पोखरा, ८ मंसीर २०८३।
जिल्ला प्रहरी कार्यालय कास्कीमा नयाँ कार्यालय प्रमुखका रुपमा एसपी मोहनबहादुर खांड आउने भएका छन्।
प्रहरी प्रधान कार्यालयले आज गरेको १७ जना कार्यालय प्रमुख रहेका समेत ६० जना एस्पीहरुको सरुवामा एसपी खांड जिल्ला प्रहरी कार्यालय कास्कीको नयाँ कार्यालय प्रमुखको रुपमा सरुवा भएका छन्। उनी हाल वागमती प्रदेश कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत थिए।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय प्रमुख रहेका एसपी नबिन कार्की मानव बेचिबिखन अनुसन्धान ब्युरो अन्तरगतको मानव बेचबिखन शाखामा सरुवा भएको छ।
उक्त सरुवा सुची अनुसार , हाल गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रमुख एसपी सुनिल मल्लको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा काठमाण्डौमा र गण्डकी प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका एसपी श्यामु अर्यालको जिल्ला प्रहरी कार्यालय दाङमा कार्यालय प्रमुखका रुपमा सरुवा भएको छ। एसपी अर्यालको ठाउँमा हाल जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत एसपी सरोज पौडेल आउदैछन भने गण्डकी प्रदेश प्रहरी गण पोखराको प्रमुखमा हाल जिल्ला प्रहरी कार्यालय धादिङ रहेका सुमित खड्का आउदैछन।
उता जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेक बहादुर क्षेत्रीको सुदुरपश्चिम प्रहरी गणको गणपतिका रुपमा सरुवा भएको छ उनको ठाउँमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा काठमाण्डौबाट एसपी नरेशराज सुबेदी आउने पक्का भएको छ।
हेर्नुस कुन एसपीको कहाँ सरुवा भयो ?