ललितपुरमा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

ललितपुरमा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ साउन २०८३
  • 1K
    Shares

scorpio accident in lalitpur , ललितपुरमा स्कर्पिओ दुर्घटना

ललितपुर, १२ , साउन २०८३

ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो गाडी दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा ४६ च ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको हो भने अन्य पाँच जना घाइते भएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्कार्पियोमा चालकसहित ६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका–२ स्थित मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था मध्यम रहेको बताइएको छ।

बी एन्ड बी अस्पतालमा उपचाररत घाइतेहरूमा काठमाडौंको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतीवडा, नवलपरासीको गैंडाकोट घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई हाल काठमाडौं बस्दै आएकी ३६ वर्षीया डिना सोनाहा र नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका २६ वर्षीय देवेन्द्रराज पाण्डे रहेका छन्।

त्यस्तै, मानिखेल स्वास्थ्य चौकीमा काठमाडौंको कीर्तिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय निशान महर्जनको उपचार भइरहेको छ।

दुर्घटनामा परेको स्कार्पियो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सवारी साधन SOS बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार रहेको बताइएको छ।

प्रतिक्रिया