पोखरा , २८ चैत २०८२।
चितवन राष्ट्रिय निकुञ्जमा पैदल गस्तीमा रहेका नेपाली सेनाको एक टोलीले राउण्ड गोली हानेर एउटा माउ गैंडा मारेका छन्।
एक बच्चासहितको माउ गैंडाले पैदल गस्तीमा रहेको चार जनाको सैनिक टोलीलाई लखेट्न शुरु गरेपछि आत्मसुरक्षाका लागि उक्त सैनिक टोलीले चलाएको दुई राउण्ड गोली लागेर उक्त माउ गैंडा मरेको हो।
निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, आज दिउँसो १२ बजेर ५० मिनेट जाँदा निकुञ्ज सुरक्षामा खटिएका नयाँ गोरख गण अन्तरगतका नवलपुर सेक्टरमा रहेको सेरी सुरक्षा पोष्टका सुरक्षाकर्मीसँग अर्धवयस्क बच्चासहितको आमा गैँडाको जम्काभेट भएको थियो । जम्काभेट भए लगत्तै गैँडाले लखेट्न नछोडेपछि १० राउण्ड हवाइ फायरिङ गरेको संरक्षण अधिकृत थापा मगरले बताए ।
हवाई फायरिङपछि पनि गैँँडाले लखेट्न नछोडेपछि गस्तीमा गएकामध्येक सिपाही विकास घर्तीलाई गैँडाले लडाएर लछारपछार गर्न थालेको उनले जानकारी दिए । गस्तीका साथीमाथि गैँडाले आक्रमण गरेपछि उनको ज्यान बचाउन थप दुई राउन्ड गोली गैँडालाई हानेको र सोही गोलीका कारण उक्त गैंडाको ज्यान गएको थापा मगरले बताए ।
उक्त गैंडाको आक्रमणबाट घाइते भएका सिपाही घर्तीलाई पोष्टमा ल्याई उपचारको लागि काठमाडौं पठाइएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ।
गैँडाको आक्रमणमा परेका सिपाही घर्तीको ढाड, कम्मर लगायतका विभिन्न शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र वीरेन्द्र अस्पताल छाउनीको सघन उपचार कक्षमा उपचार भईरहेको जनाइएको छ ।