खानेपानीको चर्को अभावले मुस्ताङका दुई गाउँ स्थानान्तरण गर्ने तयारी

खानेपानीको चर्को अभावले मुस्ताङका दुई गाउँ स्थानान्तरण गर्ने तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ माघ २०७२
  • 12.6K
    Shares

हिमालपारिको जिल्ला मुस्ताङका दुई बस्तीलाई खानेपानीको चर्को अभाव भएपछि स्थानान्तरण गर्ने तयारी गरिएको छ । उपल्लो मुस्ताङको सुर्खाङ गाविसमा पर्ने ध्येय र छोसेर गाविसमा पर्ने समजुङ गाउँलाई कालीगण्डकीको किनारमा सार्ने तयारी गरिएको हो । विगत तीनवर्षदेखि खानेपानीको चर्को अभाव झेल्दै आएका ध्येय र समजुङबासीले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बस्ती सार्न आवश्यक प्रबन्ध मिलाई दिन आग्रह गर्दै आएका थिए ।

गतवर्ष उपल्लो मुस्ताङमा अत्यधिक हिउँ परेको कारण पानीका केही मूल पलाएपनि अहिले फेरि त्यस्तै समस्या सिर्जना भएको स्थानीयवासी नरसिंह गुरुङको भनाइ छ । उनका अनुसार, खानेपानीको अभाव हुँदा मानिसदेखि पशुचौपायाहरु काकाकुल बनेका छन् ।

‘यहाँ भएका मूलहरु सुकिसकेका छन्, हिउँ परेन भने त हामी पानीकै अभावमा मर्ने स्थितिमा पुग्छौँ,’ उनले भने, ‘यो विषयमा हामीले धेरै वर्षदेखि जिल्लामा खबर गरिरहेका छौँ ।’

ध्येय र समजुङ दुबै गाउँमा १८-१८ धरधुरीको बसोबास रहेको छ । उनीहरु चौरी, भेडाच्याङग्रादेखि अन्य पशुचौपाया पनि पाल्ने गर्छन् ।

मुस्ताङका स्थानीय विकास अधिकारी हरिप्रसाद बास्तोलाले समस्याका विषयमा जानकारी भएपनि अहिलेसम्म उचित व्यवस्थापन गर्न नसकेको बताए । अहिले विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा ध्येय गाउँका लागि बस्ती भन्दा केही तल कालीगण्डकी किनार नजिकै आवास गृहहरु निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

उनले भने, ‘यसवर्ष पनि हिउँ परेको छैन । त्यसैले समस्या बढ्दै गएको छ । यसको दीर्घकालीन समाधान खोज्दैछौँ ।’ रासस

प्रतिक्रिया