काठमाडौं र ललितपुरका तीनजना मेयर–उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर र गोदावरी नगरपालिकाका मेयर तथा काठमाडौंको नागार्जुन नगरपालिकाकी उपमेयरलाई शुक्रबार संक्रमण पुष्टि भएको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । संक्रमितलाई घरमै पुगेर हौसला बाँडिरहेका मेयर महर्जनलाई बिहीबार अचानक ज्वरो आएपछि अस्पताल पुगेका थिए । स्वास्थ्य परीक्षणपछि स्वाब दिएर घर फर्किएका मेयर महर्जनलाई शुक्रबार अपराह्न संक्रमण पुष्टि भएको हो । मेयर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । उनी बिहीबारदेखि नै होम आइसोलेसनमा बसेका छन् ।
यस्तै, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई पनि शुक्रबारै कोरोना संक्रमण पुष्टि भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा। खगेश्वर गेलालले जानकारी दिए । अचानक ज्वरो आएपछि मेयर महर्जनले स्वाब दिएका थिए ।यस्तै, काठमाडौंको नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीलाई पनि शुक्रबारै संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमित मेयर मोहनबहादुर बस्नेतसहित जनप्रतिनिधिहरू संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् ।
उपत्यकामा यसअघि कोरोना संक्रमित काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ हाल किस्ट अस्पतालमा आइसोलेसनमा बसेका छन् ।