीहरू आतुर हुन्छन्, जो अधिनायकवादी हुन्छन् । तानाशाहहरूलाई आफ्नो मुढेबल, कठोर चरित्र, अभिमान र निकृष्ट विचार नै सबैथोक हो भन्ने लाग्छ, तर इतिहासले त्यसलाई स्वीकार गर्दैन । उदाहरणको लागि, कथित जनयुद्धको बेला झन्डै अठार हजार मानिस मारिए । त्यत्रो धनजनको क्षति किन ग¥यौ भनेर इतिहासले नेपालका माओवादीलाई प्रश्न गरिरहन्छ । किनभने असत्यको फोहोरमा यदाकदा सत्य नै समाधि बन्न पुग्छ, तर त्यो जीवित हुन्छ । सत्य मर्दैन ।

कुनै पनि कालखण्ड, स्थान र अवस्थामा सचेत व्यक्ति या समुदायले सत्यको अन्वेषण गर्छ । सन् १८६० मा पहिलोपटक ओलिभर वेडेल होम्सले लेखे, ‘अमेरिकाको बोस्टनमा सयौँ वर्षदेखि बसोवास गर्दै आएका उच्च कुलका घरानियाहरू वास्तवमा ब्राह्मण नै हुन् ।’ अन्वेषणबाट थाहा भयो, उनीहरू प्रतिभाशाली, शिक्षित, विनम्र, सभ्य, धनी र सुसंस्कृत छन् । अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्स र छैटौँ राष्ट्रपति जोन क्विन्सी एडम्स, फ्रयांकलिन रुजवेल्ट, (द्वितीय विश्वयुद्धकालका राष्ट्रपति), कवि राल्फ एमर्सन सबै बोस्टन ब्राह्मण रहेछन् ।

इतिहास, समाजशास्त्र एवं मानवशास्त्रका विद्वान्हरू अमेरिकी बोस्टन ब्राह्मणहरूको लवज, रहनसहन, जीवनशैली अरूभन्दा फरक रहेको बताउँछन् । मलेसिया, इन्डोनेसिया, कम्बोडिया, फिजी, नेपाल, भारत, बंगलादेश, थाइल्यान्ड, भुटान, मरिसस आदि राष्ट्रका ब्राह्मणभन्दा फरक छन्, बोस्टने बाहुनहरू । नेपालको राष्ट्रिय पोसाक लगाउने हो भने राल्फ एमर्सनको अनुहार राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग मिल्छ भने जोन एडम्स साहित्यकार कमल दीक्षित जस्तै देखिन्छन् । सन् १७७६ मा स्वतन्त्र हुनुभन्दा पहिले अमेरिका ब्रिटेनको उपनिवेश थियो र ब्रिटेनबाट बसाइँ सरेर ब्राह्मण परिवार बोस्टन पुगेपछि बोस्टन ब्राह्मण भन्न थालिएको कतिपयको तर्क छ ।

चीनका प्रसिद्ध कूटनीतिज्ञ प्रा. हु सिसेङ संस्कृत बोल्छन्, लेख्छन् । हिन्दीमा पनि पारंगत छन् । कतिपय चिनियाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए उत्तीर्ण गरेका छन्, जापानको नारा सहरका हारुहितो नोजुले जस्तै । माओले कम्युनिस्टविरोधी भनेर बेइजिङको जेलमा कोचेको बेला एकजना विद्वान्ले रामायणलाई चिनियाँ भाषामा अनुवाद गरे । संसार नै खुला विश्वविद्यालय हो र केही सिक्न चाहनेलाई फुर्सद नै हुँदैन ।नेपालमा आफूलाई कम्युनिस्ट भन्नेहरू कलर ब्लाइन्ड्नेसका रोगी झैँ ‘रातो’ मात्र सत्य हो भन्छन् । हरेक शब्दमा ‘जन’ शब्द झुन्ड्याउँछन्– जनसंस्कृति, जनअस्पताल, जनभान्सा, जनगीत, जनशौचालय, जननेता सबैमा जन शब्द झुन्ड्याएपछि नेता बन्छन् महाजन । के यसो भए माओवादी लडाकुका नाममा जननेताले शान्ति मन्त्रालयबाटै गायब पारेको ११ अर्ब रुपैयाँ जनभ्रष्टाचार हो कि होइन ? यस्ता ठूलाठूला भ्रष्टाचारका फाइल लुकाएर खरदार–सुब्बालाई भ्याकुरो खेदे झैँ खेद्ने अख्तियारका दलाई लामालाई कसले प्रश्न गर्ने ?

समाधिमै थिचिए पनि सत्य भनेको सत्य हो । दिल्लीमा बोलाएर नेपालका दलहरूलाई बाह्रबुँदे कायलनामामा हस्ताक्षर गराउने भारतीय गुप्तचरहरू अहिले झस्किएका छन् । दिल्लीमा माओवादीलगायतका आठ पार्टीलाई बन्द कोठामा थुनेर हस्ताक्षर गराउँदा त्यसमा नेपालमाथि हस्तक्षेप नदेख्ने नेपाली राजनीतिज्ञहरूले त्यसैबेला नै विदेशी हस्तक्षेपलाई वैधानिकता दिएका थिए । अहिले त्यसको पीडा भोग्न उनीहरू बाध्य छन् ।

दिल्लीमा माओवादीलगायतका आठ पार्टीलाई बन्द कोठामा थुनेर हस्ताक्षर गराउँदा त्यसमा नेपालमाथि हस्तक्षेप नदेख्ने नेपाली राजनीतिज्ञहरूले त्यसैबेला नै विदेशी हस्तक्षेपलाई वैधानिकता दिएका थिए । अहिले त्यसको पीडा भोग्न उनीहरू बाध्य छन् ।

किनभने प्रस्थान विन्दु नै गलत थियो । ०६२/६३ सालको आन्दोलन विदेशीको वीर्यबाट गर्भाधान भएकाले त्यस्तै सन्तान उत्पादन हुनु अनौठो होइन । यसकारण नेपालको वर्तमान संविधानको बाबु को हो भन्ने टुंगो लागिसकेको छैन । संविधानको अनुहार हेरेर भारत, बेलायत र युरोपेली युनियनले संविधानसँग आफ्नो अनुहार नमिलेकोमा आशंका गरेका हुन् । पछिल्लो नाकाबन्दी त्यसैको परिणाम हो भने वर्तमान संविधानप्रति उनीहरूको असन्तुष्टि पनि स्वामित्वको लडाइँ मात्र हो । संविधानको अनुहार चिनियाँ जस्तो र छाला इसाईको जस्तो देखिएपछि भारतीयहरू झस्किएका छन् ।

भारत र ब्रिटेनले नेपालको संविधानको विरोधमा दोस्रोपटक विज्ञप्ति प्रकाशित गरेर आफ्नो करोडौँ रुपैयाँको लगानी खेर जाने हो कि भन्ने आशंका व्यक्त गरेका छन् । बाबुराम भट्टराईजस्ता गणतन्त्रवादीले वर्तमान संविधानको घोर विरोध गर्नु र आफूलाई राजतन्त्रवादी ब्रान्डका नेता बताउनेहरूले गणतन्त्रवादी संविधान उदार, गज्जव, उत्कृष्ट र प्रजातान्त्रिक छ भनेर वकालत गर्दा विदेशी मात्र होइन, नेपाली जनता सत्य के हो भनेर आश्चर्यमा परेका छन् । जनतालाई डलर र युरोको कर्तुतबारे जानकारी नभएकाले यस्तो अवस्था सिर्जना भएको हो ।

राजदरबारमा काम गर्ने एउटा गोठालाको कथा रोचक छ । जाडो याममा साँझपख राजा, रानी, राजकुमारी सबै आँगनमा बसेर आगो ताप्दै थिए । रसिक स्वभावका राजाले गोठालालाई सोधे– ‘बाईस–तेईस वर्षको भइस् । अब बिहे गर्ने होइन त कान्छा ? ‘ गोठालोले हाँसेर भन्यो, ‘बिहे त गर्ने हो सरकार तर… ।’

‘के तर ? कोसँग बिहे गर्छस् भन् । म बिहे गराइदिउँला ।’ राजा बोले ।

‘सरकार ! , म त राजकुमारीसँग बिहे गर्छु …।’ गोठालोको कुरा सुनेर सबै छक्क परे । सिपाहीहरूले गोठालोलाई पाता कसेर चिसो भुइँमा लडाए । राजज्योतिषीलाई बोलाएर तत्काल छानबिन गर्न लगाइयो । ज्योतिषीले हात जोड्दै भने, ‘सरकार !, यो केटाको त राजग्रह परेको छ । राजाकै छोरीसँग बिहे गर्ने योग छ । भाग्यमा असाध्य धनी हुने लेखिएको छ । गुप्त धन पाउने योग छ । अचम्मै भो प्रभु …।’

भोलिपल्टै राजाले सैनिक पठाएर गोठालाको जन्मघर खानतलासी गराए । बारीमा गुप्तधन हुन सक्छ भनेर ज्योतिषीले भनेपछि सिपाहीहरूले खेतबारी खन्न थाले । गोठालाको झुप्रो पछाडि पिँडालुबारी खन्दा आठ÷दसवटा तामाका गाग्रामा पचासौँ धार्नी सुनका असर्फी भेटियो । ज्योतिषीहरूको सल्लाहअनुसार राजाले त्यही गोठालासँग छोरीको बिहे गरिदिए ।

नेपालमा पनि थुप्रै गोठालाहरू विदेशीको गुप्तधन पाएर ठूलाठूला पदमा पुगेका छन् । त्यसैले उनीहरू सत्यलाई छोपेर असत्यको वकालत गरिरहेका छन् । दुई करोड ७० लाख जनता रहेको नेपालमा दुई करोड ५५ लाखभन्दा बढी हिन्दु भए पनि बहुमतको अपमान गरिएको छ भने झन्डै चार हजारको हाराहारीमा मात्र रहेका कतिपय जातिका लागि पनि विदेशीहरू चिन्तित देखिएको पाइन्छ ।

प्राचीन सभ्यता र राष्ट्रिय एकतालाई खरानी बनाउने र त्यसकै व्यापार गर्न चाहने गम्भीर षड्यन्त्रविरुद्ध नेपाली जनता एक ढिक्का नहुने हो भने सभ्यताको अवशेष खोज्न संग्रहालयमा जानुपर्ने अवस्था आउँछ । के हामी त्यही अवस्था पर्खेर बसिरहेका छौँ ?

प्रतिक्रिया