पोखरा, ४ बैशाख २०८३ ।
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर जन्मदाता आमालाई सम्मान गरी मनाइँदैछ । आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गर्दै मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद ग्रहण गर्ने शास्त्रीय परम्परा छ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमालाई उच्च स्थानमा राखिएको छ । सन्तानहरूले आज बिहानै नुहाइधुवाइ गरी आफ्नी आमालाई नयाँ वस्त्र लगाइदिने र तागतिला एवं स्वादिला पकवान खुवाएर खुसी बनाउने गर्छन् । आमा नभएकाले भने आमाको स्मरणमा तर्पण र पिण्ड दान गर्नुका साथै पुरोहितलाई सिदा दान गरी दिवङ्गत आत्माको शान्तिको कामना गर्ने गर्छन् ।
वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी व्याख्या गरिएको छ ।