काठमाण्डौको गेस्टहाउसमा युवती मृत्यु प्रकरण : पोखरामा कमाएको एक लाख रुपियाँ लुटेको झोंकमा होटलमा लगेर हत्या

काठमाण्डौको गेस्टहाउसमा युवती मृत्यु प्रकरण : पोखरामा कमाएको एक लाख रुपियाँ लुटेको झोंकमा होटलमा लगेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ साउन २०८३
  • 3K
    Shares

काठमाडौं, ५ साउन २०८३।

आफुले पोखरामा दु:ख गरेर कमाएको करीब एक लाख रुपियाँ लुटेको रिसको झोकमा काठमाण्डौको बसपार्कस्थित गेस्टहाउस धनगढ़ीकी युवती  निशा सुनुवारको हत्या गरेको खुलेको छ।

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा मृत फेला परेकी २५ वर्षीया सुनुवारको हत्यामा संलग रहेको आरोपमा पक्राउ परेका दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का २७ वर्षीय रमेश बुढाले प्रहरी समक्ष त्यस्तो बयान दिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आज पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार , रमेश बुढा असार ३१ गते पोखराबाट काठमाडौं आएका थिए। उनीसँग पोखरामा काम गरेर कमाएको करिब एक लाख रुपैयाँ रहेको थियो।

रमेशले प्रहरीसंग दिएको बयानमा निशा सुनुवारसँग आफ्नो भेट बसपार्क क्षेत्रमा भएको र त्यसपछि संगै होटलमा गएकोमा आफू नुहाउन बाथरुममा गएको बेला उनले झोलाबाट रकम लिएर फरार भएको दाबी गरेका छन्। बाथरुमबाट बाहिर निस्किएपछि रकम हराएको थाहा पाएपछि उनले युवतीको खोजी शुरु गरेका थिए।

दुई दिनपछि बसपार्क क्षेत्रमा पुनः भेट भएपछि रमेशले युवतीलाई साथी दानबहादुर शाहीले बुक गरेको होटलको कोठामा लगेका थिए। त्यहाँ हराएको रकमको विषयमा दुवैबीच विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीसमक्ष दिएको बयानमा रमेशले आफ्नो पैसा फिर्ता माग्दा युवतीले बियरको बोतलले आक्रमण गर्न खोजेको दाबी गरेका छन्। त्यसपछि उनले बोतल खोसेर प्रहार गरेको र अन्ततः आफ्नै कम्मरको बेल्ट (पेटी) ले घाँटी कसेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

शव पलङभित्र लुकाइयो

हत्यापछि रमेशले शव होटलको पलङभित्र लुकाएर राखेको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार त्यसपछि उनी सोही कोठामा फर्किएका साथी दानबहादुरसँग रात बिताएर भोलिपल्ट होटल छाडेका थिए।

घटनाको केही दिनपछि कोठाबाट दुर्गन्ध आउन थालेपछि होटलका कर्मचारीले पलङभित्र शव देखेर प्रहरीलाई खबर गरेका थिए।

सीसीटीभी र होटल रजिस्टरबाट आरोपीसम्म प्रहरी पुग्यो

घटनापछि प्रहरीले होटलको रजिस्टर र सीसीटीभी फुटेजको अध्ययन गर्दा युवती कोठाभित्र प्रवेश गरेको तर बाहिर ननिस्किएको देखिएको थियो। अनुसन्धानकै क्रममा कोठा दानबहादुर शाहीको नाममा बुक भएको पुष्टि भएपछि उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको थियो भने रमेशलाई काठमाडौंको महाराजगञ्जबाट नियन्त्रणमा लिइएको थियो।

दानबहादुरको भूमिकाबारे अनुसन्धान जारी

प्रहरीका अनुसार दानबहादुरले घटनाबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्। हालसम्मको अनुसन्धानले हत्या रमेशले एक्लैले गरेको देखिए पनि घटना भएको कोठा दानबहादुरको नाममा बुक भएकाले उनको भूमिकाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र प्राप्त प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया