पोखरा , २८ चैत २०८२।
पोखरास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन शाखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रस्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापा, तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र सेवाग्रही बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ बस्ने हिम बहादुर बस्नेत थापाविरुद्ध भ्रस्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले आपसी मिलेमतोमा बदनियत राखी सरकारी तथा सार्वजनिक निकायको विद्युतीय एवं कागजातको अभिलेखमा गैरकानुनी तरिकाले सच्याउने, थपघट गर्ने र हेरफेर गरेर नक्कली अनुमतिपत्र तयार गरेको दायर मुद्दाको आरोपपत्रमा उल्लेख छ ।
आयोगका अनुसार हिम बहादुर बस्नेत थापाको नाममा ’ए’ र ’बी’ वर्गको पुरानो सवारी चालक अनुमतिपत्र नम्बर ’डीएल ०८–४२४८२’ जारी नै नभएको जानकारी हुँदाहुँदै सरकारी अभिलेखमा विवरण प्रविष्ट गरिएको थियो ।
कर्मचारीहरुले सरकारी सार्वजनिक अभिलेखमा झुट्टा विवरण प्रविष्ट गरी नयाँ अनुमतिपत्र नम्बर ’०१–०७–०१०३५२८०’ कायम गरेका थिए । जसमा जारी मिति २०५८ साल चैत २७ गते र समाप्त हुने मिति २०७८ साल चैत २२ गते उल्लेख गरिएको थियो । २० वर्षसम्म बहाल रहने गरी सवाारी चालक अनुमतिपत्र सहितको गलत लिखत तयार पारी २०७८ साल चैत १५ गते सोको प्रतिलिपि समेत दिएको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ’उक्त कार्यमा संलग्न प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ’ ।
तत्कालीन प्रशासन अधिकृत शंकर थापा र कम्प्युटर अपरेटर जगत ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा सोही ऐन अनुसार सजाय हुन मागदाबी गरिएको छ । त्यसैगरी, सेवाग्राही हिम बहादुर बस्नेत थापाले भ्रष्टाचारजन्य कार्यको गैरकानुनी लाभ लिएको र मतियारको भूमिका निर्वाह गरेको भन्दै उनलाई पनि सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह नै सजाय गर्न माग गरिएको छ ।