पोखरा, ५ भदौ २०८३ ।
प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक तथा निजी भ्रमणका क्रममा कास्कीको पर्यटकीय गाउँ अस्ताम पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्। तर प्रधानमन्त्रीको निजी भ्रमण र कडा सुरक्षा व्यवस्थाका कारण स्थानीयले आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाएका छैनन्।
मुस्ताङ जाने क्रममा प्रधानमन्त्री शाह पोखरानजिकैको माछापुच्छ्रे गाउँपालिका–अस्ताम डाँडामा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्टमा परिवारसहित बसेका हुन्। उनको टोलीमा मन्त्री तथा सचिवालयका सदस्यहरू पनि रहेको जनाइएको छ। प्रधानमन्त्री शुक्रबार अस्ताम पुगेका हुन् भने शनिबार बिहान मुस्ताङतर्फ जाने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्री आउने जानकारी स्थानीयवासीलाई शुक्रबार बिहानसम्म थिएन। अघिल्लो दिनदेखि गाउँमा सुरक्षाकर्मीको आउजाउ बढेपछि मात्र प्रधानमन्त्री शाह निजी भ्रमणमा आउन लागेको स्थानीयले थाहा पाएका थिए। निजी भ्रमण भएकाले जिल्लास्थित सुरक्षा निकाय र स्थानीय प्रशासनलाई समेत औपचारिक जानकारी ढिलो प्राप्त भएको बताइएको छ।
प्रधानमन्त्री गाउँमा आएपछि स्थानीयवासीले आफ्ना पुराना समस्या समाधानका लागि पहल गरिदिने अपेक्षा गरेका छन्। अस्तामको प्रमुख समस्या खानेपानी रहेको स्थानीयको भनाइ छ। करिब १० किलोमिटर टाढा धम्पुसबाट ल्याइएको खानेपानी आयोजनाको पाइपलाइनमा समस्या आएपछि माथिल्लो अस्ताम क्षेत्रमा पर्याप्त पानी पुग्न सकेको छैन।
स्थानीय ६० वर्षीया राधा अधिकारीका अनुसार बर्खायाममा आकाशे पानी संकलन गर्ने र पुर्खौंदेखि प्रयोग हुँदै आएको ठूलीकुवाको पानीबाट दैनिक आवश्यकता धान्नुपरेको छ। ‘सरकारले घरघरमा धारा जोडिदिएको छ तर पानी आउँदैन,’ उनले भनिन्, ‘अहिले पनि कुवाकै पानी पिउनुपर्छ।’
खानेपानीको दीर्घकालीन समाधानका लागि खानेपानी विभागले करिब १५ किलोमिटर टाढाको कोलेलीबाट पानी ल्याउने योजना अघि बढाएको छ। त्यसका लागि करिब २० करोड रुपैयाँ लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी खानेपानी मन्त्रालयमा बुझाइएको स्थानीयले बताएका छन्।
स्थानीय नन्दलाल अधिकारीले प्रधानमन्त्रीसँग भेट्ने अवसर पाए उक्त डीपीआर कार्यान्वयनका लागि पहल गर्न आग्रह गर्ने बताए। उनका अनुसार खानेपानी आयोजनाको काम अघि बढे गाउँको पुरानो समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा छ।
खानेपानीसँगै सडक र पर्यटन पूर्वाधार पनि अस्तामका प्रमुख समस्या हुन्। अस्ताम हुँदै मर्दी हिमालतर्फ जाने पुरानो पदमार्ग जथाभावी मोटरबाटो खनिएका कारण बिग्रिएको स्थानीयको गुनासो छ। गाउँमा व्यवस्थित सडक नहुँदा स्थानीय तथा पर्यटक दुवैलाई समस्या हुने गरेको उनीहरू बताउँछन्।
स्थानीय रामप्रसाद अधिकारीका अनुसार अस्ताममा व्यवस्थित सडक निर्माणसँगै पदयात्रीका लागि इको ट्रेल विकास गर्न सके पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्नेछ।
अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको अस्ताम पछिल्लो समय कृषि र पर्यटन दुवै क्षेत्रमा अघि बढिरहेको गाउँ हो। यहाँ होटल, रिसोर्ट तथा होमस्टे सञ्चालनमा छन्। पर्यटन बढेसँगै स्थानीयस्तरमा उत्पादित कृषि उपज गाउँमै खपत हुने अवसरसमेत बढेको स्थानीय बताउँछन्।
प्रधानमन्त्री शाह बसेको रिसोर्टभन्दा करिब ३ सय मिटर वरैदेखि सुरक्षा जाँच कडा पारिएको छ। सुरक्षा व्यवस्थाका कारण स्थानीयलाई रिसोर्ट आसपास प्रवेश गर्न रोक लगाइएको छ। त्यसैले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर गाउँका समस्या राख्ने स्थानीयको चाहना तत्काल पूरा हुने सम्भावना न्यून देखिएको छ।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्रीको भ्रमण निजी भएको र कुनै औपचारिक कार्यक्रम नरहेको बताइन्। उनका अनुसार सुरक्षा तयारी भने चुस्त राखिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पनि प्रधानमन्त्री शाहको भ्रमण नितान्त पारिवारिक रहेको र अन्य कुनै औपचारिक कार्यक्रम नरहेको स्पष्ट पारे। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौंबाट स्थलमार्ग हुँदै कास्की पुगेका हुन्।
स्थानीयवासीले भने प्रधानमन्त्रीको आगमनलाई गाउँका वर्षौंदेखिका समस्या समाधानका लागि अवसरका रूपमा लिएका छन्। उनीहरू खानेपानी, सडक र पर्यटन पूर्वाधारसम्बन्धी समस्या प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष राख्न पाउने आशामा छन्। एआईले तयार पारेको चित्र