म्याग्दी — बेनी नगरपालिका, ४ सिङ्गा स्थित कालिज फार्ममा चितुवा पसेको छ । हरियाली ग्रुप प्रालिद्वारा सञ्चालित कालिज फार्ममा फलामे बार र नाइलन जालीबाटै चितुवा भित्र पसेको हो ।
चितुवा फार्मभित्रै बसिरहेकाले कति कालिज माऱ्यो भन्ने यकिन नभएको फार्म सञ्चालकले बताएका छन् । साथै चितुवा भित्रै रहेकाले वरपरका स्थानीय पनि त्रसित बनेका छन् ।
शुक्रबार बिहान फार्मका कर्मचारी चारो हाल्न भित्र जाँदा चितुवा देखेपछि भागेका थिए । दुई वटा कालिज फार्ममध्ये चल्ला भएको भागमा चितुवा पसेको हरियाली ग्रुपले जनाएको छ ।
भित्र रहेको चितुवा बाहिर निक्लन पटक–पटक तारमा ठोक्किने र चिथोर्ने प्रयास गर्दा घाइते नै भएको छ । तर बाहिर निक्लन सकेको छैन ।
मीनबहादुर श्रेष्ठको अगुवाइमा स्थानीय कृषक र व्यवसायी मिलेर बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले करिब १० करोड लगानीमा व्यावसायिक तरकारी खेती, कालिज, कुखुरा, माछा, माहुरी पालन फार्म स्थापना गरेको हो ।