राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनिया स्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । त्यस सहकारीका ऋण समितिका संयोजक समेत रहेका पत्रकार गुप्ता देउखुरीमा पत्रकारिता गर्दै आएका छन् ।
सहकारी संस्थाका अध्यक्ष सहित शेयर सदस्य, बचत कर्ताहरुको उजुरीको आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्तालाई ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको हो ।
६६ लाख भन्दा बढि रकम हिनामिना गरेको उजुरी ईलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानको लागि गुप्तालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेले जानकारी दिए ।
प्रहरी प्रमुख रविन्द्रराज पाण्डेका अनुसार, सहकारी संस्थाका व्यवस्थापक रमिता चौधरी र उनका श्रीमान बसन्त चौधरी फरार छन् ।
पक्राउ परेका गुप्तालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको र फरार व्यक्तिको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।