पोखरा, ८ कात्तिक २०८३।
सुनसरीको केसेलिया खोलामा बोराभित्र भेटिएको शब बिराटनगरका ब्याट्री ब्यबसायी गर्ने भारतीय नागरिकको भएको खुलासा भएको छ।
जिल्लाको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र भेटिएको शव भारतको उत्तर प्रदेशस्थित वाराणसी घर भई विराटनगर महानगरपालिका-६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’का संचालक लालजी प्रसाद गुप्ताको रहेको खुलासा भएको हो।
पछिल्लो ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका गुप्ताले बिराटनगर महानगरपालिका-६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए र विराटनगरमै बसोबास गर्दै आएका थिए।
स्थानीयवासीले आइतबार बिहान केसेलिया खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनेबित्तिकै सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।