काठमाडौँ, ५ साउन २०८३ ।
काठमाडौँको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत भेटिएकी २५ वर्षीया निशा सुनुवारको मृत्यु सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले एक महिलासहित पांच जनालाई पक्राउ गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँको माछापोखरीमा बस्दै आएकी सुनुवारको शव आइतबार गेस्टहाउसको कोठाभित्र पलङको भित्री भागमा लुकाइएको अवस्थामा फेला परेको थियो। प्रहरीले उनको हत्या भएको आशंकामा नुसन्धान गर्न प्रहरीले एक महिलासहित पांच जनालाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी दिलीप घिमिरेले प्रारम्भिक अनुसन्धानका आधारमा हत्या भएको आशंका गरिएको र घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन आएपछि थप स्पष्ट हुने जानकारी दिए।
प्रहरीका अनुसार साउन ३ गते कोठा सफा गर्ने क्रममा दुर्गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले पलङभित्र सड्न थालेको अवस्थामा शव फेला पारेको थियो।
अनुसन्धानबाट गेस्टहाउसको कोठा एक युवकको नाममा बुक गरिएको खुलेको छ। प्रहरी स्रोतका अनुसार निशा असार २८ गतेदेखि उक्त गेस्टहाउसमा आउजाउ गर्दै बसेको देखिएको छ।
प्रारम्भिक परीक्षणमा शवमा बाहिरी रूपमा ठूलो चोटपटक नदेखिए पनि टाउकोको पछाडिको भागमा सामान्य चोट रहेको प्रहरी स्रोतले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। प्रहरीले घटनाका सबै पक्ष—हत्याको कारण, घटनामा संलग्न व्यक्तिहरूको भूमिका र मृत्युको समय—बारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।