पोखरा , १७ बैशाख २०८३।`
काठमाण्डौको कालिकास्थानस्थित सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक वीरगञ्ज–११ का ५५ वर्षीय नविनकुमार अग्रवाल बीरगन्जमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नाम तथा हस्ताक्षर दुरुपयोग गरी १०० टन छोकडा (खजुर) आयातको लागि किर्ते अनुमति पत्र तयार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार सरकारले छोकडा पैठारीमा पूर्ण बन्देज लगाएको अवस्थामा उक्त अनुमति पत्र बनाइ भन्सार कार्यालयमा पेश गरिएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुरअन्तर्गत अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पर्साको वीरगञ्ज महानगरपालिका–११, आदर्शनगरबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ। अग्रवालमाथि थप अनुसन्धान भइरहेको छ ।
सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम नेपाल २०७६ चैत २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
तर, अग्रवालले वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयात गर्ने नक्कली अनुमतिपत्र तयार पारेर वीरगञ्ज भन्सार कार्यालयमा पेस गरेको सीआईबीले जनाएको छ ।
प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । त्यसका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमतिसमेत लिइएको सीआईबीले जनाएको छ ।