झापा, ९ कार्तिक २०८३।
झापाको शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्।
शनिबार साँझ करिब ७:३० बजे कम्पनी परिसरमा जमिनमुनि भण्डारण गरी राखिएको करिब नौहजार पांचसय लिटर लाइट डिजेल तेल प्रदेश १-०१-००१ क १८०० नम्बरको टिपरमा लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको हो।
आगलागीमा परेर टिपर चालक इलामको माङ्सेबुङ गाउँपालिका-३ बस्ने ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
पड्किएसँगै लागेको आगोले ट्याङ्कीमा भण्डारण गरिएको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ भने टिपरमा सामान्य क्षति पुगेको छ।
आगलागीको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली खटिएको छ। शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीको सहयोगमा आगो अन्यत्र फैलिन नदिन प्रयास भइरहेको छ।
समाचार तयार पार्दासम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।