पोखराको हेम्जामा १४ औं राष्ट्रिय आलु महोत्सवको अन्तिम तयारी

पोखराको हेम्जामा १४ औं राष्ट्रिय आलु महोत्सवको अन्तिम तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 2.7K
    Shares

पोखरा , २४ चैत २०८२।

पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा १४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

विष्णुपादुका क्लवले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म उक्त महोत्सब आयोजना गर्न लागेको हो।

चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म संचालन हुने उक्त महोत्सबमा प्रतिकेजी ३५ रुपियाँमा आलुको कारोवार हुने आयोजक पक्षले जानकारी दिएको छ ।

मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोक निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।

त्यस्तै उनले कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि गरिने उल्लेख गरे। पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले पोखरालाई विश्व वजारमा चिनाएको धारणा राख्दै महानगर कृषकलाई प्रोत्साहन गर्ने पक्षमा रहेको स्पष्ट पारे ।

कृषि प्राविधिक चन्द्राकान्त तिमिल्सीनाले हेमजाको आलु स्वस्थकर हुने उल्लेख गर्दै आलु तरकारीको राजा भएको भनाई राखे ।
सदाझै यसपटक पनि महोत्सवमा “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” नारालाई अगाडि सारिएको छ । महोत्सव मार्फत हेमजालाई कृषि क्षेत्रका रुपमा परिचित गराउने, हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पु¥याउने, कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउँदै हेमजालाई कृषि राजधानीको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।

त्यस्तै आयोजकले क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन एवम् बिक्री वितरण केन्द्र स्थापना गर्ने, बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्ने उद्देश्य पनि लिएको छ । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिदै आएको छ ।

यस खेतीमा त्यहाँका करिव २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् । जसको प्रति रोपनी औसत उत्पादन लागत रु. १८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।

प्रतिक्रिया