जुम्ला — चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बिहीबार साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले पैदल हिँडिरहेका चन्दननाथ नगरपालिका–७ का अन्दाजी ४२ वर्षीय हेमबहादुर महतलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका महतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएकोमा चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन्। उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, जुम्लाको नियन्त्रणमा रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।