पोखरा, ६ भदौ २०८३।
कास्कीमा परेको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो जाँदा निर्माणाधीन जलविद्युत आयोजनाको स्काभेटरमा क्षति पुग्नुका साथै सिँचाइ कुलो र खानेपानीको पाइपमा समेत क्षति भएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार माछापुच्छ्रे गाउँपालिका–१, करुवा बतासे डाँडास्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनामा सुरुङ खन्ने क्रममा माथिबाट पहिरो खसेको थियो। पहिरोले आयोजनामा प्रयोग गरिएको नम्बर आउन बाँकी रहेको नयाँ स्काभेटरमा क्षति पुगेको छ।
यसैगरी, माछापुच्छ्रे गाउँपालिका–२, चौतारोपाखास्थित पुरनचौर–भुजुङखोला सिँचाइ कुलोमा समेत पहिरो खसेर करिब तीन सय मिटर भागमा क्षति पुगेको छ। अविरल वर्षाका कारण रातिको समयमा माथिबाट पहिरो खसेपछि कुलो क्षतिग्रस्त भएको हो। कुलोमा क्षति पुगेपछि पुरनचौर र भुजुङखोलाका धान खेतमा सिँचाइका लागि पानीको समस्या भएको प्रहरीले जनाएको छ।
त्यस्तै, पोखरा महानगरपालिका–१६, हरिपाउस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी योजनामा पनि पहिरोले क्षति पुर्याएको छ। पहिरोका कारण ६३ मिलिमिटर व्यासको करिब दुईसय ५० मिटर खानेपानी पाइपमा क्षति पुगेको प्रहरीले जनाएको छ।