सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, तीन जना बेपत्ता, एकको सनाखत

सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, तीन जना बेपत्ता, एकको सनाखत


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८३
  • 190
    Shares

सुनसरी, ८ कात्तिक २०८३।

सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ १४ जना यात्रु लिएर आउँदै गरेको जेटबोट आइतबार दिउँसो करिब २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो भने तीन जना बेपत्ता छन्।

प्रहरीका अनुसार , उक्त दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये एक जनाको सनाखत भएको छ। पहिचान हुनेमा सुनसरीको वराहक्षेत्र नगरपालिका-१ खारखोला निवासी अन्दाजी ५० वर्षीया लीला राई रहेकी छिन्। उनको उपचारका क्रममा मृत्यु भएको चतरा अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अन्य दुई मृतक मध्ये एक बालिका र एक पुरुषको पहिचान खुल्न सकेको छैन। उनीहरूको शव चतरा अस्पतालमै राखिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रनाउ चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा घाइते भएका मोहन सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

सहप्रवक्ता थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डिएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डिएमसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ। स्थानीय र नेपाल प्रहरीको टोलीले समेत खोजी कार्य जारी राखेको छ।

प्रहरीले जेटबोटका चालक २४ वर्षीय सुमन मगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार