काठमाण्डौ, २३ जेठ २०८३।
कर छलीको आशंकामा नियन्त्रणमा लिइएका बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन सम्बन्धी प्रकरणमा अर्थ मन्त्रालयले रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित नौकर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभाग तानेको छ।
अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाका अनुसार भन्सार यार्डमा सवारीसाधन नै नआइ चीनतर्फकै भूभागबाट जाँचपास गरिएको भन्ने सूचनापछि यो निर्णय गरिएको हो। घटनाबारे अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।
यसैबीच, सशस्त्र प्रहरीले राजस्व छलीको आशंकामा देशका विभिन्न स्थानबाट हालसम्म ७७९ वटा बिवाइडी गाडी नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत छानबिनका लागि सरकारले विशेष समिति गठन गरेको छ भने समितिले स्थलगत अध्ययन सुरु गरिसकेको जनाएको छ। अर्थ मन्त्रालयले अनुसन्धानबाट दोषी ठहरिने जोकोहीमाथि कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ।