लमजुङमा कुलो भत्किएर आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते

लमजुङमा कुलो भत्किएर आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १२ साउन २०८३
  • 988
    Shares

lamajung landslide

लमजुङ, १३ साउन २०८३

लमजुङको मध्यनेपाल नगरपालिका–७, भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।

मंगलबार बिहान करिब २:३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको हो। धन्सारभित्र रहेका चार जना पुरिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार पठाएको थियो। त्यहाँ उपचारपछि घाइते चारै जनालाई बिहान ४:१० बजे थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका–१, नायू घर भई हाल मध्यनेपाल नगरपालिका–७, भाटबेशी बस्दै आएकी ५० वर्षीया शुकमाया विक, ५९ वर्षीय टिकबहादुर विक, १५ वर्षीया बिनिता विक र १६ वर्षीया अस्मिता विक रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने क्षतिको विवरणसमेत संकलन गर्ने काम भइरहेको छ।

प्रतिक्रिया