सुनसरीमा तनाव कायमै, सुरक्षा प्रमुखहरु फेरिए, कर्फ्यु उल्लङ्घन गरेर प्रदर्शन जारी

सुनसरीमा तनाव कायमै, सुरक्षा प्रमुखहरु फेरिए, कर्फ्यु उल्लङ्घन गरेर प्रदर्शन जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ साउन २०८३
  • 988
    Shares

sunasari curfew, सुनसरीमा कर्फ्यु

सुनसरी, २०८३ साउन १३

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन र आगजनी तथा तोडफोडका घटना भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ।

प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर, भुटाहा, कप्तानगन्ज र घुस्की बजार क्षेत्रलाई समेटेर अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनकारी सडकमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको र कप्तानगन्ज क्षेत्रमा नेपाली सेना परिचालन गरी गस्ती थालिएको छ।

प्रहरीका अनुसार दुई समूहबीचको विवाद र झडप नियन्त्रणमा लिने क्रममा शुरुमा अश्रुग्यास र हवाई फायर गरिएको थियो। स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउँदा मेहताको मृत्यु भएको बताइएको छ। घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएको विवरण सार्वजनिक भएको छ। 

यसैबीच कोशी प्रदेशका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ। कोशी प्रदेशमा डीआईजी डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेलाई त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। सुनसरीमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ। मल्ल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए।

सशस्त्रको कप्तानगञ्ज स्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर त्यहाँ डीएसपी मदन नाथलाई पठाइएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर त्यहाँ संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ। सुनसरीमा बासुदेव घिमिरे प्रजिअ थिए।

घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए। त्यसपछि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव दिन कार्यादेश दिइएको छ।

यसैबीच, गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गरेको छ। बैठकमा आवश्यक सूचना संकलन गर्ने, थप सुरक्षा जनशक्ति आवश्यक परे उपलब्ध गराउने, सम्बन्धित निकायबीच सहजीकरण गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक रणनीति बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। आवश्यक परेको अवस्थामा संयुक्त रूपमा सुरक्षा टोली परिचालन गर्ने तयारीसमेत गरिएको छ। 

छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान अघि बढाउनुका साथै घाइतेहरूसँग भेट गरी आवश्यक जानकारी संकलन गरिसकेको गृह मन्त्रालयले जनाएको छ। अब समितिको प्रतिवेदन र प्रशासनको आगामी निर्णयले सुनसरीको सुरक्षा अवस्था थप स्पष्ट हुने देखिएको छ।

हालको अवस्था: सुनसरीका प्रभावित क्षेत्रमा कर्फ्यु कायमै रहेको, कर्फ्यु उल्लङ्घनपछि सुरक्षा उपस्थिति बढाइएको र कप्तानगन्ज क्षेत्रमा नेपाली सेनाले गस्ती गरिरहेको अवस्था छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेश पालना गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ। 

पहिलो दिनमा खस भएको के थियो ?

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगेकोमा उपचारकै क्रममा आइतबार करिब ११ः२५ बजे मृत घोषणा गरेको बताए।

दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर १० जना सर्वसाधारण घाइते भएका थिए।

अन्य घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए। घटनामा घाइते भएका सर्वसाधारणमध्ये कोशी अस्पतालमा उपचाररत २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव रहेका छन्।

उनीहरूमध्ये अधिकांशको बाँया कोखा, काँध तथा हातमा चोट लागेको छ भने अमितकुमार यादवलाई थप उपचारका लागि राति १२ः१५ बजे विराट नर्सिङ होममा रिफर गरिएको छ।

यस्तै, विराट नर्सिङ होममा उपचाररत घाइतेहरूमा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहता रहेका छन्। रविन्द्र मेहताको बाँया तिघ्रामा गम्भीर चोट लागेको छ भने अन्यको कम्मर, घुँडा र हातको कुहिनामा चोट लागेको छ। उनीहरूमध्ये अधिकांशको अवस्था मध्यमदेखि सामान्य रहेको छ।

झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर पाँच वटा टाँका लगाइएको छ। साथै प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। झडपमा सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. साहेबगंजका सवारी चालक सशस्त्र प्रहरी सहायक हवल्दार विष्णुबहादुर बस्नेत घाइते भएको प्रहरीले पुष्टि गरेको छ । टाउकोमा चोट लागेर उनलाई उपचारको लागि सशस्त्र प्रहरी निरीक्षक प्रमेश्वर के।सी।को ३ जनाको टोलीले सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. साहेवगंज लिएर गएको छ ।

राति ११ बजे देवानगंज –३ लक हटिया चोकमा रहेको शिव मन्दिरमा हिन्दुले झण्डा गाडेको र डीजे बजाएको बिषयलाई लिएर हिन्दुहरुलाई मुस्लिम समुदायका मानिसहरुले कुटपिट गरेका थिए । सोही विषयलाई लिएर हिन्दुहरुले मुस्लिमको घरहरु तोडफोड गरेका थिए । घटनास्थलमा सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दकिशोर प्रसाद महतोको कमाण्डमा २०जना ,बि।ओ।पि।घुस्कीबाट सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र चन्दको कमाण्डमा ९ जना,बि.ओ.पि.बसन्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाको कमाण्डमा ६जना र बि.ओ.पि.साहेबगंजबाट सशस्त्र प्रहरी निरीक्षक प्रमेश्वर के.सी.को कमाण्डमा ८ जना, वि.ओ.पि.अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलकुमार माझीको कमाण्डमा १० जना गरी जम्मा ५३ जनाको टोली खटिएको थियो ।साथै, उक्त स्थानमा थप मद्धतको लागि सशस्त्र प्रहरी नायव उपरीक्षक विकास न्यौपानेको कमाण्डमा ३० जना र नं.४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक प्रतापसिंह तामाङको कमाण्डमा ३० जनाको टोली गएको थियो । यसैबीच सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी सुनसरीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक ओमराज बानियाको कमाण्डमा ३१ ज्ना र नं.३७ रिजर्भ गण सुनसरीबाट सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको कमाण्डमा ७ जना खटिएको थियो । सशस्त्र प्रहरीका तर्फबाट ६ राउण्ड ग्याँससेल फायर र केही राउण्ड हवाई फायर भएको जनाइएको छ ।

प्रहरी घटनास्थल पुग्दासम्म अवस्था नियन्त्रणबाहिर पुगिसकेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुग्दा घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भइरहेको थियो भने दुई पक्षबीच झडप जारी रहेको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणबाहिर गएपछि सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। बैठकले अवस्था तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउनु परेको निष्कर्ष निकालेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया