नेकपा एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल फेला परेको छ । घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बेवारिसे अवस्थामा बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद भएको रुपन्देहीका डिएसपी एवम् प्रवक्ता बेलबहादुर पाण्डेले बताए । बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीहरुले मुख्य राजमार्गहरुमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्रारम्भिक अनुसन्धान खुलेको छ ।
पाण्डेले भने, मोटरसाइकलको ‘चालक’ यती हतारमा देखिन्छ कि मोटरसाइकलबाट साँचो समेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको देखिन्छ ।’
‘मोटरसाइकल फेला परेको स्थानले अपराधीले गोली हानेर घटनास्थलबाट दक्षिणी पश्चिमी क्षेत्र तर्फ भागेको देखिन्छ’ पाण्डेले भने, ‘हामीले घटनालाई गम्भिरताका साथ अनुसन्धान गरिरहेका छौँ, दोषीलाई छिट्टै पक्राउ गर्छौँ ।’
अनुसन्धान विभागको टोली बुटवलमा
घटनाको अनुसन्धानका क्रममा प्रहरीले भैरहवाको एक युवकलाई पक्राउ गरेको स्रोतले बताएको छ । पक्राउ परेको युवाका साथै अन्य बिभिन्न शकांस्पद व्यक्तिहरुसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।
यसैबीच घटनाको अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय अनुसन्धान विभागको एक टोली पनि रुपन्देही आइपुगेको छ । र, टोली जिल्लाको विभिन्न भागमा छरिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले स्रोतले बताएको छ ।