कोभिड १९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा

कोभिड १९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असोज २०७७
  • 3.5K
    Shares

विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ। तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन्।

मेचीनगर नगरपालिकाको वडा नं. १,२,३,४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन्। विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे। यसपाली कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन्।

चिया, मसला र औषधीको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ। सुगन्धित र स्वादिष्ट हुने भएकोले खानेकुरामा पकाएर समेत यसको उपभोग हुने गरेको छ।

मेचीनगर–४ आमडाँगीमा १५ विगाहा निजी जग्गामा चियाखेती गर्दै आएका व्यावसायिक किसान रबि नेपालले चियाको बोटलाई छायाँ दिन पाँच हजारभन्दा बढी तेजपत्ताको बोट हुर्काएका छन्।

बाहुनडाँगीमा एक सयदेखि १० हजार बोटसम्म तेजपत्ता हुर्काएका किसानको सङ्ख्या एक हजारसम्म हुनसक्ने उनी बताउँछन्। तर कति किसानले यसको खेती गरेका छन् र यसबाट के कस्तो लाभ भइरहेको छ भन्ने बारेमा अहिलेसम्म सरकारी तहबाट खोज भएको छैन।

बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता वर्षेनी उत्पादन हुने देखिन्छ। बजारिकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गइरहेको र कतिपयले बाख्रालाई घाँस खुवाउने गरेको पाइएको छ। विसं २०६७ देखि तेजपत्ता खेतीमा लागेका नेपाल बन्धु कृषि फर्मका सञ्चालक रबि नेपाल आफूले अलिकति भए पनि प्रशोधन र ब्रान्डिङ गरेर प्रदेश नं। १ को अधिकांश बजारमा तेजपत्ताको विक्री गर्दै आएको बताउँछन्।

‘‘मैले घरेलु प्याकेजिङ उद्योग चलाएर बेच्दै आएको छु,’’ उनी भन्छन्, ‘‘अधिकांश किसानले त्यसो गर्न सक्नुहुन्न, उहाँहरुको तेजपत्ता नबिकेर बाख्रालाई घाँसको रुपमा खुवाइरहनु परेको दुःखलाग्दो अवस्था छ।’’ दशैँ, तिहार जस्ता चाडबाडका बेला विगतमा तेजपत्ताको माग ह्वात्तै बढ्थ्यो। यसपाली कोभिड–१९ को महामारीका कारण बजार सुस्ताएको हुँदा विगतको जस्तो भारतीय बिचौलियाहरु काँचो तेजपत्ता किन्न घरघरै नआएको स्थानीय किसानहरु बताउँछन्।

किन्ने भारतीय व्यापारी नआएपछि हुर्किएको तेजपत्ता कि बोटमै खेर जान्छ, कि त बाख्रालाई घाँसको रुपमा खुवाउन बाध्य छन् किसान।

प्रतिक्रिया