पोखरा, ६ भदौ २०८३ ।
पोखराको सेती नदीको भिरबाट करिब २५/३० मिटर तल खसेर अड्किएका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।
शुक्रबार बिहान करीब ६ बजे पोखरा महानगरपालिका–९, शान्तिवन रामघाटस्थित सेती नदीको भिरबाट खसेर भीरमा अड्किएका युवक रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ घर भई हाल पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा बस्दै आएका २८ वर्षीय अनिल परियारलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , सेती नदीको भिरको खोंचमा युवा अड्किएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र सीआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। कठिन तथा जोखिमपूर्ण भौगोलिक अवस्थाका बीच प्रहरीले उद्धार अभियान सञ्चालन गरी भिरबाट करिब २५/३० मिटर तल अड्किएका युवकलाई सकुशल उद्धार गरेको हो।
उद्धार गरिएका परियारलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाइएकोमा उपचारपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।