एकता र फुटसम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोण: अजय शर्मा

एकता र फुटसम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोण: अजय शर्मा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ चैत्र २०७२
  • 15.1K
    Shares

जस्तो कि फ्रेडरिख एङ्गेल्सले भन्नुभएको छ :” “पार्टीले फुटेर र फुटको पक्षमा उभिएर विजयी प्रमाणित गर्न सक्तछ । सर्वहारा वर्गको आन्दोलन अपरिहार्य रुपले विकासका विभिन्न चरणहरूबाट गुज्रिन्छ । हरेक चरणमा केही व्यक्तिहरू रोकिन्छन् र अगाडिको अभियानमा सहभागी हुँदैनन् र खालि त्यति कुराले मात्र एक अर्काका विरुद्ध जीवन मरणको सङ्घर्ष गरिरहेका बेग्लाबेग्लै पार्टी र समूहहरूको रुपमा वास्तवमा ‘सर्वहारा एकता’ कायम रहन्छ भन्ने कुरा व्याख्या गर्न प्रयाप्त छ ।”

त्यस्तै गरेर चिनियाँ कम्युनिस्ट पार्टीले आधुनिक संशोधनवादको उदयबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एकतामा पैदा भएको अभूतपूर्व खतराको सम्बन्धमा सन् १९६४ मा भनेको थियो : “अरु सबै वस्तुहरूमा झैँ अन्तर्राष्ट्रिय सर्वहारा वर्गको आन्दोलनमा पनि आपूmलाई दुईमा विभाजन गर्ने प्रवृृत्ति रहेको प्रष्ट हुन्छ । सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको वर्गसङ्घर्ष अवश्य कम्युनिस्ट पंक्तिमा प्रतिविम्बित हुन्छ । कम्युनिस्ट आन्दोलनको विकास प्रक्रियामा कुनै न कुनै प्रकारको अवसरवादले शिर उठाउनु र अवसरवादी तत्वले माक्र्सवाद–लेनिनवाद विरोधी फुट परस्त गतिविधि गर्नु स्वाभाविक हुन्छ । ती दुर्ई परस्परमा बेग्लाबेग्लै प्रवृत्तिहरूमा सङ्घर्षबाट गुज्रिएर माक्र्सवाद–लेनिनवाद र अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनले माक्र्सवाद–लेनिनवादको आधारमा आफ्नो एकतालाई सुदृढ र विकसित बनाएका छन् ।”

आपूmलाई दुईमा विभाजन गर्ने प्रवृत्ति मुताविक नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशाको निर्माणको सम्बन्धमा एकताबद्ध पार्टी र त्यसको नेतृत्व जनयुद्धको अघि बढाइको दौरानमा दुईमा विभाजित हुन पुग्यो । त्यो दुई परस्पर विरोधी भाग बन्यो । विचारधारात्मक रुपबाट जनयुद्धको सम्बन्धमा कतिपय भ्रमपूर्ण र गलत दृष्टिकोण रहनुका बाबजुद तत्कालीन नेकपा (माओवादी)को वि.सं. २०५१ चैत्र २–४ सम्म बसेको तेस्रो विस्तारित बैठकले नेपालको सन्दर्भमा आधारभूत रुपमा सही रणनीति तथा कार्यनीति निर्धारण ग¥यो ।

यस बैठकद्वारा पारित ‘नेपाली नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा’ त्यो कुराको शानदार उदाहरण हो । पार्टीले वि.सं. २०५२ असारमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा त्यो ‘कार्यदिशा’लाई अभ्यासको चरणमा विकसित गरेर ‘ऐतिहासिक जनयुद्धको पहिलो योजना’ पारित ग¥यो । उपयुक्त ‘कार्यदिशा’ र ‘योजना’ तत्कालीन नेकपा (माओवादी) र त्यसको नेतृत्वको एकतावद्धताको स्वाभाविक परिणाम थियो ।

अन्तर्राष्ट्रिय र स्वयं हाम्रा देशको कम्युनिस्ट आन्दोलनको अनुभव र शिक्षा तथा एकता र फुट सम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार उपर्युक्त ‘कार्यदिशा’ र ‘योजना’ मुताविक जनयुद्धको महान्् यात्रामा अगाडि बढ्ने क्रममा त्यसले आपूmलाई दुईमा विभाजन गर्ने र पार्टीभित्र कार्यदिशाको हिसाबले दुई परस्पर विरोधी हिस्सा अस्तित्वमा आउने कुरा निश्चित थियो ।

उपर्युक्त ‘कार्यदिशा’ र ‘योजना’ अन्तर्गत सुरु भएको जनयुद्ध अपरिहार्य रुपले विकासका विभिन्न चरणहरूबाट गुज्रने र हरेक चरणमा नेतृत्वदेखि कार्यकर्तासम्मको एउटा हिस्सा अगाडि बढ्न नचाहने स्थिति पैदा हुने कुरा निश्चित थियो । जनयुद्धको विकासको प्रक्रियामा कुनै न कुनै प्रकारको अवसरवादले टाउँको उठाउनु र त्यसले माक्र्सवाद–लेनिनवाद र जनयुद्ध विरोधी फुटपरस्त गतिविधि गर्नु विल्कुल स्वाभाविक थियो । आखिर जनयुद्धको विकास प्रक्रियामा हाम्रो पार्टीभित्र यो स्थिति पैदा भएरै छाड्यो ।

‘आजको साम्राज्यवाद’ अनुसारको ‘सर्वहारा क्रान्तिको रणनीति तथा कार्यनीति’को नाउँ दिएर प्रचण्ड–बाबुराम समूहले माक्र्सवादी–लेनिनवादी सिद्धान्त र उपर्युक्त ‘कार्यदिशा’ र ‘योजना’मा एकतावद्ध भएर गरेका प्रतिवद्धताहरूमा दक्षिणपन्थी–विसर्जनवादी कोणबाट फुटपरस्त कार्यदिशा र गतिविधिहरू अगाडि बढाएर पार्टी एकताको आधारलाई कमजोर पा¥यो ।

उनीहरूको कार्यदिशामा दलाल–नोकरशाही र सामन्तवादी बुर्जुवा लोकतान्त्रिक गणतन्त्रद्वारा नयाँ जनवादी गणतन्त्रको प्रतिस्थापन, ‘एक्काइसौ शताब्दीको जनवाद’द्वारा सर्वहारा जनवादको प्रतिस्थापन, पुँजीवादबाट साम्यवादमा संक्रमणको कालमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकाको विघटन र औपचारिक निर्वाचनद्वारा नेतृत्वको चयन, शान्तिपूर्ण संक्रमणका अवधारणाहरू समावेश छन् ।

यस कार्यदिशा प्राप्तिको लागि प्रचण्ड–बाबुराम समूहले जनसत्ता, क्रान्तिकारी आधारइलाका र जनमुक्ति सेनाको विघटन गर्ने रणनीति अपनायो । त्यो तेस्रो विस्तारीत बैठकको ‘नेपाली नयाँ जनवादी क्रान्तिको राजनैतिक तथा फौजी कार्यदिशा’ तथा पार्टीको केन्द्रीय समितिको ‘ऐतिहासिक जनयुद्धको पहिलो योजना’मा गरेको प्रतिवद्धताका पूर्णतः विपरित गएर दलाल–नोकरशाही र सामन्तवादी सत्ता अन्तर्गतको सरकारको नेतृत्व लिने वा त्यसको एउटा बलियो हिस्सेदार बन्ने फोहोरी संसदीय खेलको एउटा सफल खेलाडी बनेको छ ।

पछिल्लो समयमा आएर प्रचण्ड–बाबुरामको दक्षिणपन्थी अवसरवाद, नव–संशोधनवादमा विकसित भएको छ । तिनीहरूले माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारा र ‘कार्यदिशा’ एवं ‘योजना’का प्रतिवद्धताप्रति गद्दारी गरेर तथा आफ्नो नव–संशोधनवादी र फुटपरस्त कार्यदिशालाई अगाडि बढाएर पार्टीको एकताको अधारलाई समाप्त गरे । तिनीहरूले माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा र ‘कार्यदिशा’ एवं ‘योजना’को उद्देश्य र लक्ष्यलाई धोका दिएर तथा आफ्नो नव–संशोधनवादी र फुटपरस्त कार्यदिशामा जोड दिदै पार्टीमा फुट पैदा गरेका छन् ।

एकता र फुट दुवैको सम्बन्धमा निरपेक्ष सोचाइ गलत छ । यी दुवैको सम्बन्धमा हामीले आफ्नो दृष्टिकोण बनाउँदा सिद्धान्त र क्रान्तिलाई केन्द्रविन्दुमा राख्नु पर्दछ । कम्युनिस्टहरू हमेसा सच्चा मजदूरवर्गको एकताको पक्षमा हुन्छन् । आन्दोलनको विकासको प्रक्रियामा उनीहरूले सिद्धान्त र क्रान्तिको रक्षाको निम्ति पार्टीभित्र देखापर्ने अवसरवादी विचार र प्रवृत्तिहरूका विरुद्ध सम्बन्धविच्छेद गर्दछन् । त्यसप्रकारको सम्बन्ध विच्छेदलाई हामीले पार्टी र आन्दोलनको एकता सुरक्षित गर्न र त्यसलाई सुदृढ बनाउनका लागि गरिएको अविचल र सतत् प्रयत्नको रुपमा लिनुपर्दछ ।

विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा अवसरवाद र फुट परस्तताको विरुद्ध शानदार र गौरवपूर्ण सङ्घर्षको परम्परा छ । सन् १८७२ मा सम्पन्न पहिलो अन्तर्राष्ट्रियको महाधिवेशनमा बकुनीनवादीहरू माक्र्स र एङ्गेल्सको नेतृत्वमा गरिएको सम्बन्ध विच्छेदबाट सर्वहारा वर्गको आन्दोलनमा आपूmलाई दुईमा विभाजित गरेर सिद्धान्त र क्रान्तिको रक्षाको महायात्राको औपचारिक रुपमा शुभारम्भ भयो ।

अन्तर्राष्ट्रियभित्र बकुनिनवादीहरूले षड्यन्त्रमूलक ढङ्गबाट “बहुमत” जुटाएर संकिर्णवादी र फुटपरस्त क्रियाकलापहरू अगाडि बढाएको परिप्रेक्षमा त्यसप्रकारको सम्बन्धविच्छेद गरिएको थियो । त्यो सम्बन्धविच्छेदको अपरिहार्यता र सामयिकतामाथि प्रकाश हाल्दै एङ्गेल्स लेख्नुहुन्छ :

“यदि हामीले हेगमा सम्झौतावादी बाटो अपनाएको भए, यदि फुटमा मौन बसेको भए – त्यसको परिणाम के निस्कने थियो ? संकिर्णवादीहरू, खासगरेर बकुनिनवादीहरूले अन्तर्राष्ट्रियको नाउँमा अर्को ठूलो बेवकुफी र बदनाम गर्ने अवसर पाउने थिए । विकसित देशहरूका मजदूरहरू वाक्क हुने थिए । फोकाहरू फुट्ने थिएनन् तर पिनहरूद्वारा फोरिने थिए, बिस्तारै समाप्त हुने थियो र अर्को अधिवेशनमा अरु बढी संकट पैदा गर्ने थियो, तल्लो स्तरका मानिसहरूको लामबन्दी बन्ने थियो । किनभने “सिद्धान्त पहिले नै हेगमा बलि चढाइसकिएको हुने थियो । तब अन्तर्राष्ट्रिय एकताको कारणबाट छिन्नभिन्न हुने थियो ।”३

यसरी माक्र्स र एङ्गेल्सको नेतृत्वमा प्रथम अन्तर्राष्ट्रियले अवसरवाद र फुटपरस्तताको विरुद्ध सङ्घर्ष ग¥यो र विश्व सर्वहारा आन्दोलनमा माक्र्सवादको स्थान सुरक्षित ग¥यो ।

अवसरवाद र फुट परस्तताका विरुद्ध सङ्घर्ष नगरेर निर्णयात्मक मोडहरूमा त्यस प्रकारका तत्वहरूसँग एकताको प्रयत्नको परिणाम कस्तो निस्कन्छ भन्ने कुरा त्यतिबेलाको युरोपको मजदूर आन्दोलनमा विशेष स्थान राख्ने जर्मन सामाजिक–जनवादी पार्टीले लिएको नीतिगत भ्रष्टताको बाटोलाई यहाँ संस्मरण गर्नु उपयोगी हुनेछ ।

सन् १८७५ मई २२ देखि २७ सम्म आयोजित गोथा कांग्रेसमा जर्मन मजदूर आन्दोलनका दुई धाराहरू – समाजवादी–जनवादी मजदूर पार्टी, जसको नेता अगस्त बेबेल र विल्हेल्म लिब्नेख्त हुनुहुन्थ्यो, र लासालपन्थी आम मजदूर सङ्घ–एक भएर जर्मनको समाजवादी मजदूर पार्टीको स्थापना भएको थियो । संयुक्त पार्टीको कार्यक्रमको मस्यौदा कार्यक्रम, जुन गोथा कार्यक्रमको नाउँबाट चिनिन्छ, को माक्र्स र एङ्गेल्सले कडा आलोचना गर्नु भयो ।

माक्र्स र एङ्गेल्सले जर्मनीमा एउटा संयुक्त समाजवादी पार्टीको स्थापनाको विचारलाई अनुमोदन गरे पनि मस्यौदाको लासालवादीहरूसित सैद्धान्तिक प्रकारको सम्झौताको आलोचना गर्नुभयो । माक्र्सले मस्यौदाको सम्बन्धमा आफ्ना विचारहरू राख्दै ब्राकेलाई लेखेको पत्रमा भन्नु भएको छ :

“यो मेरो कर्तव्य हो कि – कुटनीतिक मौनताबाट समेत–यस्तो कार्यक्रमलाई मान्यता नदिउँ जुन मेरो विचारमा एउटा सिधै आपत्तिजनक कार्यक्रम छ, जसले पार्टीको टाउको निहुराउँछ ।”

अरु अगाडि उहाँले लेख्नु हुन्छ :
“यो थाहा भएको कुरो हो कि एकता हुने कुरा नै मजदूरहरूलाई सन्तोषजनक लाग्दछ । तर यो विश्वास गर्नु गल्ती हुन्छ कि यस क्षणिक सफलतालाई धरै मूल्य दिएर प्राप्त गरिएको छैन ।”

गोथा कार्यक्रमको आलोचनाको क्रममा माक्र्सले “सिद्धान्तको प्रश्नमा कुनै सौदावाजी हुँदैन” भन्ने सिद्धान्तलाई स्थापित गर्नुभयो । ४
माक्र्स र एङ्गेल्सले उहाँहरूको जीवन पर्यन्त अवसरवाद र फुटपरस्तताको विरुद्ध सम्झौताहीन रुपबाट सिद्धान्तमाथि आधारित सङ्घर्ष चलाउनु भयो ।

यस सम्बन्धमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र स्वयं रुसी सामाजिक–जनवादी मजदूर पार्टीको एकता र उसको पक्तिको शुद्धताको रक्षाका लागि लेनिनको नेतृत्वमा बोल्शेविकहरूले अवसरवाद र फुट परस्तताका विरुद्ध चलाएको दीर्घकालीन र सैद्धान्तिक सङ्घर्षको अत्यन्त ठूलो महत्व रहेको छ ।

त्यस प्रकारको सङ्घर्षको एउटा लामो शानदार र गौरवपूर्ण परम्पराबिना प्रथम विश्व युद्धको पूर्व सन्ध्यामा सर्वहारा क्रान्तिको रणनीति तथा कार्यनीति तय गर्न, द्वितीय अन्तर्राष्ट्रियका अवसरवादीहरूको पतनको भण्डाफोर गर्न, साम्राज्यवाद र अन्तर–साम्राज्यवादी युद्धको माक्र्सवादी विश्लेषण गर्न, रुसमा क्रान्तिको निम्ति परिस्थिति अनुकुल भएको अवस्थामा (सन् १९१७ अक्टोबर) क्रान्ति सम्पन्न गर्न सम्भव हुने थिएन ।

रुसी सामाजिक–जनवादी पार्टीको एकतामा फुट परस्त मेन्शेविकहरूद्वारा गम्भीर संकट पैदा गरिएपछि लेनिनको नेतृत्वमा बोल्शेविकहरूले, अवसरवाद र फुटपरस्त गतिविधिहरूमा अडिइरहेकोले, मेन्शेविकहरूलाई सन् १९१२ मा पार्टीबाट निश्कासन गरे । यो कदमलाई लिएर अवसरवादी र फुटपरस्त तत्वहरूले लेनिनको निकृष्ट ढङ्गले आलोचना गरे । उनीहरूले एकसूत्रीय रुपमा पार्टी एकताको झण्डा उठाए । उनीहरूको त्यसप्रकारको मागमाथि टिप्पणी गर्दै लेनिनले भन्नुभयो :

“एकता महान्् कुरा हो र महान्् नारा हो । तर मजदूर वर्गको कामको निम्ति हुने एकता माक्र्सवादीहरूको एकता हो, माक्र्सवादीहरू तथा माक्र्सवाद विरोधी र माक्र्सवादलाई तोडमोड गर्नेहरूबीचको एकता होइन ।”५

लेनिनको नेतृत्वमा गठित तेस्रो अन्तर्राष्ट्रिय विश्व स्तरमा र रुसभित्र अवसरवाद तथा फुटपरस्तताका विरुद्ध माक्र्सवादीहरूको सङ्घर्षको महान्् अग्रगामी पाइलो थियो ।

लेनिनको मृत्युपछि उहाँका सहयोद्धा तथा विश्व सर्वहारावर्गका महान्् नेता स्टालिनले तीन दशकसम्म विश्वस्तर र रुसमा देखापरेका विभिन्न रुप र रङ्गका अवसरवाद एवम् फुटपरस्तताका विरुद्ध लगातार सैद्धान्तिक तथा राजनीतिक सङ्घर्ष चलाएर अन्तर्राष्ट्रिय र रुसको कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी–लेनिनवादी एकताको रक्षा गर्नु भयो ।

त्यस सन्दर्भमा ट्राटस्कीवादीहरू, जिनोभिएभवादीहरू, बुखारिनवादीहरू आदिका विरुद्ध दीर्घकालीन सैद्धान्तिक एवम् राजनीतिक सङ्घर्ष चलाए पनि उनीहरू कम्युनिस्ट आन्दोलन र समाजवादको निर्माणको महान्् अभियानमा फुट परस्त गतिविधिहरूमा अडिइरहेकाले उनीहरूसितबाट प्रतिबद्धताका साथ सम्बन्ध विच्छेद† कम्युनिस्ट अन्तर्राष्ट्रियभित्र विभिन्न समयमा देखापरेका अवसरवाद र फुटपरस्तताका विरुद्ध सङ्घर्ष चलाएर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एकताको रक्षा आदि विशेषरुपले उल्लेखनीय छन् ।

स्टालिनको स्थापित् महान् माक्र्सवादी–लेनिनवादी व्यक्तित्व तथा अवसरवाद तथा फुट परस्त प्रवृत्तिका विरुद्धको उहाँको सम्झौताहिन र सिद्धान्तमाथि आधारित लगातारको सङ्घर्षबाट पराजित भएका तत्वहरूले उहाँको मृत्युपछि टाउको उठाए । कम्युनिस्ट आन्दोलनभित्र घुसेका र छद्म रुपबाट हुर्के–बढेका पुँजीवादी एजेन्टहरूले स्टालिनका विरुद्ध, अर्थात् लेनिनको मृत्युपछिको सर्वहारा अधिनायकतन्त्रको ऐतिहासिक अवधिका विरुद्ध एक प्रकारले युद्धको घोषणा गरे ।

यसको नेतृत्व सोभियत सङ्घको कम्युनिस्ट पार्टीको मूख्य नेतृत्वले ग¥यो । निकिता खुस्चोभको नेतृत्वमा विश्वभरिका दक्षिणपन्थी अवसरवादी तत्वहरू एकजुट भएर स्टालिनका विरुद्धको सङ्घर्षको माध्यमबाट अघि बढेर माक्र्सवाद–लेनिनवादको, सर्वहारा अधिनायकतन्त्रको अभ्यासको पुरै अवधिको परित्याग गर्ने रणनीति अपनाए । यसमा तिनीहरूलाई विश्व साम्राज्यवादको, अप्रत्यक्ष रुपबाट समर्थन र सहयोग रह्यो ।

साम्राज्यवादको विकासमा नयाँ विशेषताहरूको उदय र विकासको कुरा अघि सारेर तिनीहरूले सर्वहाराक्रान्तिको रणनीति तथा कार्यनीति पनि “नयाँ” हुनुपर्ने तर्क अघि सारे । तिनीहरूले नव औपनिवेशिक प्रणालीको विकासले औपनिवेशिक युग समाप्त भइरहेको तर्क अघि सारेर साम्राज्यवाद विरुद्ध राष्ट्रिय युद्ध अनावश्यक भएको भन्ने सोचाइ अघि बढाए । त्यसैगरेर पुँजीवादबाट साम्यवादमा संक्रमणसम्बन्धी माक्र्सवाद–लेनिनवादको आधारभूत सिद्धान्तमा पनि तिनीहरूले संशोधन गरे ।

“शान्तिपूर्ण संक्रमणको बाटो”, “संसदीय बाटो” आदि पुराना संशोधनवादीहरूको सडेको सिद्धान्तलाई “नयाँ” विकसित परिस्थितिको नाउँमा क्रान्तिको एकमात्र बाटोको रुपमा प्रस्तुत गरे । त्यसै गरेर, समाजवाद निर्माणका अघिल्ला वर्षहरुमा कम्युनिस्ट पार्टी र “समाजवादी राज्य” वर्गीय चरित्र समाप्त भएर सम्पूर्ण जनताको पार्टी “सम्पूर्ण जनताको राज्य” मा रुपान्तरित हुने† र, “शान्तिको सह–अस्तित्वको नीति” बेग्लाबेग्लै व्यवस्था भएका मुलुकहरूको विदेश नीतिको आधार मात्र होइन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम दिशा हुनुपर्ने जस्ता विचारहरू अघि सारे ।

यसरी सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बीसौँदेखि बाइसौँ महाधिवेशनसम्म पुग्दा त्यसको दक्षिणपन्थी अवसरवादी विचलन पूर्णरुपमा विकसित भएर आधुनिक संशोधनवादको रुपमा स्थापित भयो ।

माओत्सेतुङको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले आधुनिक संशोधनवादका विरुद्धको सङ्घर्षमा विश्वभरिका माक्र्सवादी–लेनिनवादीहरूको अगुवाई ग¥यो । जस्तो कि आधुनिक संशोधनवादको गम्भीर प्रकृति र त्यसका विरुद्धको सङ्घर्षको आवश्यकतामाथि प्रकाश हाल्दै चीनको कम्युनिस्ट पार्टीले भनेको छ :

“सोभियत सङ्घको कम्युनिस्ट पार्टीका २० औँ र २२ औँ महाधिवेशनमा सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूले संशोधनवादको सिङ्गो प्रणाली विकसित गरे । उनीहरूले संशोधनवादी कार्यदिशा प्रस्तुत गरे । त्यसले सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकतन्त्रको विरोध गर्दछ । त्यो कार्यदिशामा “शान्तिपूर्ण सह–अस्तित्व”, “शान्तिपूर्ण प्रतिस्पर्धा” र “शान्तिपूर्ण सङ्क्रमण” तथा “सम्पूर्ण जनताको राज्य” र “सम्पूर्ण जनताको पार्टी”का अवधारणाहरू समावेश छन् ।”

“सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूले माक्र्सवाद–लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रवादप्रति गद्दारी गरेर तथा आफ्नो संशोधानवादी र फुट परस्त कार्यदिशालाई अगाडि बढाएर स्वयं अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एकताको आधारलाई कमजोर पारेका छन् तथा माक्र्सवाद–लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रवादलाई धोका दिएर एवम् आफ्नो संशोधनवादी र फुट परस्त कार्यदिशामा जोड दिएर वर्तमान फुटको गम्भीर खतरा पैदा गरेका छन् ।

“समाजवादी शिविरलाई सुदृढ बनाउनु र त्यसलाई विकसित गर्नु त परै छ, सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूले त्यसमा फुट पार्ने र त्यसलाई छिन्नभिन्न पार्ने कोशिस गरेका छन् । त्यसरी उनीहरूले महान् समाजवादी शिविरलाई अस्तव्यस्त पारेका छन् ।”
चीनको कम्युनिस्ट पार्टी अगाडि लेख्छ :

“सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूले आफ्नो संशोधनवाद माक्र्सवाद–लेनिनवादका विरुद्ध, आफ्नो ठूलो राष्ट्र अहङ्कारवाद र अन्धराष्ट्रवादलाई सर्वहारा अन्तर्राष्ट्रवादका विरुद्ध तथा आफ्नो सङ्कीर्ण र फुट परस्ततालाई सर्वहारा वर्गीय अन्तर्राष्ट्रिय एकताका विरुद्ध खडा गरेका छन् । त्यसरी विगतका सम्पूर्ण अवसरवादीहरू र साम्राज्यवादीहरू सरह सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरू थुप्रै भाइचारा पार्टीहरू, समाजवादी शिविर र सम्पूर्ण अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा फुट पार्ने तत्वहरू बन्न पुगेका छन् ।

सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूको संशोधनवाद वा फुटपरस्ता विगतका होउन वा हालका अरु कुनै संशोधनवादी वा फुट परस्त तत्वहरूको तुलनामा कैयौँ गुना बढी खतरनाक छन् । सबैलाई अवगत भएकै कुरा हो, यो संशोधनवाद सोभियत सङ्घको कम्युनिस्ट पार्टीमा उब्जिरहेको छ, लेनिनद्वारा स्थापित पार्टीमा उब्जिरहेको र पहिलो समाजवादी देश महान् सोभियत सङ्घमा उब्जिइरहेको छ ।

कैयौँ वर्षसम्म सम्पूर्ण विश्वका माक्र्सवादी–लेनिनवादीहरू र सबै क्रान्तिकारीहरूले सोभियत सङ्घको कम्युनिस्ट पार्टीलाई ज्यादै सम्मान गरेका छन् तथा सोभियत सङ्घलाई विश्वक्रान्तिको आधार र वर्ग सङ्घर्षको आदर्श मानेका छन् भने सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूले ती सबै कुराहरू– लेनिनद्वारा, स्थापित र पहिलो समाजवादी राज्यको प्रतिष्ठा–को फाइदा उठाएर आफ्नो संशोधनवाद वा फुट परस्ततामाथि पर्दा हाल्न खोजे र अहिलेसम्म पनि यी सत्यहरू राम्ररी बुझि नसकेका जनसमुदायलाई धोका दिन खोजे ।

त्यसका साथै दोहलपाटे खेल खेल्न सिपालु ती नेताहरूले “एकता, एकता”को हल्ला गरिरहेका छन् तर वास्तवमा उनीहरू फुट पार्ने प्रयत्नमा लागेका छन् । अस्थायी रुपमा एकहदसम्म उनीहरूको चालबाजीले कतिपय व्यक्तिहरूलाई विचलित पार्दछ । सोभियत सङ्घको कम्युनिस्ट पार्टीमा रहेको परम्परागत विश्वास र यी तथ्यहरूप्रतिको अनभिज्ञताको कारण कतिपय व्यक्तिहरूले सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूको संशोधनवाद र फुट परस्ततालाई अपेक्षाकृत छिटो बुझ्न पाएका छैनन् ।

“सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूका हातमा विश्वव्यापी प्रभाव रहेको र ठूलो समाजवादी देशको राज्यसत्ता रहेको हुनाले उनीहरूको संशोधनवादी वा फुट परस्त कार्यदिशाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व क्रान्तिका सर्वहारावादी कार्यहरूलाई गतकालका संशोधनवादीहरू वा फुट परस्त तत्वहरूको अपेक्षा कैयौँ बढी नोक्सान पु¥यायो ।”

“इतिहासमा जे–जति संशोधनवादी, सङ्कीर्णतावादी र फुट परस्त तत्वहरू देखापरेका छन्, ती मध्ये सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरू सबैभन्दा ठूला हुन भन्न सकिन्छ ।”

“सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूको संशोधनवाद र फुट परस्तताले अन्तर्राष्ट्रियस्तरमा संशोधनवादको बाढी फैलाउन ज्यादै बढी सहयोग पु¥याएका छन् तथा साम्राज्यवाद र सम्पूर्ण देशमा प्रतिक्रियावादीहरूको भरपुर सेवा गरेका छन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छ ।”

सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूको… संशोधनवादी र फुट परस्त सिद्धान्तहरू र नीतिहरूले खाली देशभित्र व्यापक रुपबाट फैलिएका पुँजीवादी शक्तिहरूको मात्र नभएर साम्राज्यवादका हितहरू समेत पुरा गर्दछन् तथा विश्वका जनताको क्रान्तिकारी सङ्घर्षलाई पङ्गु बनाउने र उनीहरूको सङ्घर्षलाई अवरुद्ध पार्ने कामसमेत गर्दछन् ।”६

माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले त्यतिबेला अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिएका संशोधनवाद र फुट परस्तताको अनिष्टकारी धारका विरुद्ध सम्झौताहिन रुपबाट माक्र्स, एङ्गेल्स, लेनिन र स्टालिनले एकताको रक्षाको सम्बन्धमा देखाएको बाटोमा अघि बढेर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अझ बढी एकताबद्ध र सुदृढ बनायो ।

मैले प्रचण्ड–बाबुराम समूहको “नयाँ” कार्यदिशामा समावेश भएका अवधारणाहरूको माथि जुन बुँदागत रुपमा उल्लेख गरेको छु त्यस सम्बन्धमा आफ्नो हालै प्रकाशित पुस्तक ‘क्रान्ति ठीक, विसर्जनवाद बेठीक !” मा विस्तारमा चर्चा गरेकोले यहाँ त्यसबारे चर्चा गर्न चाहन्नँ । सन्दर्भवसः नै तिनीहरूसित सम्बन्धित प्रश्नबारे मात्र चर्चा गर्नेछु ।

प्रचण्ड–बाबुराम समूहको पार्टीको एकतालाई छिन्नभिन्न पारेर पार्टीमा फुट पार्ने कार्यदिशा र गतिविधिले दलाल–नोकरशाही पुँजीवाद, सामन्तवाद, विश्व साम्राज्यवाद, भारतीय एकाधिकार पुँजीवाद तथा संशोधनवादको सेवा गर्दछ र तिनीहरूका आवश्यकताहरू पूरा गर्दछ । पुराना तथा आधुनिक संशोधनवादीहरूको सम्बन्धमा चीनको कम्युनिस्ट पार्टीले सन् १९६४ मा भनेको कुरा लगभग पचास वर्षपछि प्रचण्ड–बाबुराम समूहको सम्बन्धमा पनि जस्ताको तस्तै लागु हुन्छ । जस्तो कि चीनको कम्युनिस्ट पार्टीले भनेको छ :

“सर्वहारा वर्गीय एकतालाई छिन्नभिन्न पारेर फुट परस्तताले पुँजीपति वर्गको सेवा गर्दछ र उसका आवश्यकताहरू पूरा गर्दछ । सर्वहारा वर्गको पंक्तिमा फुट पार्नु पुँजीपति वर्गको नफेरिने नीति हो । र, त्यसो गर्ने उसको दुष्टतापूर्ण तरिका हो– सर्वहारा वर्गको पंक्तिभित्र आफ्ना एजेण्टहरू बनाउनु र बढाउनु । अनि अवसरवादीहरू र संशोधनवादी पुँजीपति वर्गका एजेण्टहरूनै हुन्छन् ।

त्यसकारण पुँजीपति वर्गका विरुद्धको सङ्घर्षमा सर्वहारा वर्गलाई एकतावद्ध बनाउनुको ठीक विपरीत उनीहरूले पुँजीपति वर्गसित सर्वहारा वर्गको सहयोग चाहन्छन् । दोस्रो अन्तर्राष्ट्रिय बर्नस्टिन र काउत्स्कीले जे गरे, आधुनिक संशोधवादीहरूले त्यही गरे । सबै देशका सर्वहारा वर्ग एकतावद्ध भएर साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदलिदिने हुन कि भनेर साम्राज्यवादीहरू भयभीत भएको बेला अन्तर्राष्ट्रिय सर्वहारा वर्गको आन्दोलनमा फुट पार्न तथा सर्वहारा वर्ग र पुँजीपति वर्गका बीचमा सहयोगको कुराको पक्षपोषण गर्नका लागि उनीहरू आएका हुन् ।” ७

हामी चीनको कम्युनिस्ट पार्टीको पुराना र आधुनिक संशोधनवादीहरू सम्बन्धिको यो भनाइलाई एकीकृत नेकपा (माओवादी) भित्रका अवसरवादी र फुटपरस्त तत्वहरूको सम्बन्धमा यसरी प्रस्तुत गर्न सक्तछौँ ः साम्राज्यवादीहरूको सर्वहारा वर्गको पंक्तिभित्र आफ्ना एजेण्टहरू बनाउने र बढाउने तरिका मुताविक तिनीहरूले नेकपा (माओवादी)को पंक्तिभित्र आफ्ना एजेण्टहरू बनाए र हुर्काएर पार्टीमा ‘नेपाली नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा’ एवं ‘ऐतिहासिक जनयुद्धको पहिलो योजना’मा कायम भएको एकवद्धतामा फुट पारे ।

त्यसप्रकारका तत्वहरूले ‘कार्यदिशा’ र ‘योजना’को विश्व साम्राज्यवाद, भारतीय एकाधिकार पँुजीवाद, दलाल–नोकरशाही पुँजीवाद र समन्तवादका विरुद्धको सङ्घर्षमा कायम भएको एकवद्धतालाई अरु बढी मजवूत बनाउनुको ठीक विपरीत तिनीहरूसित सहमेल चाहन्छन् । तिनीहरूको कार्यदिशाको केन्द्रबिन्दु यही सहमेल कायम गर्नुहुन्छ ।

यस सम्बन्धमा पुराना र आधुनिक संशोधनवादीहरूले जे गरे प्रचण्ड–बाबुरामले पनि त्यही गरे । एकीकृत नेकपा (माओवादी) भित्र यो ‘कार्यदिशा’ र ‘योजना’मा कायम भएको एकवद्धता अरु केही वर्ष जारी रहे नेपालमा नयाँ जनवादी क्रान्ति पुरा हुने हो कि भनेर विश्व साम्राज्यवाद, भारतीय एकाधिकार पुँजीवाद, दलाल–नोकरशाही पुँजीवाद, भयभीत भएर पार्टीभित्रको एकतामा फुट पार्न र ‘सहमेल’को सिद्धान्तको पक्षपोषण गराउन आफ्ना इमान्दार ‘सहयोगीहरू’लाई तत्काल एकतालाई तोड्ने गतिविधिहरूलाई अगाडि बढाउन उत्प्रेरित गरे ।

सर्वहारा वर्गको आन्दोलनमा आपूmलाई दुर्ईमा विभाजित गर्ने प्रवृत्ति, अर्थात् सर्वहारा वर्गको आन्दोलनको विकासको प्रक्रियामा अस्तित्वमा आउने विभिन्न चरणहरूमा, हरेक चरणमा कतिपय व्यक्तिहरू रोकिने प्रवृत्तिको कारण हामीले व्यक्तिहरूको कमजोरी वा बदमासीमा होइन तत्कालिन भौतिकवस्तुको उत्पादनमा खोज्नु पर्दछ । अहिले एकीकृत नेकपा(माओवादी)मा पैदा भएको अवसरवाद र फुटबारे पनि यो कुरा त्यत्तिकै सत्य छ । यो स्थितिलाई प्रचण्ड, बाबुराम लगायत अन्य नेता, कार्यकर्ताहरूसित मात्र जोडेर हेर्नु गम्भीर भूल हुनेछ ।

सर्वहारा वर्गको आन्दोलनमा आपूmलाई निश्चित समयको अन्तरालमा दुईमा विभाजित गर्ने प्रवृत्तिको मुख्य कारण वस्तुगत हुन्छ । हाम्रो देशको परिप्रेक्ष्यमा वस्तुगत कारण भन्नाले प्रथम, साम्राज्यवाद । चीनको कम्युनिस्ट पार्टीले भने जस्तो “सर्वहारा वर्गको पंक्तिमा फुट पार्नु पुँजीपति वर्गको नफेरिने नीति हो ।” विश्व साम्राज्यवादले आफ्नो लुटको एउटा हिस्सा मजदूर आन्दोलनभित्र आफ्नो पक्षमा काम गर्ने नेताहरू बनाउन र हुर्काउन खर्च गर्दछ ।

जतिबेलासम्म विश्वमा साम्राज्यवाद अस्तित्वमा रहन्छ त्यतिबेलासम्म सर्वहारा आन्दोलन एउटा निश्चित विन्दुमा विकसित भएपछि परस्पर विरोधी हिस्सामा विभाजित हुने समस्या कायमै रहन्छ । साम्राज्यवादले त्यसो नगरी आफ्नो अस्तित्वलाई निरन्तरता दिन सक्तैन ।

द्वितीय, सानो उत्पादन प्रणाली । हाम्रो जस्ता देशहरूमा सानो उत्पादन प्रणाली र त्यसद्वारा निर्धारीत मानिसहरूका निम्न–पुँजीवादी विचारधारा, राजनीतिको स्थिति अत्यन्त व्यापक र गहन हुन्छ । हाम्रो देश अरु देशहरूको तुलनामा सबभन्दा बढी निम्न पुँजीवादी छ । यहाँ, लेनिनले तत्कालीन रुसको सम्बन्धमा भन्नु भएको जस्तो, “एउटा विशाल निम्न–पुँजीवादी लहरले हरेक चीजहरूलाई व्याप्त पारेको छ, र त्यसले संख्याको दृष्टिबाट मात्र होइन, विचारधारात्मक दृष्टिबाट पनि वर्ग सचेत सर्वहाराहरूलाई प्रभावित पारेको छ, अर्थात् त्यसले मजदूरहरूको निकै ठूलो हिस्सालाई निम्न–पुँजीवादी राजनैतिक दृष्टिकोणबाट दूषित र प्रेरित पारेको छ ।”८

वास्तवमा यही निम्न–पुँजीवादी लहरले प्रचण्ड–बाबुरामको अवसरवादलाई अस्तित्वमा ल्यायो । यही शक्तिशाली निम्न–पुँजीवादी लहरले जनयुद्धको विकासको प्रक्रियामा पहिले कायम भएको एकतावद्धता दुईमा विभाजित भएर पार्टीभित्र दुई परस्पर भागहरू अस्तित्वमा आए । यसैसित जोडिएको अर्को कारण जनयुद्धको कालमा राजनीतिमा अनुभव नभएका लाखौँ जनता जागृत भएर त्यसमा सामेल भएका थिए । तिनीहरूमा अत्यधिक प्रतिशत मानिसहरू सानो उत्पादन प्रणालीसित सम्बन्धित थिए । त्यसले सर्वहारावर्ग र त्यसको राजनीतिक पार्टीको बनोटमा हेरफेर भयो ।

जनयुद्ध सुरु हुनु पूर्व सर्वहारावर्गको वर्ग चेतना र सङ्गठन पनि प्रारम्भिक नै थिए । जनसेनाको बनोटको सम्बन्धमा पनि यही कुरा सत्य थियो । त्यसमा वास्तविक मजदूरहरूको संख्या अत्यन्त कम थियो । निम्न–पुँजीवादी वर्ग स्रोतबाट आएकाहरूको त्यसमा बाहुल्यता थियो । एउटा ठूलो हिस्सा आवारा सर्वहाराहरूको पनि रहेको वास्तविकतालाई हामीले स्वीकार्नु पर्दछ । मजदूरहरूको यिनै निम्न–पुँजीवादी हिस्साबाट बनेको माटोमा प्रचण्ड–बाबुरामको अवसरवाद र फुट परस्तता हुर्केका थिए ।

एकीकृत नेकपा (माओवादी) भित्र कतिपय इमान्दार नेता, कार्यकर्ताहरू पार्टी फुट्नु हुँदैन, पार्टी सधैँ एक भइरहनु पर्दछ भन्ने सोचाइ राख्नुहुन्छ, र उहाँहरू त्यसका लागि हमेसा प्रयत्नशिल रहनु हुन्छ । पार्टीमा फुट आएको अवस्थामा उहाँहरू मध्य कतिपय कामरेडहरू कम्युनिस्ट आन्दोलनबाटै विरक्तिएर बाहिरिने स्थिति पनि आउन सक्तछ । पार्टीभित्रको अन्तरसङ्घर्षलाई हेर्ने यो भावनात्मक एवं अधिभूतवादी दृष्टिकोण हो ।

यसप्रकारको दृष्टिकोणले माक्र्सवाद–लेनिनवादसँग मेल खान्न । हाम्रा इमान्दार कम्युनिस्ट क्रान्तिकारी कमरेडहरूको पार्टीभित्रको एकता सम्बन्धी यस प्रकारको स्थितिको सम्बन्धमा रुसमा सन् १९०४ को वरिपरीमा ‘एकता’ र ‘फुट’को प्रश्नमा लेनिन र प्लेखानोभबीच चलेको विवादको यहाँ संस्मरण गर्नु उपयुक्त हुनेछ ।

रसियाली सामाजिक–जनवादी मजदूर पार्टीको दोस्रो महाधिवेशन (जुलाई ३०, १९०३) पछि पार्टीभित्र मेन्शेविक नेताहरूको अवसरवाद र फुटपरस्त गतिविधिहरू तीव्ररुपमा अगाडि बढ्यो । दोस्रो महाधिवेशनमा लेनिनको पक्षमा रहेका प्लेखानोभले महाधिवेशन पश्चात मेन्शेविकहरूलाई सघाउनु भयो ।

पार्टीभित्रको विवादको केन्द्रविन्दु अन्तरपार्टी सङ्घर्षप्रतिको दृष्टिकाणको प्रश्न थियो । यस सम्बन्धमा लेनिन र प्लेखानोभका अलग–अलग दृष्टिकोणहरूले हाम्रो लागि महत्व राख्छद । यस परिप्रेक्ष्यमा, लेनिनले आफ्नो पुस्तक ‘एक पाइलो अगाडि, दुई पाइला पछाडि’को प्राक्कथनमा लेख्नुभएको छ :

“प्रत्येक दीर्घकालीन, सुदृढ एवं प्रचण्ड सङ्घर्षको प्रवाहमा केही समय पश्चात सामान्यतः प्रमुख तथा आधारभूत विवादास्पद बुँदाहरू देखापर्न थाल्दछन्, जसको समाधानमा आन्दोलनको अन्तिम परिणाम भर पर्दछ र जसको तुलनामा सङ्घर्षका सम्पूर्ण सूक्ष्म एवं सुक्ष्मतर घटनाहरू पनि क्रमशः पृष्ठभूमितिर सारिदै जान्छ ।”९

लेनिनको अन्तरपार्टी सङ्घर्ष सम्बन्धी यस प्रकारको माक्र्सवादी दृष्टिकोणभन्दा मौलिकरुपमा भिन्न दृष्टिकोण प्लेखानोभले अपनाउनु भयो । मैले प्लेखानोभका अन्तरपार्टी सङ्घर्ष सम्बन्धी केही भनाइहरू, जसलाई लेनिनले उहाँको उपर्युक्त पुस्तकमा उद्धृत गर्नु भएको छ, यहाँ उद्धृत गर्दै छु । प्लेखानोभले आफ्नो लेखमा अवसरवादीहरूसितको फुटलाई “कामरेडहरूलाई हान्ने”कुरासित तुलना गर्नु भयो ।

उहाँले यो सम्म भन्नु भयो ः “पार्टीमा फुट हुनुभन्दा त बरु आफ्नै टाउकोमा गोली हान्नु वेश हो ।” उहाँले “राजनीतिमा स्पष्टवादी, अनुचित किसिमले कटु तथा हठी बन्नु ठीक होइन” र “फुटबाट बच्नका लागि कहिलेकाहीँ संशोधनवादी, ढुलमुल र अराजकतावादीहरूलाई छुट दिनु आवश्यक हुन्छ ।” भन्नु भयो ।१०

यसरी प्लेखानोभले कुनै पनि हालतमा अवसरवादीहरूसँग “सम्झौता गर्ने” फैसला गर्नुभयो ।

अन्तरपार्टी सङ्घर्ष र त्यसको समाधान सम्बन्धी उपर्युक्त विचारहरूको आधारमा यो भन्न सकिन्छ कि तत्सम्बन्धमा लेनिनको दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी थियो भने प्लेखानोभको दृष्टिकोण अधिभूतवादी थियो ।

एकीकृत नेकपा (माओवादी)भित्र अन्तरसङ्घर्ष र त्यसको समाधानको रुपमा नेकपा–माओवादीको उदयको परिप्रेक्ष्यमा पनि कतिपय इमान्दार माक्र्सवादी–लेनिनवादीहरूले पनि तत्सम्बन्धमा प्लेखानोभको जस्तो विचार राख्नु भएको पाइन्छ । इतिहासले यस प्रकारको सोचाइको सिद्धान्तहिनता र दिवालिया पटक–पटक पुष्टि गरिसकेको कुरा हो ।

स्टालिनले भने जस्तो “जसले अवसरवादीहरूप्रति सम्झौताको स्थितिमा बल दिन्छ, ऊ आफै अवसरवादको दलदलमा फस्नु स्वाभाविक छ ।”११ अन्तरपार्टी सङ्घर्षमा जसरी भएपनि पार्टीको एकतालाई जोगाउनु पर्दछ, कुनै हालतमा पार्टीलाई फुट्न दिनुहुन्न, फुटको पक्षमा जानु “महाअपराध” हो भनेर अवसरवादीहरूसँग सम्झौता गर्नुको परिणाम के हुन्छ भन्ने अन्य सयौँ÷हजारौँ उदाहरणहरूका अलवा प्लेखानोभलाईनै लिन सक्तछौँ ।

अन्तरपार्टी सङ्घर्षमा फुटको प्रश्न बाहेक अन्य प्रश्नहरूमा बोल्शेविकहरूको पक्षमा रहनु भएका प्लेखानोभ अवसरवादीहरूसितको सम्झौताको स्थितिमा बल दिनुको नै परिणाम थियो कि उहाँ सम्झौताको समर्थन गर्ने आफ्नो अडानमा लामो समय टिकिरहन सक्नु भएन, र चाँडै नै उहाँ पनि अवसरवादको दलदलमा फस्नु भयो ।

त्यसैले, हाम्रा इमान्दार कामरेडहरूले अनिवार्यरुपबाट चाँडै नै अवसरवादको दलदलमा फसेर आफ्नो अन्त्य गर्न इतिहासद्वारा असफल प्रमाणित भइसकेको ‘अवसरवादीहरूसँग सभ्झौता गरेर एकता जोगाउन सकिन्छ’ भन्ने भ्रमबाट तत्काल आपूmलाई मुक्त गरेर तत्सम्बन्धमा माक्र्सवाद–लेनिनवादले देखाएको बाटोमा अगाडि बढ्न जरुरी छ ।

आखिर अन्तरपार्टी सङ्घर्ष र त्यसको हलको सम्बन्धमा माक्र्सवाद–लेनिनवादले देखाएको बाटो भनेको कस्तो बाटो हो ?
यस सम्बन्धमा विभिन्न सन्दर्भमा मैलेमाथि काफी चर्चा गरिसकेको छु । तर यस प्रश्नलाई सम्बोधन गरेर यहाँ भन्न सकिन्छ : पार्टीभित्रको एकता सैद्धान्तिक र राजनीतिक एकताबाट मात्र सम्भव हुन्छ र त्यस प्रकारको सिद्धान्त तथा राजनीतिको आधार माक्र्सवाद–लेनिनवाद हुन्छ ।

सैद्धान्तिक र राजनीतिक एकतालाई उपेक्षा गरेर सङ्गठनात्मक र काममा एकता कायम गर्ने सोचाई पूर्णरुपमा गलत हुन्छ । जस्तो कि आधुनिक संशोधनवादीहरूसँगको महान् वहसको क्रममा अन्तरपार्टी सङ्घर्ष र त्यसको हलको सम्बन्धमा चीनको कम्युनिस्ट पार्टीले भनेको थियो :

“सर्वहारा वर्गको एकताका लागि वर्गीय एकता, क्रान्तिकारी एकता, साझा शत्रुका विरुद्धको एकता तथा साम्यवादको महान् लक्ष्यको लागि एकता आवश्यक हुन्छ । सर्वहारा वर्गको अन्तर्राष्ट्रिय एकताको सैद्धान्तिक र राजनैतिक आधार माक्र्सवाद–लेनिनवाद हो । अन्तर्राष्ट्रिय सर्वहारा वर्ग खाली सैद्धान्तिक र राजनीतिक एकता कायम गरेर मात्र सङ्गठनात्मक रुपबाट ऐक्यवद्ध हुन सक्दछ र कार्यको एकता कायम गनु सक्दछ ।”

“सर्वहारा वर्गको सच्चा क्रान्तिकारी एकता केवल सैद्धान्तिक रुपले अडिग रहेर र माक्र्सवाद–लेनिनवादमा दृढ रहेर मात्र हासिल गर्न सकिन्छ । सिद्धान्त छोडेर र अवसरवादीहरूसँगै दलदलमा फहोर गरिएको एकता सर्वहारा एकता रहन्न ।”

पार्टीभित्र “खुलेआम फुट पारिरहेका अवसरवादीहरू र संशोधनवादीहरूको चुनौती समक्ष माक्र्सवादी–लेनिनवादीहरूले स्वाभाविक रुपमा सैद्धान्तिक प्रश्नमा कुनै सम्झौता गर्नुहुँदैन, बरु फुट परस्तताका विरुद्ध डटेर सङ्घर्ष गर्नु पर्दछ । यो माक्र्स, एङ्गेल्स र लेनिनको अमूल्य निर्देशन हो…।”१२

पुनः एकपटक म हाम्रा इमान्दार कामरेडहरूलाई एकता, सङ्घर्ष र विभाजनसम्म तथा नयाँ आधारमा नयाँ एकताको रुपमा वर्तमान पार्टी विभाजनलाई स्वीकारी नयाँ पार्टीमा आवद्ध भएर अवसरवादको दलदलमा नफस्न अनुरोध गर्दछु ।

पार्टीमा फुटको अवस्था पैदा गरेपछि प्रचण्ड–बाबुराम समूहले त्यसको दोष कमरेड किरण नेतृत्वको क्रान्तिकारी समूह (हालको नेकपा–माओवादी)माथि थोपर्ने प्रयत्न गरिरहेका छन् । त्यसका नेताहरूले नेकपा–माओवादीलाई फुट परस्तता र सङ्कीर्णताको दोषी बताएर त्यसलाई लान्छित गरिरहेका छन् तथा त्यसका विरुद्ध थुप्रै आरोपहरू रचेका छन् ।

तिनीहरूले नेकपा–माओवादी र त्यसका नेताहरूलाई फुट परस्तका आरोप लगाइरहेको परिप्रेक्ष्यमा म यहाँ ‘फुटवाद’ के हो ? त्यस सम्बन्धमा सङ्क्षेपमा चर्चा गर्न चाहन्छु । जस्तो कि आधुनिक संशोधनवादीहरूद्वारा चीनको कम्युनिस्ट पार्टी लगायत अन्य माक्र्सवादी–लेनिनवादी पार्टीहरूलाई लगाइएको ‘फुटपरस्त’को आरोपको जवाफमा चीनको कम्युनिस्ट पार्टीले भनेको थियो :

“त्यसको अर्थ माक्र्सवाद–लेनिनवादबाट फुट हो । माक्र्सवाद–लेनिनवादको विरोध गर्ने, त्यसप्रति विश्वासघात गर्ने तथा सर्वहारा एकतालाई हानी–नोक्सानी पु¥याउने तत्व फुट परस्त हो ।”
“त्यसको अर्थ क्रान्तिकारी सर्वहारा वर्गीय पार्टीबाट फुट हो । संशोधनवादी कार्यदिशामा आइरहेको र क्रान्तिकारी सर्वहारा पार्टीलाई सुधारवादी पुँजीवादी पार्टीमा बदलिदिने जुनसुकै तत्व पनि फुट परस्त हो ।”

“त्यसको अर्थ क्रान्तिकारी सर्वहारा वर्ग र व्यापक श्रमजीवी जनसमुदायबाट फुट हो । सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको क्रान्तिकारी प्रतिवद्धता र उनीहरूका आधारभूत हितहरू विरोधी कार्यक्रम र कार्यदिशालाई अनुसरण गर्ने जुनसुकै तत्व पनि फुट परस्त हो ।”१३

प्रचण्ड–बाबुराम समूह माक्र्सवाद–लेनिनवादबाट फुटको समूह हो । त्यसले सारतः माक्र्सवाद–लेनिनवादको परित्याग गरेर बुर्जुवा व्यवस्थालाई स्वीकार गरी त्यसका साथ (माक्र्सवाद–लेनिनवादका साथ) विश्वासघात गरेर सर्वहारा एकतालाई छिन्नभिन्न पारेको छ । त्यसैले त्यो समूह फुटवादी हो ।

प्रचण्ड–बाबुराम समूह सर्वहारा वर्गीय पार्टीबाट फुटेको समूह हो । त्यो समूहले धेरै पहिलेदेखि संशोधनवादी कार्यदिशा अपनाएर क्रान्तिकारी जनसत्ता, आधार इलाका र जनमुक्ति सेना भएको तथा दशवर्षको महान् जनयुद्ध हाँकेर रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको, नेपाल र विश्व सर्वहारा वर्ग लगायत सम्पूर्ण उत्पीडित राष्ट्र र जनताको आशाको केन्द्र बनेको, एक्काइसौँ शताब्दीको सुरुको दशकमा विश्वक्रान्तिको अग्रणी बनेको क्रान्तिकारी नेकपा(माओवादी) पार्टीलाई सुधारवादी पुँजीवादी पार्टीमा बदलिदिएको छ । त्यसैले त्यो समूह फुटवादी हो ।

प्रचण्ड–बाबुराम समूह क्रान्तिकारी सर्वहारा वर्ग र व्यापक श्रमजीवी जनसमुदायबाट अलगिएर दलाल–नोकरशाही पुँजीवादी वर्गहरूसित मिलेको समूह हो । त्यसैले त्यो फुटवादी हो ।

प्रचण्ड–बाबुराम समूह ‘नेपाली नयाँ जनवादी क्रान्तिका राजनीतिक तथा फौजी कार्यदिशा’, ‘ऐतिहासिक जनयुद्धको पहिलो योजना’मा गरिएका प्रतिवद्धताहरूको परित्याग गरेर सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको क्रान्तिकारी प्रतिवद्धता र उनीहरूको आधारभूत हितहरू तथा देशको सार्वभौमसत्ता विरोधी कार्यक्रम र कार्यदिशालाई धेरै पहिलेदेखि अनुशरण गर्दै आएको समूह हो । त्यसैले त्यो समूह फुटवादी हो ।
प्रचण्ड–बाबुराम समूह किरणपक्षलाई “फुट परस्त” बताउँदा अघि सारेको अर्को तर्क “संस्थापन”पक्षको तर्क हो । उहाँहरूले किरणपक्षलाई संस्थापनपक्षको विपक्षमा रहेकाले त्यो पक्ष फुट परस्त हो भनेर एकता र फुट सम्बन्धी आफ्नो सिद्धान्तहिनता र दिवालिया सावित गरिरहनु भएको छ । माक्र्सवाद–लेनिनवाद अनुसार को संस्थापन पक्ष हो र को त्यसबाट फुटेको पक्ष हो भन्ने कुरा सिद्धान्त र राजनीतिक कार्यक्रममा एकतावद्ध हुँदाको समयमा मुख्य नेतृत्वमा भएको व्यक्ति कुन पक्षमा छ भन्ने कुराले निर्धारित गर्दैन ।

त्यो कुरा संस्थापनको समयमा तय भएको सिद्धान्त र राजनीतिक कार्यक्रमलाई अगाडि बढाउन को प्रतिवद्ध छ र को त्यस प्रतिवद्धताबाट फुटेको छ, त्यसले निर्धारित गर्दछ । माक्र्सवाद–लेनिनवादको यस कसीमा जाँच्दा वास्तविक संस्थापनपक्ष संस्थापनको समयमा तय भएको सिद्धान्त र राजनीतिप्रति प्रतिवद्ध किरणपक्ष हुन्छ न कि संस्थापनको समयमा तय भएको सिद्धान्त र राजनीतिबाट धेरै पहिले फुटेर गएको प्रचण्ड–बाबुराम समूह । त्यसैले त्यो समूह फुटवादी हो । किरणपक्ष संस्थापनपक्ष हो ।

प्रचण्ड–बाबुराम समूह सर्वहारा अन्तर्राष्ट्रवादप्रति गद्दारी गरेर विश्व साम्राज्यवाद, भारतीय एकाधिकार पुँजीवाद र चीनियाँलगायत विश्वभरिका संशोधनवादीहरूसँग सम्बन्ध सुधारको कार्यदिशा लिएर अगाडि बढेको समूह हो । त्यसैले त्यो फुटवादी हो ।
प्रचण्ड–बाबुराम समूहले ‘क्रान्तिकारी विचार समूह’को माक्र्सवादी–लेनिनवादी कार्यदिशाको रक्षाको निम्ति गरेको प्रयत्न त्यसका लागि अलग पार्टी (नेकपा–माओवादी) निर्माणको हदसम्मको प्रयत्नलाई फुटपरस्तता बताइरहेछ ।

त्यस समूहका नेताहरूले कामरेड किरण पक्षले पार्टी एकता र दशवर्षको महान् जनयुद्धका उपलब्धिहरूलाई स्थापित गर्ने कुराको जरो काट्न, शान्ति र संविधानलाई भाँड्न लागेको भनेर हल्ला फिँजाइरहेका छन् । उनीहरूले किरणपक्षलाई “वाम सङ्कीर्णतावादी”, फुट परस्त बताएर कार्यकर्ता र जनतामाझ भ्रम पैदागर्ने कोशिस गरिरहेका छन् । यो उनीहरूको एउटा हल्ला मात्र हो । आखिर प्रचण्ड–बाबुराम समूह र त्यसका नेताहरू किन यसरी “एकता”को लागि हल्ला मच्चाउन यसरी सक्रिय छन् ? किन तिनीहरूले पार्टी एकताप्रति यसरी जोडतोडकासाथ “निष्ठा” प्रकट गरिरहेछन् ? यी प्रश्नहरूको जवाफ एङ्गेल्सको यो भनाइले राम्ररी दिनेछ :

“कसैले पनि ‘एकता’को लागि हुने हल्लाबाट आपूmलाई भ्रममा पार्नु हुँदैन । जसले प्रायः ती शब्दलाई आफ्नो ओठमा ल्याइरहन्छ, सबैभन्दा बढी तिनीहरू नै फुटपरस्त हुन्छन् । …सबैभन्दा बढी सङ्कीर्णतावादी र सबैभन्दा झगडालू र धोकेबाजहरूले नै प्रायः एकताको लागि सबैभन्दा बढी जोड दिन्छन् ।”१४

फेडरिख एङ्गेल्सले १४० वर्ष पहिले बकुनिनहरू र म्युलवर्गर आदिको सम्बन्धमा भनेको कुरा अहिले प्रचण्ड–बाबुराम सम्बन्धमा पनि जस्ताको तस्तै लागु हुन्छ ।

एकीकृत नेकपा(माओवादी) भित्र लामो समयदेखि चल्दै आएका अन्तरपार्टी सङ्घर्ष जुन रुपमा प्रचण्ड–बाबुराम समूहले पद, प्रतिष्ठा र नेतृत्व प्राप्तिका लागि चलेको सङ्घर्षको रुपमा प्रस्तुत गरेको छ त्यो पूर्णतः गलत छ । वास्तवमा त्यो माक्र्सवाद–लेनिनवाद र पार्टीले जनयुद्धको सुरुको समयमा नेपाल र विश्वका सर्वहारा एवं उत्पीडित जनगणसँग गरेको प्रतिवद्धतालाई सुरक्षित गर्ने र त्यसमा फुट पार्नेहरूबीचको सङ्घर्ष हो ।

सारतः त्यो माक्र्सवाद–लेनिनवाद र अवसरवाद–संशोधनवादबीचको सङ्घर्ष हो, त्यो माक्र्सवाद र जनताका सामु विगतमा गरिएका प्रतिवद्धताहरूप्रति बफादार रहने र तिनीहरूकासाथ गद्दारी गर्नेहरूबीचको सङ्घर्ष हो । एकीकृत नेकपा(माओवादी)मा प्रचण्ड–बाबुराम समूहको हालिमुहाली भएकोले पार्टीमा विभाजन अनिवार्य बन्न गयो । त्यसैले अन्तरसङ्घर्षको एउटा लामो प्रक्रियाबाट गुज्रिएपछि पार्टी विभाजित भयो ।

हामीले यस विभाजनलाई अपवादरहित रुपबाट अवसरवाद–संशोधनवादद्वारा माक्र्सवाद–लेनिनवाद र विगतमा जनतासामु पार्टीले गरेका प्रतिवद्धताहरूको परित्याग र यसप्रति गद्दारीको स्वाभाविक परिणामको रुपमा लिनु पर्दछ । पार्टीभित्र प्रचण्ड–बाबुरामको अवसरवादी धाराका विरुद्ध निर्मम सङ्घर्ष, विभाजनको हदसम्म चलाउनु पर्ने आवश्यकता थियो ।

किनभने, पुँजीपति वर्गको घूस र समर्थन प्राप्त यसप्रकारका अवसरवादी धारालाई प्रहार नगरिदासम्म, अर्थात त्यसलाई पार्टीबाट ननिकालिदासम्म त्यसको अन्त्य हुने छैन । त्यसैले, पार्टीमा वर्तमानमा आएको विभाजनको लागि प्रचण्ड–बाबुराम समूहको अवसरवाद, जसले नेपाली जनताको जनयुद्धप्रतिको प्रतिवद्धतालाई अत्यन्त निर्लज्जतापूर्वक असफल बनायो, जिम्मेवार छ न कि कामरेड किरण पक्षेको नेपाली जनताको जनयुद्धप्रतिको प्रतिवद्धता अनुसार कार्यमा एकरुपता कायम गर्ने गतिविधिहरू ।

प्रचण्ड–बाबुराम समूहले देशभित्र दलाल र नोकरशाही पुँजीवादको मात्र नभएर विश्व साम्राज्यवाद एवं भारतीय एकाधिकार पँुजीवादको हितहरू समेत पूरा गर्दछ । यसकै परिणाम हो कि यस समूह र त्यसका मुख्य नेताहरूले साम्राज्यवाद, भारतीय विस्तारवाद र तिनीहरूका पाल्तु कुकुरहरूबाट हार्दिक प्रशंसा र पूर्ण समर्थन पाइरहेछन् ।

विश्व साम्राज्यवादीहरू र भारतीय विस्तारवादी शासकहरूले माक्र्सवाद–लेनिनवाद दशवर्षको महान् जनयुद्ध र त्यसले सिर्जना गरेका क्रान्तिकारी जनसत्ताहरू, आधार इलाकाहरू, जनसेना, खासगरेर देशव्यापी रुपमा अस्तित्वमान द्वैध सत्ता (पुरानो प्रतिक्रियावादी सत्ताको समानान्तरमा अस्तित्वमा क्रान्तिकारी जनवादी सत्ता)को साथ गद्दारी गरेको र तिनीहरूको विघटन गरेर पार्टीमा फुट पार्ने गतिविधिहरू अगाडि बढाएकोमा प्रचण्ड–बाबुरामको विशेषरुपमा प्रशंसा गरेका छन् ।

विश्व साम्राज्यवाद र भारतका विस्तारवादी शासकहरूले उनीहरूलाई सफलताको मार्गमा तीब्ररुपमा अघि बढिरहेको नेपाली जनक्रान्तिको विनाशको लागि धन्यवाद दिइरहेका छन् । वास्तवमा, नेपाल र पूरै विश्वका क्रान्तिका दुश्मनहरूले उनीहरूको उत्साहपूर्वक समर्थन गरिरहेका छन् । यस परिप्रेक्ष्यमा, मिखाइल गोर्बाचोभले जस्तै प्रचण्ड–बाबुरामले, उनीहरूलाई साम्राज्यवादी स्वामीहरूले दिएको मिसन पुरा गरेपछि, नोबेल शान्ति पुरस्कार पाए भने त्यसमा नेपाल र विश्वका सर्वहाराहरू एवं उत्पीडित राष्ट्र र जनताले आश्चर्यमान्नु पर्दैन । त्यो साम्राज्यवादीहरूद्वारा गरिएको उनीहरूको सही मूल्याङ्कन र उनीहरूप्रति गरिएको न्याय हुनेछ ।

प्रचण्ड–बाबुराम समूहले कामरेड किरणपक्ष फुटवादी हो भनेर सिद्ध गर्न टेकेको एउटा ‘मजवूत’ ‘वैशाखी’ “बहुमतको निर्णय उल्लङ्घन गरेको” भन्ने हो । तिनीहरूले किरणपक्षले बहुमतको निर्णय र इच्छालाई उल्लङ्घन गरेर पार्टी अनुशासन भङ्ग गरे भनेर हल्ला फिँजाइरहेछन् । यस सम्बन्धमा म तीनवटा कुराहरूतर्फ ध्यान आकर्षित गर्न चाहन्छु – प्रथमः, प्रचण्ड–बाबुराम समूहको ‘बहुमत’को प्रकृति । यस समूहले जुन ‘बहुमत’को कुरा गरिरहेको छ त्यो माक्र्सवादी–लेनिनवादी आधारमाथि प्राप्त बहुमत होइन ।

त्यो उनीहरूको माक्र्सवाद–लेनिनवादका साथ गद्दारी गर्ने, ‘नेपाली नयाँ जनवादी क्रान्तिको राजनैतिक तथा फौजी कार्यदिशा’ एवं ‘ऐतिहासिक जनयुद्धको पहिलो योजना’मा नेपाली जनता सामु गरिएका प्रतिवद्धताहरूलाई तिलाञ्जली दिने भावी–योजनाद्वारा विभिन्न प्रकारका अवसरवादी पार्टी र तत्वहरूसित एकता गरेर प्राप्त गरेको ‘बहुमत’ थियो । त्यो उनीहरूद्वारा पार्टीभित्र क्रान्तिकारीहरू र पार्टीको क्रान्तिकारी लाइन अल्पमतमा पार्ने योजना अन्तर्गत एकपछि अर्को षड्यन्त्र रचेर जसरी तसरी जुटाइएको “बहुमत” थियो ।

त्यसैले त्यो सच्चा (न्भलगष्लभ) माक्र्सवादी–लेनिनवादी बहुमत थिएन । त्यस्तो भूmठ र फरेवमाथि आधारित क्रान्तिकारी सिद्धान्त र राजनीति एवं विगतका क्रान्तिकारी प्रतिवद्धताहरूलाई तिलाञ्जली दिने “बहुमत”को निर्णयलाई क्रान्तिकारीहरूले सिधै अस्वीकार गर्नु पर्दछ ।

द्वितीय, प्रचण्ड–बाबुराम समूहले जुन बहुमतको दावी गरिरहेका छ त्यो नै गलत छ । को बहुमत हो र को अल्पमत हो भन्ने कुरा सङ्ख्याले निर्धारित गर्दैन । त्यो कुरा आम जनसमुदायको पक्षपोषण कसले गर्दछ ? तिनीहरूका आधारभूत हितहरूको कसले प्रतिनिधित्व गर्दछ ? उनीहरूको क्रान्तिकारी–प्रतिबद्धतालाई कसले प्रतिविम्वित गर्दछ ? भन्ने कुराले निर्धारित गर्दछ ।

यस दृष्टिबाट सच्चा बहुमतपक्ष प्रचण्ड–बाबुराम समूह होइन किरणपक्ष हो, सच्चा बहुमत जनताका आधारभूत हितहरूको प्रतिनिधित्व गर्ने किरणपक्षसित छ, ती हितहरूसित गद्दारी गरि सकेका मुठ्ठीभर नव–संशोधनवादीहरूसँगको होइन ।

तृतीय, माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरू बहुमत र अल्पमतद्वारा सही र गलत छुट्याउने प्रश्न होइन । जस्तो कि सोभियत सङ्घको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सूचनापत्रको जवाफमा १० नोभेम्वर १९६० मा चीनको कम्युनिस्ट पार्टीले भनेको थियो ः
“…जहाँसम्म माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरूको सम्बन्ध हुन्छ, त्यहाँ कुन वास्तवमा सही हो र कुन गलत भन्ने प्रत्येक विषयमा बहुमत कसको पक्षमा भन्ने आधारमा हल गर्न सकिन्न । अन्ततः सत्य सत्य नै हुन्छ । गलत कुरालाई अस्थायी बहुमतको आधारमा सत्यमा बदल्न सकिन्न र, न त सत्य अस्थायी रुपमा अल्पमत हुनुको कारण गलत कुरामा बदलिन सक्ने छ ।”१५

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र स्वयं नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा ‘अल्पमत’लाई दबाउन प्राविधिक रुपबाट बहुमत भएको फाइदा लिने गरेका थुप्रै उदाहरणहरू छन् । सच्चा माक्र्सवादी–लेनिनवादीहरूले हमेसा त्यसप्रकारको बहुमतको दास हुने कुरालाई अस्वीकार गर्दै आएका छन् । यस सम्बन्धमा सन् १९१६ मा जर्मन–सामाजिक जनवादी पार्टीको आन्तरिक परिस्थितिको सम्बन्धमा लेनिनले भन्नुभएको यो भनाइले ठूलो महत्व राख्दछ :

“दिन दिनैका तथ्यहरूले देखाउँछ कि तिनीहरु प्रष्टरुपमा फुट देखि भयभित छन्, फ्रान्समा प्रेसम्यान र लाङ्गेको, जर्मनीमा काउत्स्की र लेडबाउरको “गतिविधि” अनुत्पादक रुपबाट उपेक्षित छ ! र प्रष्टरुपबाट जर्मनीमा कार्ल लिब्नेख्त र अट्टो रूह फुटबाट भयभित छैनन् । तिनीहरूले फुट आवश्यक छ भनेर खुल्लारुपमा घोषणा गरे र त्यसो गर्न तिनीहरू हिच्किचाएनन् ।

संख्यामा कमीको बावजुद तिनीहरूको गतिविधि सर्वहाराको निम्ति ठूलो महत्वको छ । लिब्नेख्त र रूह १०८ को विरुद्ध खालि २ मात्र छन् । तर ती दुई जनाले दशौँ लाख शोषित–पीडित जनसमुदाय, जनसङ्ख्याको ज्यादै ठूलो भाग, मानव जातिको भविष्य तथा दिन बित्दै जाँदा विकसित र परिपक्व हुँदै गइरहेको क्रान्तिको प्रतिनिधित्व गर्दछन् भने अर्कोतिर मजदूर वर्ग अन्तरगत रहेका १०८ जना पुँजीपति वर्गका मुठ्ठीभर भरौटेहरूले दासत्वको भावनाको प्रतिनिधित्व गर्दछन् ।”१६

म प्रचण्ड–बाबुराम समूहलाई “बहुमत” सम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोणलाई ठीकसित बुझ्न लेनिनले सन् १९१६ मा फ्रेन्च मध्यमार्गी बोरिस सौभराइनलाई लेखेको खुलापत्रको राम्ररी अध्ययन गर्न आग्रह गर्दछु । निश्चयनै पनि त्यसको अध्ययनबाट उहाँहरूले यो कुरा राम्ररी बुझ्नु हुनेछ कि उहाँहरू अहिले जति पानीमा हुनहुन्छ त्यसमा उहाँहरू न त पौडी खेलेर पारी पुग्ननै सक्नुहुनेछ न राम्ररी हिँडेर नै पारी पुग्न सक्नु हुनेछ ।

एकीकृत नेकपा (माओवादी) भित्रको हालैको विभाजन र नेकपा–माओवादीको उदयलाई “जहाँ संशोधनवादीहरू छन्, त्यहाँ उनीहरूसित सङ्घर्ष गर्ने माक्र्सवादी–लेनिनवादीहरू पनि छन्, अनि जहाँ पार्टीसित माक्र्सवादी–लेनिनवादीहरूको बहिस्कार र अरु फुटपरस्त तरिकाहरू देख्न पाइन्छ, त्यहाँ असाधारण माक्र्सवादी–लेनिनवादीहरू र शक्तिशाली क्रान्तिकारी पार्टीहरू पनि अपरिहार्य रुपले उत्पन्न हुन्छन् ।” भन्ने कुराको नै पुनर्पुष्टि मात्र हो भन्ने रुपमा लिन म सबैलाई आग्रह गर्दछु ।

वास्तवमा पार्टीभित्र “संशोधनवादीहरूले स्वयं आफ्ना विपरीत तत्वहरूलाई जन्म दिइरहेका” हुन्छन् । एकीकृत नेकपा (माओवादी)भित्र लामो समयदेखि चल्दै आएको अन्तरपार्टी सङ्घर्षमा प्रचण्ड–बाबुरामको संशोधनवादले जन्म दिएको विपरीत तत्व अरु कोही नभएर किरणपक्ष हो, र यस विपरीत तत्वद्वारा प्रचण्ड–बाबुरामको संधोनवाद आधुनिक संशोधनवाद जस्तै गरेर “चिहानमा पुरिनेछ । यो अपरिहार्य नियम हो ।”१७

अन्तमा, लेनिनको अर्को एउटा भनाइ उदृत गर्दै लेख टुंग्याउँछु : ‘जब प्रतिक्रियावादी तत्वहरुका विरुद्ध अग्रगामी तत्वहरुले विद्रोह गर्दछन्, त्यो अति राम्रो कुरा हो । जब क्रान्तिकारी सेनाले अवसरवादी खेमाका विरुद्ध विद्रोह गर्दछ्, त्यो राम्रो कुरा हुन्छ । जब अवसरवादी खेमाले क्रान्तिकारी खेमाको विरुद्ध विद्रोह गर्दछ, त्यो नराम्रो कुरा हुन्छ ।’ १८

प्रतिक्रिया